आज केही नयाँ हुँदैछ ?

आज केही नयाँ हुँदैछ ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको दिन प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरेको भोलिपल्ट सबेरै सरकारका पूर्वप्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ‘आज केही हुन्छ ? पक्कै केही नयाँ !’ भनेर ट्वीट गरेका छन् । प्रधानमन्त्रीका विश्वासपात्र तथा बालुवाटारको किचेन क्याबिनेटका सदस्य बाँस्कोटाले ट्वीट गरेको केही समयपछि पूर्व कानुनमन्त्री तथा संघीय सांसद शेरबहादुर तामाङ्ग तथा उहाँकी श्रीमती एवम् प्रदेश नम्बर १ की सांसद उषाकला राईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह छाडेको खबर बाहिरिएको छ ।

आजै विराटनगरमा ओली समूहले शक्तिप्रदर्शनको लागि आमसभा राखेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दायर भएको लामो समय बितिसक्दा समेत प्रदेशसभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको अघिल्लो दिन पारेर राखिएको आमसभालाई राजनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ । जुनसुकै मूल्यमा अविश्वासको प्रस्ताव छल्नको निम्ति गरिएका अनेक तिकडममध्ये आज विराटनगरमा आयोजित आमसभालाई एक मानिएको छ ।

आजको आमसभाको तडकभडक र शक्ति प्रदर्शनले भोलिदेखि शुरु हुने प्रदेशसभाको बैठक प्रभावित हुने बालुवाटारको दाबी छ । त्यसैको पूर्वसन्ध्यामा प्रदेशसभा सदस्य राई र श्रीमान तामाङ्गले पुनः बालुवाटार प्रवेश गरेको खबर सार्वजनिक गर्नुलाई पनि बाँस्कोटाले ‘आज केही नयाँ हुँदैछ’ भनेर संकेत गरेको विश्लेषकहरुले बताएका छन् ।

अर्कोतर्फ, हिजो नुवाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्त गरेको धारणाले पनि प्रतिनिधिसभा पुनर्स्थापना हुने संकेत मिलेको छ । बालुवाटारले पनि त्यसको सुईंको पाएपछि प्रतिनिधिसभा पुनर्स्थापना हुँदाको अवस्थामा अपनाउनुपर्ने रणनीतिलाई अघि बढाउन आजको विराटनगर आमसभा र तामाङ्ग दम्पतिको ओली समूह प्रवेशलाई ‘सिम्बोलिक’ भनेको हो ।

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला भएको अवस्थामा सबैभन्दा पहिले प्रधानमन्त्रीको विघटनको प्रस्ताव र बैशाखको निर्वाचन मिति अस्वीकार भएको ठहरिनेछ । त्यस्तो बेलामा सत्ता र शक्तिमा टिकिरहन संघीय संसदका माननीयहरुलाई अनेक प्रलोभनमा पार्नु बाहेक बालुवाटारसँग अन्य कुनै आधार र विकल्प देखिँदैन । किनभने यसबीच नेकपामा औपचारिक विभाजन आइसकेको छैन । त्यसैले फैसलालगत्तै प्रधानमन्त्रीले सिंगो नेकपाको संसदीय दलको नेता मै हुँ भनी हुँकार गर्ने निश्चितप्रायः छ ।

त्यसपछि विगतको व्यवस्थामा देउवाले सिकाइदिएको सांसद चोर्ने गतिविधिले पुनः एकपटक उग्र रुप लिनेछ । त्यसका लागि यसअघि नै गौंडा गौंडामा ‘मुन्सी’ हरुको नियुक्ति गरिएको बताइन्छ । अहिले सबैभन्दा धेरै रकमको जोहो हुने जलविद्युत क्षेत्रको निम्ति हालै नियुक्त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टका बिचौलिया दाजुभाइले ‘हेड मुन्सी’ को जिम्मा लिएको गाईंगुईं चल्न थालेको छ ।
यी सबै घटनाक्रम र नियुक्तिका प्रक्रिया प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्थामा आफूले देखाइदिने भन्ने प्रधानमन्त्री ओलीको दूर क्षितिजसम्मको योजना हो । त्यसका लागि सबैभन्दा पहिले नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि सबैभन्दा धेरै दबाव पर्नेछ ।

नेकपाको संसदीय दलमा बहुमत साबित गराउन रचिने बालुवाटारको अनेक चालबाजीलाई परास्त गर्न दाहाल र नेपालले अहिलेदेखि नै आफ्नो थैली सुरक्षित बनाउनुपर्ने ठान्नुभएको छ । आफूसँग रहेका सांसदलाई दायाँबायाँ हुन नदिने वातावरण बनाउँदै उक्त थैलीको मुख बन्द गराउनुपर्छ । अन्यथा, वि.सं. ५० को दशकको फोहोरी संसदीय प्रवृत्ति पुनः नदोहोरिएला भन्न सकिन्न ।

टिप्पणीहरू