हवाई भाडा बढ्यो, डाक्टरको फि दोब्बर

हवाई भाडा बढ्यो, डाक्टरको फि दोब्बर

पेट्रोलियम पदार्थमा भाउ बढेसँगै दैनिक उपभोग्य सामाग्रीको मूल्यले पनि आकाश छुन थालेको छ । पछिल्लो दुई सातामा पेट्रोल, डिजेल र मट्टितेलमा दुई पटक तथा हवाई इन्धन र ग्याँसमा एक पटक मूल्य बढेपछि आन्तरिक हवाई भाडा बढिसकेको छ भने यातायात व्यवसायीहरूले भाडा बढाउन सरकारलाई हिजोसम्मको म्याद दिएका थिए । आगामी साता फेरी पेट्रोलियम पदार्थको भाउ बढ्ने निश्चित भएकाले यातायात व्यवसायीहरूले पनि भाडा बढाएरै छाड्ने निश्चित रहेको स्रोतको दाबी छ ।

वायुसेवा प्रदायक कम्पनीले बढाएको नयाँ भाडदरअनुसार छोटो रुटमा १० रुपैयाँदेखि लामो रुटमा ९० रुपैयाँसम्म वृद्धि भएको छ । वृद्धि भएको भाडादर हिजो शनिबारदेखि लागू भएको छ ।

यता, निजी अस्पताल र क्लिनिकमा कार्यरत चिकित्सकहरूको शुल्क बढाउने तयारीस्वरुप बिरामी जाँचे वापत लिने गरिएको शुल्कलाई दोब्बर बनाइएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले गत बुधबारदेखि लागू हुनेगरी चिकित्सकहरूको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार चिकित्सकको योग्यता र अनुभवको आधारमा न्यूनतम ३ सय ७० रुपैयाँदेखि ८ सय २५ रुपैयाँसम्म तोकिएको छ । पाँच वर्षसम्म अनुभव भएका चिकित्सकसँग जचाउँदा न्यूनतम, पाँच वर्षभन्दा बढी १० वर्षसम्म अनुभव भएकालाई ४ सय ५० र १० वर्षभन्दा बढी अनुभव भएकालाई ८ सय २५ रुपैयाँ तोकिएको छ ।

यता, सरकारले भने चिकित्सकहरूको परामर्श शुल्क बढाउने एक्लौटी निर्णयप्रति आफू असहत रहेको बताएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा बढाइएको शुल्कप्रति असहमत रहेपनि शुल्क वृद्धि नगर्न र वृद्धि गरिएमा कारबाही हुने कुनै पनि खालको चेतावनी दिइएको छैन ।

टिप्पणीहरू