कामले नाम राखेकी राधाको सम्झना

कामले नाम राखेकी राधाको सम्झना

दिवङ्गत पत्रकार राधा बस्यालको स्मृतिमा स्थापित “राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार” यसवर्ष बर्दियाकी समृद्धा केसीलाई प्रदान गरिएको छ ।

पत्रकार बस्यालको जन्मदिनको अवसर पारेर हिजो आइतबार उनको जन्मघर कावासोतीको सिमलघारीमा यौटा कार्यक्रम भएको थियो । सोही अवसरमा प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले केसीलाई सम्मान पत्र, दोसल्ला र नगद २० हजार रुपैयाँले सम्मान गर्नुभएको हो । राधा क्यान्सर सचेतना फाउन्डेसनले हरेक बर्ष पुरस्कार प्रदान गर्ने घोषणाअनुरुप यसवर्ष परेका आवेदनहरुमध्येबाट पत्रकार केसीलाई छनोट गरिएको हो । पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत हुनुहुन्छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले राधा बस्यालको छोटो जीवन आफैँमा सघर्षपूर्ण भए पनि निकै प्रेरणादायी रहेको बताउनुभयो । उहाँले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका निभाएकी राधाले क्यान्सर रोगबाट ग्रस्त हुँदासमेत सञ्चारकर्म नछाडी लागि पर्नुले धेरैलाई प्रेरणा मिलेको बताउनुभयो । समाजमा अरु राधाहरु क्यान्सर रोग र श्रीमानबाट हिंसाको सिकार नहोउन् भन्नका लागि राधाको सत्कर्म, उनको संघर्ष र उनका सपनाहरु पुरा गरेर समाजमा फैलाउनु पर्नेमा जोड दिनुभयो ।
श्रेष्ठले राधाले सल्काएको क्यान्सर र हिंसाबिरुद्धको दियोमा परिवारले तेल थप्ने काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै पत्रकार समृद्धा केसीले बस्यालले उठाएको आवाजलाई जिम्मेवार ढंगले अघि बढाउन प्रेरणा मिलेको र दायित्व थपिएको बताउनुभयो । फाउन्डेसनका अध्यक्ष स्वर्गीय राधाका भाइ प्रकाशले हिंसा र क्यान्सर रोगसंग लड्दा लड्दै दिदीको प्राण गएको र उहाँको चाहना बमोजिम फाउन्डेसनको गतिविधिलाई अघि बढाइएको बताउनुभयो । उहाँले आगामी वर्ष अझ परिस्कृत र परिमार्जनसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा फाउन्डेसनका संरक्षक एवं राधाका पिता शुभराज शर्मा, काका फरसुराम शर्मा लगायतले स्वर्गीय राधा कसरी हिंसामा परिन्, कसरी क्यान्सर रोगको पहिचान भयो,उपचारका प्रयासहरु कति गरिए भन्ने जानकारी दिनुभएको थियो ।

अन्य वक्ताहरुले राधा बस्यालको जीवनीका बारेमा चर्चा गर्नुभएको थियो । विसं २०४८ फागुन ९ गते जन्मिएकी राधाको २०७७ कार्तिक १४ गते स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समय सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जमा रहेर पत्रकारिता गरेकी राधाले विवाहलगत्तै व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर रोगसँग लड्नुपरेको थियो । रोगसँग र आफूलाई गरिएको हिंसाविरुद्ध लड्दै उहाँले समाजमा महिला हिंसा र स्तन क्यान्सरवारे सचेतना अभियान सन्चालन गर्नुभएको थियो । सोही क्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनको स्थापना गरेर संस्थागत रुपमै गाउँ गाउँमा सचेतना अभियान चलाउनुभएको हो ।

फाउन्डेसनले २ लाख राशीको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट हरेक बर्ष क्यान्सर र हिंसाबिरुद्ध समाचार लेख्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार हरेक वर्ष पत्रकार राधाको जन्मदिवसको अवसरमा प्रदान हुनेछ ।

टिप्पणीहरू