आधुनिक देखिन प्यान्ट च्यात्नै पर्ने ?

आधुनिक देखिन प्यान्ट च्यात्नै पर्ने ?

अधिवक्ता प्रेमराज सिलवाल

१२ कक्षाको परीक्षा दिएर बसेकी छोरी प्रियंकाले भनिन–‘बाबा साथीहरूले कपाल काटेर छोटो बनाएका छन्, कपालमा ‘कलर’ गरेका छन् मचाँही कति ‘गाउँले जस्तो’ देखिनु !’ ‘बाबा म पनि कपाल काट्छु, कलर (रङ्ग) हाल्छु र ‘ब्वाईफ्रेन्ड जिन्स प्यान्ट’ लगाउँछु ।’ उनले भनिन–‘आधुनिक देखिन प्यान्ट च्यात्नै पर्ने भयो म पनि ब्लेडले प्यान्ट चिर्छु ।’ ‘नत्र समूहमा टिक्ने नसकिने पो भईयो ।’

स्कुलदेखि नै पढाईमा लगनशील, मिहनती, इमान्दार तथा जहिल्यै उच्च अंकका साथ राजधानीको नाम चलेको कलेजमा अध्ययन गरी मेडिकल साइन्स सम्बन्धी तयारीको अध्ययन गर्दै रहेकी छोरीको स्वभाविक र आत्मदेखिको आग्रह देख्दा मलाई छाँगाबाट खसेजस्तो अनुभूति भयो । म छोरीको सवालले भन्दा पनि हाम्रो समाज र सामाजिक मनोविज्ञान कता गएछ भन्ने कुराले चिन्तित बनेँ ।

विश्वव्यापीकरण, पश्चिमीकरण, आधुनिकीकरण, फेसन र विदेशी संस्कृतिको नक्कल गर्ने सोच हाम्रो समाजमा पनि कसरी जवरजस्ती फैलिएर गएछ भन्ने कुरालाई आफ्नै आँखाले देख्ने र मनले अनुभूति गर्न पाएँ । हाम्रो सहरिया जीवनमा युवायुवतीहरूको मन मस्तिस्कमा आधुनिकता र सभ्य भन्ने कुराको मानक तथा विम्ब कस्तो रहेछ भन्ने कुराले बढी नै सोचमग्न बनायो । अर्काे यस्ता दिनदिनै विकास भएर जाँदै गएको युवा दृष्टिकोणले चिन्तित पनि बनायो । अबका युवाको भविश्य र चिन्तनधारा कता जान लाग्यो भनेर गम्भीर र बढी सोचमग्न बनायो । समाजका युवाहरूमा रहेको चिरिएको, चर्किएको र टुक्रँदै गएको सामाजिक मनोविज्ञानको असर र प्रभाव भोलीका युवामा कस्तो नकारात्मक प्रभाव पर्ला भन्ने कुराले विवेचना गर्न उत्सुक पनि बनायो ।

व्यक्तिगत हिसाबले छोरीको सो माग पूरा गर्न नसक्ने मलाई केही बाध्यता छैन् । तर जसरी छोरीबाट त्यो तहको कुरा आएपछि मेरो मनमा वर्तमान आधुनिक र अझ भन्नुपर्दा उत्तरआधुनिकतातर्फ अघि बढेको सहरीया युवा पुस्ताको सोच, चिन्तन, व्यवहार, सामाजिक प्रभाव, मनोविज्ञान, फेसन, परिवर्तन, बुझाई तथा विश्वव्यापीकरणको असर एवम् जवरजस्त प्रकारको पश्चिमी असर कस्तो परेको रहेछ भन्ने कुराले गम्भीर अनुभूति सहित चिन्तन गर्न बाध्य बनायो ।

सहरका युवामा आधुनिकता, सम्भता, समुन्नति, प्रगति र सांस्कृतिक परिवर्तन आदिको के कस्ता नवीन सोचको प्रवेश भएर गएको रहेछ भन्ने एउटा उदाहरण आफ्नै घरको पर्खाल भित्रै छिरेको रहेछ । एउटा शिक्षित, सूचित र प्रगतिशील विचारधारा भएको परिवारमा त त्यो धारणा यस्तरी प्रवेश गर्दछ भने अन्य परिवारमा कस्तो होला भन्ने कुराको खुलदुली मनमा भयो । त्यो कुराले मलाई नेपाली समाजमा रहेका आधुनिक युवाको चिन्तन कसरी विकास भएर गएको छ भन्ने प्रश्न बढो जोडले उठाईदियो ।

