यो लेख नेताहरुका लागि मात्र

यो लेख नेताहरुका लागि मात्र

लेखनाथ भण्डारी

सिनेमा वा नाटकहरुमा सेन्सर बोर्डले दर्शक समूह छुट्याएर मात्र प्रदर्शनीको अनुमति दिने गर्छ । सम्पादकलाई अनुरोध छ– यो लेख यहाँ नाम उल्लेख नेताहरुका लागि मात्र पढ्न÷सुन्न अनुमति दिइयोस् ।

यो लेख मुख्यतः पशुपतिभक्त अर्थात् रामसेवक सर्वश्री प्रधानमन्त्री खड्गप्रसाद ओली, बुद्धभक्त पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय शान्ति अभियन्ता माधव नेपालका लागि मात्र हो । उहाँहरुको अनुमतिले वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायत आ–आफ्ना समूहका बाँकी नेताहरु अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, विष्णु पौडेल, शंकर पोखरेल, रघुजी पन्त, बेदुराम भुसाल, पम्फा भुसाल, घनश्याम भुसालले पनि पढ्न सक्नुहुनेछ । यहाँ उल्लेख नेताहरुका विशेषता र विशेषण पहिलो चरणमा उल्लेख नेताहरुकै चरित्र र प्रवृत्तिसँग तुलना गर्नु उपयुक्त हुन्छ तर बाँकी केही ‘केटाकेटी’हरुले पनि ‘ट्याउँट्याउँ’ गरिनै हाले भने मात्र योगेश भट्टराई, बिन्दा पाण्डे, रामकुमारी झाँक्री, गोकर्ण विष्ट, विष्णु रिमाल, भानुभक्त ढकाललगायतलाई सख्त मनाही गर्नुहोला । उल्लेख गर्नैपर्ने पहिलो पंक्तिमा हुनुहुन्छ– सर्प व्यवसायी पूर्व प्रम झलनाथ खनाल पनि ।

हलो अड्काएर गोरु चुट्ने वा छोरी कुटेर बुहारी तर्साउने गर्दा ‘केटाकेटी’हरुमा नकारात्मक असर पर्न पनि सक्छ । आफ्ना ‘बा’ का रिसले छाराछोरीलाई साथै लिएर बालाई भीरबाट खसाल्न लैजाँदा उनीहरुले थोत्रो डोको फिर्ता ल्याउन जिद्दी गर्न सक्छन् । त्यसैले यो लेख ती ‘केटाकेटी’हरुले नपढुन्, जो माथि नाम उल्लेख गरिएका अनुमतिप्राप्त नेताहरुको पथ पछ्याइरहेका छन् वा तिनलाई पनि उछिनौंला झैं गरेर बुर्कुसी मारेर दौडिरहेका छन् ।

राम जन्मभूमिको सफल उत्खननपश्चात प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा शिवलिंगलगायतका मूर्तिहरुमा स्वर्ण जलप अर्पणार्थ सम्पन्न गर्नुभएको अखण्ड महायज्ञ मात्र उहाँको ईश्वर भक्तिका उदाहरण होइनन् । अनुचरहरुले उहाँको देवत्वकरण पहिलेदेखि नै गर्ने क्रममा सर्वज्ञ त भनेकै थिए, केही पहिले मात्र भगवान बुद्धको नामै लिएर तुलना गरे । महाकवि देवकोटाले जुन कुरा अलि ढिलो बोध गरेका थिए, प्रम ओलीले पहिले नै गर्नुभयो–

रहेछ संसार निशा समान,
आएन ज्युँदै रहँदा नि ज्ञान ।
आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, न भो विवेक ।
– महाकवि देवकोटा

यसो त कमल भनेपछि पुष्प नभने पनि हुने तर पुष्प भनेपछि कमल, लालीगुराँस, गोदावरी आदि नभने मानिसले गुयँलाको फूल वा गोदावरी नै भए पनि ‘क्यातुके’ अनुमान गरिदिए अनर्थ हुने डर । यी दुवै शब्द चयनले उहाँ फूलमा पनि अब्बल र कमलजत्तिकै कोमल हुनुहुन्छ भन्ने अनुमान गर्न सकिन्छ । भन्नेहरु त अहिले पनि भन्छन्, ‘हजार चुहा खाकर बिल्ली हज करनेको चले ।’ तर उहाँले आफ्ना भागमा ५ हजार र बाँकी बादल, पूर्वप्रम बाबुराम भट्टराई, पूर्वराजा वा पूर्वप्रम देउवालगायतलाई छुट्याइदिनुभएको छ । त्यसैले १० वर्ष सशस्त्र द्वन्द्वका हिंसाको ‘तरबार’ उहाँको सिरानीमा अहिले पनि हल्लिरहेको छ । शाकाहारी र वा मांसाहारी आन्दोलनको चर्चा कमरेड प्रचण्डले गर्नुको कारण मार्सी चामल वा बनेलको सेकुवाको स्वाद सम्झना मात्र हुनुपर्छ । अहिले त उहाँ भगवान गौतम बुद्धका नामको कुनै अन्तर्राष्ट्रिय संस्थाको अगुवा नै हुनुहुन्छ । उहाँले मापदण्ड पु¥याएर अर्थात् निश्चित विधिअनुसार बौद्धमार्गी दिक्षा÷ज्ञान प्राप्त गरेर नै त्यस प्रकारको संस्थाको उपल्लो नेतृत्व गर्ने अवसर पाउनुभएको हुनुपर्छ ।

