श्रीमानहरुलाई फैसलाको मुखमा थप सुरक्षा
राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमान्हरूको विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई गत सोमबारदेखि नै बढाइएको हो ।
एमिकश क्युरीका सदस्यले राय दिन थाल्नुअघि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको लागि प्रहरी हेडक्वार्टरस्थित सुरक्षा सेवा निर्देशनालयले सई र असई दर्जाको निजी सुरक्षा अधिकृत (पिएसओ) दिँदै आएको छ । सोमबारदेखि प्रतिनिधिसभा विघटनको सुनुवाईमा संलग्न संवैधानिक इजलाशका तीनजना न्यायाधीशको हकमा भने एक–एकजना सिपाही थप गरिएको छ ।
ती सिपाही महानगरीय प्रहरीको सर्वोच्च अदालत समन्वय तथा सुरक्षा इकाईबाट खटिएका हुन् । प्रहरीले सर्वोच्चका श्रीमानको व्यक्तिगत सुरक्षा र घरमा निगरानीका लागि एक हवल्दार र तीन सिपाहीको सुरक्षा दस्ता खटाउने गर्दछ । त्यसमध्ये विश्वम्भर श्रेष्ठकोमा दरबन्दी अनुसारकै तैनाथी रहेको तर सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसँग एक–एक हवल्दारसहित दुई सिपाही मात्र राखिएको पाइयो ।
पुलिस हेडक्वार्टरले गरेको सुरक्षा चुनौतिको विश्लेषणपछि सोमबारै एक–एक सिपाही थप गरिएको हो । न्यायाधीशसँगै हिँड्ने पिएसओसँग १४ राउण्ड गोली लाग्ने एउटा अटोमेटिक इटालियन रिभल्वर हुन्छ । प्रहरीले पिएसओ खटिनेहरुलाई दुई किसिमका रिभल्वर (पेस्तोल) दिने गर्दछ । त्यसमध्ये भूपूहरुका हकमा चाइनिज रिभल्वर दिइएको छ । चाइनिज रिभल्वर इटालियनको तुलनामा केही पुरानो हो । चलाउन सहज र तीव्र गतिमा निशाना लाग्ने कारण बढी संवेदनशील पदाधिकारीलाई इटालियन अटोमेटिक रिभल्वर दिइन्छ । पुलिस हेडक्वार्टरले न्यायाधीशका पिएसओसँग हतियारको अवस्थाबारे सोधखोज गर्ने क्रमलाई पनि तीव्र पारेको छ ।
पिएसओबाहेकको अर्को टोली (हवल्दारको कमाण्ड) सँग एसएलआर र त्यसमा लाग्ने सय राउण्ड गोली हुन्छ । चाहिएको बेलामा हतियार नचल्ने स्थिति नहोस् भन्नका लागि प्रहरीले आफ्ना टोलीलाई हतियारको सजगताबारे घच्घच्याउने क्रम अहिले बढेकोे हो ।
सर्वोच्च अदालतको सुरक्षालाई दृष्टिगत गर्दै महानगरीय प्रहरीको मुख्य घटना सहायता कार्यदल (नगर प्रहरी), अनामनगर बृत्त र सिंहदरबार हातामा अवस्थित गणका सिआरभी भ्यानले कार्यालय समयमा सर्वोच्चलाई पालैपालो पोइन्ट बनाई निगरानी बढाएका छन् ।
अदालतबारे कतिसम्म सुरक्षा संवेदनशीलता अपनाइएको छ भने, प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा बालुवाटारस्थित सरकारी निवासमा बस्नुहुन्छ । उहाँको निजी निवास सुकेधारा कोलोनीमा छ । घर रुँग्न केही मान्छे बस्छन् । तर, त्यहाँ पनि एलएलआर बोकेका हवल्दार २४ सैँ घण्टा तैनाथ छन् । त्यसबाहेक प्रधानन्यायाधीशका लागि संवैधानिक अंगका प्रमुखले पाउने ‘क’ श्रेणीको सुरक्षा हुन्छ । उहाँसँग अगुवा–पछुवा गाडीसहित सेना र प्रहरीका टोली हुन्छन् ।
उता, सरकारको निर्णयअनुसार, विभिन्न पूर्वपदाधिकारीलाई दिइएका अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्ने सिलसिला शुरु भएको छ । गत मंगलबारसम्म २ सय ४० फिर्ता भए । त्यसमध्ये काठमाडौं उपत्यकाबाट १ सय ९७, प्रदेश १ बाट २, बागमतिबाट १८, गण्डकीबाट २३ जना तानिएका छन् । अन्य प्रदेशलाई अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्नका लागि गत बुधबारसम्मको म्याद दिइएको छ । यससँगै थप ६५ जना पदाधिकारीलाई सुरक्षा दिनुपर्ने भएको छ ।
प्रदेशसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, पूर्वप्रधानन्यायाधीश, अख्तियारका पूवप्रमुख आयुक्त (लोकमान र दीप बस्न्यातबाहेक) लााई दिइनुपर्ने सुरक्षाकर्मी अपुग भएका कारण ६५ जना थप्न लागिएको हो । पूर्वप्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल (प्रचण्ड) सँग रहेका ३९ सुरक्षाकर्मीमध्ये अहिले १६ जनामात्रै बाँकी छन् । कांग्रेस सभापति शेरबाहदुर देउवासँग पनि १६ मात्रै रहे । पूर्वराजा ज्ञानेन्द्र शाह सुरक्षाकर्मीसहित अहिले झापा गएका कारण उहाँबाट सुरक्षाकर्मी आजभोलिमै फिर्ता हुने भएका छन् । उहाँले पनि १६ जना सुरक्षाकर्मी पाउनुहुनेमा अहिले ३०–३५ जना छन् ।
तर, नागार्जुनस्थित ५८ जना निस्किएर हेडक्वार्टरमा हाजिर भइसकेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनालसँग चाहिनेभन्दा कम सुरक्षाकर्मी भएका कारण फिर्ताको झमेला परेन । नेकपा अध्यक्षसमेत रहनुभएका माधव नेपालकहाँ जति हुनुपर्ने हो, त्यति नै भएका कारण त्यहाँबाट पनि फिर्ता गर्नुपरेन । अब सशस्त्र प्रहरीले राष्ट्रियसभाकी उपाध्यक्ष, तीनजना राज्यमन्त्री, मुख्यसचिव, तीन पूर्वप्रधानन्यायाधीश र एकजना अख्तियारका पूर्वप्रमुख आयुक्त नविन घिमिरेलाई आजभोलिमै सुरक्षाकर्मी पठाउँदैछ ।
टिप्पणीहरू