हाम्रा युवा समूदायलाई (खासगरी टिनएजेजजलाई) के कस्ता कुराले यस्तो खाले संस्कार तथा संस्कृतितर्फ आकर्षित गर्दै लगेको छ ? किन हामी आधुनिकता र सम्य बन्ने सोच पालेर यस्ता कुरातर्फ बढी आकांक्षी बन्ने गरेका छौं ? कहाँबाट आएको छ यस प्रकारको चिन्तन र विचार ? हाम्रा युवाहरूले आधुनिकता र विकास के लाई भन्ने र ठानेका रहेछन् ? भन्ने खाले विचार एउटा बढो ठूलो सामाजिक चिन्तन हो । यो पनि नेपाली समाजको एउटा जटिल र चोटिलो बहसको विषय हो ।

घर–परिवार र भान्छामा पाक्ने दाल, भात, रोटो–ढिँडो, तरकारी, फलफूल जस्ता कुराहरू खान किन युवाहरू धक मान्ने गर्दछन् । बाहिरका ‘पिज्जा’, ‘वर्गर’, ‘मम–चाउमिन’,‘कोक–फेन्टा’ जस्ता खानेकुरा खान पाए ‘सहरिया र आधुनिक’ भईने सोच पालेर बसेका छन् । कस्तो विडम्बना ? जुन खाद्यले स्वास्थ्य विगार्दछ त्यो चाँही खाना ‘आधुनिक’ हुने ? बियर, वाइन खाने चाँही ‘सहरीया’ ? दही, मोही, तातोपानी, हरियो–परियो खाने चाँही ‘पाखे र गाउँले’ ? यस्तै हो त पढेका सहरिया युवा भाइबहिनीहरूको सोच ? स्वास्थ्यको लागि यस्तै खाले सहरिया र आधुनिक खानु पर्दछ भन्ने कुरा कुन विज्ञान पढेर जानेको हो भाइबहिनीहरूले ?

केटाहरू झ्याङलाङ्ग कपाल पाल्दा आधुनिक हुने हो ? केटीहरू ‘ब्वाइज कट’ काट्दा सहरिया हुने हो ? भएको प्राकृतिक कालो कलकलाउँदो कपालमा ‘खैरा–पाटे’ ‘कलर’ हाल्दा ‘ठूलो’ भईने हो ? के भएको आजकलका आधुनिक सहरिया युवा–युवतीहरूलाई ? कस्तो खाले मनोविज्ञान ? कस्तो खाले संस्कृति ? कस्तो खाले सोच र चिन्तन ? के को प्रभाव हो ? यस्ता अनगिन्ती सवाल र प्रश्न ठडिएका छन् समाजमा । जाडोमा जीउ छोप्ने र बाक्ला लुगा लगाउँदा ’गाउँले–पाखे’ देखिन्छ ? जति छोटो कपडा लगायो त्यति सहरिया हुने हो ? के भनेको हो ? युवा भाइबहिनीहरू ? तिमीहरूले के सिकेको ? के बुझेको ? भएको नयाँ प्यान्ट, ज्याकेटलाई वित्थामा किन प्वाल पार्नुपर्ने ? किन व्लेडले च्वारच्वारती चिरेको ? यो गरेर कसलाई के देखाउन खोजेको ? यस्तो व्यवहार र संस्कृतिले नेपालीलाई कहाँ लैजान्छ ? अभिभावकहरूले गम्भीर भएर सोचेका छन् ?

युवाहरू होटेल डिस्को र पपडान्सबार जानु मात्र आधुनिकता, सम्भता र विकसित समाजको पहिचान र परिचय हो ? घरको खाना खाएर आफ्नै घर–परिवारमा आ–आफ्नो रूची, क्षमता, चाहना र आवश्यकता अनुसार घरकै खानामा रमाउने युवायवती चाँही ‘पाखे’ हुन् ? डिस्कोडान्स र पपडान्समा युवा–युवती हल बाँधेर जाने चाँही आधुनिक, सहरिया, सभ्य र ‘खानदानी–घरानियाँ’ हुन् ? के भन्न खोजेको ? के सोच पालेको ? कलेजको गेट के जान थालेको छ ‘फ्वाँहाहा…फ्वाहाहा… गरेर चुरोटको धुँवा उडाउनै पर्ने ? के चुरोट खाने मान्छे ठूलो हो ? चुरोट खाए पछि युवा–युवती ‘आधुनिक’ देखिने हो ? अर्काेकुरा यस्ता सोच, मूल्य, विचार र भावनाहरू आफू बाहेक अन्य युवायुवतीहरूमा संम्प्रेषण गरेर आफूलाई महान काम गरेको भन्ने सोचेको हो ? बाबुआमाले खाइनखाई गरेर जतन गरेको पैसाले ‘ट्वाँ–ट्वाँ र भ्वाँआ–भ्वाँआ’ गर्ने बाइक किनेर टोल थर्काए आधुनिक हुने हो ? ‘हिरो होन्डा’ जस्ता मोटरसाइकल चढने मान्छे गाउँले हुन्छ ? कसले भनिदियो र कसले भरिदियो यस्ता घटिया सोच युवायुवतीहरूलाई ? कता जाँदैछ हाम्रो समाज, विचार, सोच, चिन्तन, मूल्य, धारणा, सभ्यता र संस्कृति ? देख्दा व्यक्तिगत हो भन्ने लाग्न सक्छ ।