कोरिया र अमेरिकाको राष्ट्रपतिहरुलाई पनि शान्तिवार्ताको बैठकका लागि सल्लाह दिएको दाबी गर्दै आउनुभएका कमरेड माधव नेपाल पनि शान्तिप्रेमी र समन्वयकारी नेताहरुमै गणना गरिनुहुन्छ । अन्तर्राष्ट्रिय शान्ति अभियानका कुनै कोरियन ‘मुन’ नामका धर्मगुरु वा तिनका परिवार÷पत्नी कसैको नेतृत्वमा रहेको संस्थामार्फत प्रधानमन्त्री ओलीलाई समेत राजधानीमै तीन रात होटलको बास गराउन सफल कमरेड नेपालले ‘होलीवाइन’ का नाममा प्रम ओली जति बद्नाम भने हुनुपरेन । नेपाललाई प्राप्त शान्तिप्रेमी धर्मगुरु वा धर्म गुरुआमाका कृपाले अपजसजति प्रम ओलीकै थाप्लामा प¥यो । यो कुशल कलाका धनी नेपाल उधारोभन्दा हताहाती व्यवहार रुचाउनुहुन्छ ।

के अब जित्नेले हार्नेलाई डाँडै कटाउने हो ?

नेपाल एकीकरणपछिका सबै विकास र दृष्टिकोणमा आफ्नो भूमिकाको चर्चा गर्दै आउनुहुने प्रम ओलीले ट्रान्सपरेन्सी नेपालले प्रस्तुत गरेको विश्वकै ‘भ्रष्ट सरकार’ भएको रिपोर्ट आफैंले खारेज गर्नुभएकोबाहेक अन्य सबै प्राप्त सम्मान र उपाधिहरु ग्रहण गर्नुभएको छ । प्रम ओली पत्नीले आफ्ना श्रीमानको सर्वज्ञानको वयान गर्दा अन्यथा मान्न सकिएता पनि प्राज्ञ जगमान गुरुङले समेत गर्नुभएको दाबी नपत्याउने कुरै भएन । प्राज्ञ प्राध्यापक डाक्टर गुरुङ पनि प्रम ओलीको धर्म, दर्शन, विज्ञान, ज्योतिष, कृषि, राजनीति, युद्ध आदि सबै ज्ञानका अगाडि लज्जित हुनुहुन्छ । हुन पनि प्रम ओलीको यो मौलिक क्षमता अन्य कसैमा दुर्लभ नै हुनुपर्छ ।

देशलाई रामराज्य पथमै डोर्‍याएर चमत्कार गर्नसक्ने यी एकसे एक हाम्रा पूर्वप्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीबाहेक उपप्रधानमन्त्री र दर्जनौं मन्त्रीहरु पनि हामीसँगै हुनुहुन्छ । नेपाल एकीकरणको विरासत बोकेका पूर्वराजा र गणतन्त्र नेपालका दुई–दुई जना राष्ट्रपति र उपराष्ट्रपतिलाई पनि छुटाउन मिल्दै मिल्दैन । त्यति धेरै उदार, विवेकी, शान्तिप्रेमी, भगवानभक्त समन्वयकारी, बुद्धमार्गी हाम्रा नेताहरुको विगतको योगदान र वर्तमानको भूमिकामा किन तालमेल हुन सकिरहेको छैन ? उहाँहरुमा शालिनता, मित्रता र अनुशासनको सट्टा किन जित–हारको अहंकार बढिरहेको छ ? जितेर पनि समाधान हुन नसक्ने पथमा किन एकले अर्कोलाई निषेध गर्नुहुन्छ । जसले जिते पनि, जसले हारे पनि देश र जनताको समुन्नतिका लागि भोलि पनि एकले अर्कोलाई सहयोग, सहकार्य र समन्वय गर्नै नपर्ने हो र ? के अब जित्नेले हार्नेलाई डाँडै कटाउने हो ? नेपालमै जन्मेका बुद्धको अनुयायी बनेर चीन, जापान, कोरियालगायतका देशले जे प्रगति गरे तर हामी किन बुद्ध कहाँ जन्मेका हुन् भनेर विवाद गर्छौं वा किन एक–अर्कालाई सम्मानपूर्वक स्वीकार गर्नुसट्टा शत्रुलाई झैं निषेध गर्न खोज्दैछौं ?

एकले अर्कोलाई गरेको गाली र अपमानको उदाहरण त यहाँ दो¥याउनु शोभनीय हुँदैन । तर पनि यो एउटा गीत चैं उहाँहरु सबैका नाममा समर्पण गरौं है त–

सहिदिन्छु कुट बरु बोलीले नकुट
मरिदिन्छु मार बरु बचनले नमार
कसैको त छोरी हुँ म हजुरको बुहारी
हजुरको नि छोरी होलान् अरुको बुहारी
जीवन मेरो बित्छ क्यारे दुःख गरी गरी…!

यस गीतको रचना, संगीत र स्वर यकिन हुन नसकेकोमा क्षमा प्रार्थी छु । प्रस्तुत लेख पढ्नुहुने नेताहरुले जुन शक्ति र जुन चमत्कारको अहं प्रदर्शन गरिरहनुभएको छ, त्यसले उहाँहरुको हार–जित मात्र हुने निश्चित छ । तसर्थ उहाँहरुले आ–आफ्नो हारजितको अहंकार त्यागेर जनताको हितका लागि आफ्नो योग्यता र भूमिका समस्या समाधानका लागि प्रयोग किन गर्नुहुन्न ? तपाईंहरुको जितहारको अहंकारको परिणाम देश र जनताले कहिलेसम्म भुक्तमान सहनुपर्ने ? बाँकी छ कुनै जादुको छडी तपाईंहरुसँग ?

टिप्पणीहरू