निर्वाचन निम्ति विदेशीलाई के हालियो निवेदन ?
भएदेखि चुनाव हुन्छ नेपालको, जनप्रतिनिधि पनि यहीँका छानिन्छन् । तर, कष्ट दिइँदै छ, विदेशीलाई ।
अहिले गृह मन्त्रालयले चीन र भारतसँग निर्वाचनका लागि आवश्यक प्राविधिक कुराहरू माग गर्नुपर्ने विवरण परराष्ट्र मन्त्रालयलाई लेखेर पठाएको छ । त्यसो त विगतदेखि नै चुनावको नाममा मित्रराष्ट्रहरूबाट सहयोग लिने परम्परा नेपालले अंगाल्दै आएको पनि हो । यसचोटिचाहिँ चुनाव हुने वा नहुने ठेगान छैन ।
तर, नेपाली सेनाबाहेकका सुरक्षा निकाय, गृह मन्त्रालय र निर्वाचन आयोगका लागि आवश्यक सामग्री माग गरिने भएको छ । भारत र चीनसँग माग गर्नुपर्ने सूचीमा १२ सय वटा सवारी साधनसहित सञ्चारसेट रहेका छन् । त्यस्ता सामग्री गृह मन्त्रालयसहित प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान हुँदै निर्वाचन आयोगसम्मलाई दिइने उक्त सूचीमा उल्लेख छ । त्यसमा सशस्त्रका लागि तीन सय १५ वटा गाडी, प्रहरीका लागि ९ सय ४२ सवारी साधन, गृहले चलाउनका लागि ४०–४५ जति मोटर छन् ।
राष्ट्रिय अनुसन्धान विभागका लागि भने करिव २५–२६ वटा सवारी साधन मात्रै सो सूचीमा उल्लेख छ । त्यसबाहेक मतपत्र छपाईको कागज, मसी, स्ट्याम्प चीनसँग माग गर्नुपर्ने गृहको सुझाव छ । ०७४ मा सम्पन्न विभिन्न चरणका निर्वाचनमा भने त्यस्ता सामान जापानबाट आएको थियो । निर्वाचन आयोगले मात्र निर्वाचनका निम्ति सरकारसँग साढे सात अर्बको बजेट पेश गरेको छ । निर्वाचनकै सन्दर्भमा छलफल गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) ले गत मंगलबार भारतीय राजदूतसँग दुई घण्टा भेटेको गृहस्रोतले जनाएको छ भने अर्थमन्त्री विष्णु पौडेलले २ साताअघि राति २ घण्टा दूतावास पुगेर राजदूतसँग सघन संवाद गरी लिष्ट पेश गर्नुभएको छ ।
टिप्पणीहरू