जनताको पुकार सुन्ने कि देवीथान धाउने ?
– तीर्थ सिग्देल
केही समयअघि एउटा प्रकरणमा लेखेको थिएँ, …तिमी निडर हैन, लिडर बन । खासमा निडर बन्नु र लिडर बन्नु फरक कुरा हो । निडरले भविष्यको कुनै रूपरेखालाई नियाल्दैन । तर, लिडरले विगत, वर्तमान र समयको लेखाजोखा गर्छ । कुनै एउटा प्रकरणमा यो विषयमा चर्चा गर्दा मेरो धेरै आलोचना भयो । मार्ने धम्की पनि आयो । अन्ततः परिस्थिति त्यस्तै सावित भयो । यतिबेला नेपाली राजनीतिमा लिडर बन्ने भन्दा पनि निडर बनेर होमिने अवस्था देखिँदै छ । निडरता भेडो प्रवृत्ति हो, जहाँबाट अगाडि गएपछि फर्कन सकिँदैन । तर, लिडरले आफूलाई त्यहाँसम्म लैजान्छ, जहाँबाट आफू फर्कन सकोस् ।
हामी ओली कमरेडका मौन समर्थकहरूको भीडमा हरायौं । झापाकै हुनुको फाइदा र बेफाइदा दुवै हुँदो रहेछ ।
एउटा झापाली हुनुको नाताले प्रधानमन्त्री केपी ओलीको मौनसमर्थक हुनु हाम्रो बाध्यता थियो । किनभने त्यो झापाका लागि मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको बिजारोपण भएको स्थलको गौरवगाथालाई सम्झने हो भने योभन्दा ठूलो उपलब्धि के हुन सक्थ्यो र ? त्यसभन्दा पनि एउटा लामो संघर्षको परिणामबाट प्राप्त प्रतिफल संविधानसभाबाट बनेको संविधानको रक्षा गर्नु सबै नेपालीको कर्तव्य थियो ।
हामी ओली कमरेडका मौन समर्थकहरूको भीडमा हरायौं । त्यसमध्ये धेरै त अन्धसमर्थकहरू थिए । त्यसमध्ये केही निडर प्रवृत्तिका संवाहक बने । कोही निडर बनेर होमिए । केही लिडर बन्ने ध्याउन्नमा छन् । समग्रमा मुलुक आन्दोलनमा होमियो । अहिले संविधानलाई कागजको खोस्टोमा परिणत गर्ने कि त्यसको उचित व्याख्या गर्ने भन्ने बीचको लडाइँ चलिरहेको छ । झापाकै हुनुको फाइदा र बेफाइदा दुवै हुँदो रहेछ । परिणामतः त्यसको असर र दूरगामी प्रभावको विश्लेषण गरेर अगाडि नबढ्ने हो र मौनसमर्थक वा अन्धसमर्थक भइरहेर बसिरहनु निकै कठिन छ ।
सपाट रूपमा भन्नुपर्छ, कमरेड ओलीको कदमलाई आमरूपमै समर्थन गर्न सकिन्न । मौनता अझ बढी घातक हुन्छ । बरु अन्धसमर्थक बन्नु गौरवको कुरा हो । अझ धुँवाधार विरोधी हुनु त गजबै भइगयो । कसैले कतै भाषण गरेको सुनेको । कुनै विचारको वा कदमको पक्षपाती हुनु कुनै नौलो कुरा होइन । गलत कामलाई ठीक हो भन्न कुनै आइतबार पर्खिनु पर्दैन । तर, गलत कदमलाई गलत हो भन्न साहस चाहिन्छ । यतिबेला नेपालीहरू त्यो साहस बटुलिरहेका छन् । अर्थात्, धेरैको मौनता तोडिँदै छ । धैरैको धैर्यताको बाँध फुट्दै छ । मुखमा लगाएको पट्टी खुल्दै छ । त्यस्तो पट्टी खोल्न रामकुमारी झाँक्रीहरूलाई त साहस चाहियो भने अरूले विस्तारै साहस बटुलिरहेका होलान् ।
प्रदेश १ का मुख्यमन्त्रीको अलिकति उदाहरण दिऊँ । उनी कुमारै थिए, जतिबेलासम्म उनी कुमारै रहे, त्यो बेलासम्म उनीविरुद्ध कसैले अविश्वास गर्न सकेन । जब उनले साधीसुधा जीवन शुरु गर्न लागे त्यसपछि उनको बिदाइ गर्ने तयारी थालियो । तीन वर्षसम्म्म उनले न प्रदेशको राजधानीको विवाद पूर्णरूपमा निमिट्यान्न पारे न नामकरण नै गर्न सके । त्यस्तो नेतृत्व, जसको विरुद्ध संसद्मा अविश्वास दर्ज भयो, त्यसपछि उनकै पक्षधरहरूले संसद् चल्न दिएनन् । योभन्दा केटाकेटी राजनीति कस्तो हुन्छ ? योभन्दा बचकना के हुन्छ ? यस्ता उदाहरण काफी छन् । अरू धेरै गलत कामलाई गलत भन्न सकिन्छ । तर, अलिकति साहस चाहिन्छ । म पनि त्यही साहस बटुलेर यो लेख्दै छु ।
तिनै मुख्यमन्त्रीको पक्षमा पछि उभिएका पूर्वतिरका एक जना प्रदेश सांसद्ले पार्टीको एउटा गोप्य बैठकमा भनेका रहेछन्, ‘हामी विगतमा सिपी मैनालीको पक्षमा लाग्यौँ, त्यसपछि झलनाथ खनालको पक्षमा उभियौँ । विस्तारै माधवकुमार नेपालको पक्षमा खुल्यौं । अब हुँदा–हुँदा पुष्पकमल दाहालका मान्छे हुनुपर्ने भयो ।’ त्यसक्रममा उनले भनेछन्, ‘म सोच्छु हाम्रो देवीथान कुन हो ?’
