सेयर बजारमा ‘संकटकाल’ ?

सेयर बजारमा ‘संकटकाल’ ?

हिजो बिहानदेखि बढेको राजनीतिक भेटघाट र गतिबिधिको असर आजको सेयर बजारमा परेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आउनेक्रममा भएको राजनीतिक भेटघाटलाई देखाउँदै आजको सेयर बजार प्रभावित बनाइएको स्टक विश्लेषकहरूले बताएका छन् । उनीहरूको तर्क छ ‘संकटकाल लाग्नसक्ने हल्ला चलाइएपछि बजार नसोचेको विन्दूमा तलमाथि गरेको हो ।’

आज नेप्से २१ दशमबल १६ अंकले घटेर २५८६.५१ अंकमा आइपुगेको छ । जबकी बजार खुल्दा बिहान २६३२ पुगेको नेप्से बीचमा एक पटक २५१९ सम्म ओर्लेको थियो । झण्डै १० दिनदेखि निरन्तर उकालो लागेको पूर्वाधार बैंकको सेयर भाउ पनि आज १० प्रतिशतले घटेको छ ।

अधिकांश समूहमा राजनीतिक खेलको हल्लाले काम गरेको छ तर जलविद्युत समूहका सेयर मूल्य बढेको देखिन्छ । केहि दिनदेखि सकारात्मक सर्किट लगाउनुपर्ने गरी अकाशिएको माथिल्लो तामाकोशीको सेयर मूल्यमा पनि आज कमी आएको छ । विशेषगरी संकटकाल लगाउने तयारी गरिएको भन्ने बजार हल्लालाई लगानीकर्ताले सहजै पत्याएको देखिन्थ्यो । आफू अनुकूलको बजार बनाउन सीमित सेयर ब्रोकरबाट यस्तो प्रायोजित हल्ला हुने गरेको साना लगानीकर्ताहरूले बताएका छन् ।

आज सेयर बजारमा ८ अर्ब ५६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको हिसाबले सेयर बजार घटेको देखिँदैन ।

टिप्पणीहरू