पूर्वराष्ट्रपति यादवको प्रतिक्रिया : संविधानको रक्षा भयो, लोकतन्त्रले जित्यो!
पूर्वराष्ट्रपति रामवरण यादवले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्चको फैसला आएलगत्तै जनआश्थासंगको कुराकानीमा यादवले लोकतन्त्र र कानुनी शासनको जीत भएको बताउनुभयो ।
‘सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको छ । यसलाई मैले लोकतन्त्र र कानूनी शासनको जीतका रुपमा लिएको छु’, यादवले भन्नुभयो ।
उहाँले अब मुलुक ट्रयाकमा आउने र संसदबाटै सबै समस्याको हल हुने विश्वास पनि व्यक्त गर्नुभयो । ‘देशको सबै समस्या हाउस (संसद)बाट गर्ने हो । त्यसैले अब सबै समस्याको समाधान हाउसबाटै हुनुपर्छ’, यादवले भन्नुभयो।
उहाँले न्यायालयप्रतिको जनविश्वास बढेको पनि बताउनुभयो । दुईवटा संस्थाले संविधानको रक्षा गर्न सकेनन् । एउटालाई त विघटन नै गरिएको थियो’, पूर्वराष्ट्रपति यादवले भन्नुभयो, ‘न्यायालयले संविधानको रक्षा गरेको छ । राष्ट्रको हितमा निर्णय गरेको छ। यो हामी सबैका लागि खुसीको कुरा हो । सबैले स्वागत गरौँ ।’
टिप्पणीहरू