आजको राजनीतिको विदु्रप तस्बिर हो यो । खासगरी दक्षिण एसियाको राजनीतिक प्रणाली, जसले हरेक क्षणमा सताइरहन्छ । बिहान उठ्दा अरू कुनै शासकबाट शासित हुनुपर्ने बाध्यता उनीहरूसँग छ । जब नेताहरू देवीथानजस्ता बन्छन् । जब कार्यकर्ताले नेताहरूलाई देवीका रूपमा पुज्न थाल्छन्, त्यतिबेला लोकतन्त्रको उपहास हुन्छ । त्यतिबेला विधि र प्रक्रिया रहँदैन । त्यतिबेला व्यक्तिको पूजा गरिन्छ । जतिबेला नेताहरूले आफूलाई भगवान् ठान्न थाल्छन् र आदेश फर्काउन खोज्छन्, हो त्यतिबेला तिनै मौनसमर्थकहरू, तिनै अन्धसमर्थकहरूले विद्रोह बोल्छन् । मौनता धेरै समय टिक्दैन । धैर्यता लामो समयसम्म रहँदैन । मानिस हो, जसलाई सिक्रीले बाँध्न सकिँदैन । त्यही मानवीय चेतना हो, जसले अन्ततः धावा बोल्छ । आगो ओकल्छ, ज्वाला निकाल्छ ।
यतिबेलाको जटिल र समाधान हुन नसकेको प्रश्न नै जनतालाई देवीथान मान्ने कि एउटा नेतृत्वलाई मान्ने भन्ने हो । जब मानिसले, जब कार्यकर्ताले एउटा मान्छेलाई देवीथानको रूपमा पूजा गर्न थाल्छ, त्यतिबेला ऊ जनताको रूपमा रहँदैन । रैती वा दासको रूपमा परिणत हुन्छ । त्यतिबेला मुलुक दासयुगमै फर्किन्छ । जब संविधानका प्रावधान कुल्चिइन्छ, त्यतिबेला नागरिक समाज सडकमा निस्किन्छ । जतिबेला आमजनता त्यो देवीथानविरुद्ध संघर्षमा होमिन्छन्, त्यतिबेला धर्म र कर्मको रूपरेखा कोरिन्छ ।
देवीथानलाई पुज्ने हाम्रो परम्परा हो । यात्रा गर्दा पनि कुनै ढुंगामा सिन्दूर हालेको देखियो भने त्यहाँ ढोग्दै हिँड्ने र अलिअलि खुद्रा पैसा चढाउने नेपालीको संस्कार हो । त्यो ढुंगा नबोल्ने ईश्वर हो । तैपनि, त्यहाँ हाम्रो मन अडिएको हुन्छ । मनले विश्वास गरेको हुन्छ, त्यतिबेलासम्म गाउँमा आँधीहुरी आएको हुँदैन । जतिबेला त्यो देवीथानले त्यो प्रलयलाई थाम्न सक्दैन । आमबटुवा र भक्तजनले त्यो देवीथानलाई पुज्नेछन्, जतिबेलासम्म उनीहरूको मनमा ऊ बसिरहन्छ । जब उनीहरूलाई लाग्नेछ, देवीथान त एउटा नबोल्ने ढुंगाको खानी मात्र हो, कुनै हावाहुरी र प्रलयलाई थाम्न सक्दैन । त्यतिबेला त्यो बेगले त्यो देवीथानलाई सँगै बगाएर लैजानेछ । त्यतिबेला त्यो बाढीले उसलाई पनि बडारेर लैजानेछ ।
टिप्पणीहरू