सुन्दा समाजका केहीले त्यो गर्दा र भन्दा अरूलाई के फरक पार्छ त भन्ने लाग्न पनि सक्दछ । तर त्यो होइन । त्यो खाले विचार, चिन्तन र सोचले पूरै सहरिया समाज तथा त्यसको खराब बाझिटाले गाउँलाई पनि सक्दैछ, डस्दैछ । धनि बाबुको केही छोराछोरीले गरेका र गर्ने व्यवहार र गतिविधिको नकारात्मकताले हाम्रो नेपाली युवा समाज तथा समूदायलाई पूराका पूरा बोक्रे, थोत्रे, ढोँगी, निकम्मा र घमण्डी बनाएर लगेको देखिन्छ ।

विश्वका सहरिया समाजमा र विशेषगरी पश्चिमा सहरिया युवामा देखिएका त्यस्ता खाले ‘हिप्पी, जङ्की र पङ्की’ सोच, व्यवहार र चिन्तनले नेपालको राजधानी काठमाडौं र ठूला सहरहरूलाई नराम्रोसँग गाँजेको देखिन्छ । युवाहरूको यस खाले सोच र चिन्तनको कारण समाजलाई पूरै नकारात्मक बनाएको छ ।

ठूला स्कुल कलेजमा पढ्ने, टाइसुटमा ठाँटिने, ‘टाइफाईँ’ अग्रेजी बोल्ने अनि समाजिक र नैतिक व्यवहार भने पटक्कै गर्न नजान्ने सोच र व्यवहार एकदमै झाङ्गिएर गएको छ । सोही कारण प्लस टु मा सामाजिक शिक्षा र जीवनउपयोगी शिक्षा पढाउनु पर्ने खाँचो पनि बढेको रहेछ । त्यो व्यवहार हेर्न धेरै ठूलो ठाउँ पनि जानु पर्दैन । सडकमा जेब्रा क्रसिङ्गबाट लौरो टेकेर बाटो काटिरहेका आरदरणीय नागरिकहरूलाई त्यस्ता युवा पछाडि युवती राखेर धकेल्दै–ठेल्दै र धक्का मार्दै जाँने गरेको दृष्य नौलौ छैन ।

पढेका युवा–युवतीलाई कुनै सरकारी र सार्वजनिक स्थानमा लाइन लागेर सेवा लिनु पर्दछ भन्ने सिकाईएन वा सिक्नै चाहेनन् ? कसैलाई ठोक्किदाँ वा आफ्नो कारण असर पर्न पुग्दा ‘सरी’ हजुर गल्गी भयो सम्म किन भन्न सक्दैनन् र जान्दैनन् युवायुवतीहरू ? अरूले आफूलाई कुनै सहयोग गर्दा ‘थ्याङ्कफूल’ भएर हजुर धन्यवाद सम्म पनि किन भन्न सक्दैनन् हाम्रा युवायुवतीहरू ? यो भनेको एउटा सामान्य मानवीय सस्कार र सभ्यता एवम् संस्कृतिको कुरा पनि हो । तर कुन घमण्डको घोडा सवार भएर युवाहरूको मुखबाट बोली फुट्दैन ? आफूलाई भएपछि भयो भन्ने साँघुरो सोच मात्र किन भरिएको हाम्रा युवा समूदायमा ? यो बढो गम्भीर सामाजिक र साँस्कृतिक समस्या हो ।

ठूलो कलेज पढ्यो बढी नम्बर ल्यायो । अनि पुग्यो ? सामाजिक, नैतिक तथा साँस्कृतिक व्यवहार चाहिन्न ? ठूलालाई सम्मान र सानालाई माया भन्ने सिकेको छैन् ? नेपाली समाजमा विशेषगरी स्कुल कलेज पढ्ने युवा–युवतीहरूको सोच, चिन्तन, संस्कार र संस्कृति फाट्दै र चिरिँदै गएको छ । जसले नेपाली समाजलाई दुर्घटनातर्फ लाँदैछ । यो आधुनिक र विकसित भनिएको नेपाली समाजको साझा समस्या हो । सबै मिलेर न्यूनिकरण गर्नुको विकल्प छैन् । आधुनिक देखिन भएको जिन्स प्यान्टलाई च्यात्नै पर्ने कस्तो संस्कृतिमा हामी रमाउँदैछौं ? समाज कता जाँदैछ ? यो सवाल एउटा गम्भीर कुरा हो ।

टिप्पणीहरू