विप्लवसँग वार्ताको अन्तिम तयारी
दुई वर्षदेखि प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । कुनै भवितव्य नभएमा एक दुई दिनभित्र वार्ता प्रारम्भ हुने उच्च स्रोतले बताएको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वयमले डिल गरिरहेको बताइन्छ । वार्ताको लागि विप्लवको तर्फबाट औपचारिकहरूमा प्रतिनिधि चयन नभए पनि स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेतृत्व गर्ने सम्भावना प्रवल छ ।
संसदवादी र गैरसंसदवादी राजनीतिक दलहरूसँग एकैसाथ लड्न नसक्ने भएपछि सरकारले एकातिरको लडाइँलाई थाती राख्ने उद्देश्यले वार्ता प्रारम्भ गर्न खोजेको स्रोतले बताएको छ । तर, सरकारले वार्ताको लागि मंगलबार बिहानसम्म विप्लव समूहसमक्ष पत्र पठाइसकेको छैन । विप्लवको तर्फबाट भने महासचिवले शनिबार नै विज्ञप्ति जारी गरेर आफूहरू वार्ताको लागि तयार रहेको जानकारी गराइसकेका छन् । सरकारको डिल निकै अघि बढेपछि विप्लव वार्ताको लागि तयार रहेको म्यासेज दिनको लागि शनिबार विज्ञप्ति जारी गरिएको थियो ।
यसबीच पटक पटक सरकारपक्ष र विप्लव समूहका प्रतिनिधिबीच भौतिक भेटघाट भएको छ । छलफलमा विप्लव प्रतिनिधिहरूले ठूला नेताको रिहाई नभएसम्म वार्ता सम्भव नरहेको बताउँदै आएका छन् । त्यहि क्रममा सोमबार सर्वोच्चको आदेशपछि छुटेका नेता धर्मेन्द्र बाँस्तोलालाई अदालत परिसरबाटै पुनः पक्राउ गरी प्रहरीले काभ्रे पुर्याएपछि वार्ता भाँडिएको आशंका गरिएको थियो । अहिलेसम्म थुनामा रहेका विप्लवका नेता तथा कार्यकर्ताको संख्या यकिन भइसकेको छैन ।
आफ्नो समूहभन्दा पनि सरकार वार्ताको लागि आतुर रहेको विप्लवको ठहर छ । एकाध महिना वार्ताको नाममा समय कटाउन पाए राजनीतिक रुपमा सहज ढंगले अघि बढ्न सकिने प्रधानमन्त्री र सरकारको निश्कर्ष रहेको उनीहरूले बुझेका छन् । यसअघि सिके राउतलाई झैँ अहिले विप्लवलाई पनि आफूले वार्तामा ल्याएको राजनीतिक प्रचारको निम्ति मसला बनाउन मिल्ने भएकाले सरकार वार्ताको निम्ति हतारिएको विप्लव नेताहरूले बताएका छन् । उनीहरू भन्छन् ‘सबैकुरा थाती राखेर गरिने वार्ताको कुनै निश्कर्ष छैन । तर पनि वार्ता गर्छु भन्नेलाई किन नगर्ने भनिदिएका हौं ।’
नेकपाभित्र असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्रीले गत असार-साउनदेखि वार्ताको पहल थाल्नुभएको उच्च स्रोतले बताएको छ । तर असोज ३ गते संविधान दिवसको दिन असन्तुष्ट समूह भन्दै कटाक्ष गरेको कारण आफूहरू ब्याक भएको विप्लवका धेरैजसो नेताले स्वीकारेका छन् । उनीहरूको निचोड छ ‘सायद त्यसरी मनपरी नभनेको भए वार्ता अलि अघि नै हुने थियो ।’
आज राखिएको क्याबिनेट बैठक सम्भवतः वार्ताको पहल र बन्दी रिहाइको लागि हुनसक्ने विप्लव समूहको अड्कल छ ।
टिप्पणीहरू