एकातिर संसदीय दल,अर्कोतिर स्थायी समिति

एकातिर संसदीय दल,अर्कोतिर स्थायी समिति

सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रणनीति बनाउने ध्याउन्नमा अहिले बिहान ११ बजे आफ्नो समूहको स्थायी समिति बैठक बोलाउनुभएको छ ।

विकसित राजनीतिक घटनाक्रमलाई अझैपनि आफ्नो पक्षमा पार्ने अन्तिम रणनीतिअनुसार नै बैठक बोलाइएको बताइन्छ । अदालतको फैसला भएको १२ घण्टा बितिसक्दा पनि राजीनामा नदिनुभएका ओलीले संसदमा ‘फेस’ गर्ने उहाँको सचिवालयका सल्लाहकारहरूले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

प्रधानमन्त्री गुटका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालतको फैसलालाई अनपेक्षित भन्दै स्वीकार्ने बताउनुभएको छ । तर,उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत् अदालतको आदेशलाई माने पनि सम्मान गर्न नसकिने बताउनुभएको छ । उहाँले ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने’ आरोप लगाउनुभएको छ ।

सरकारमा बसेर अदालतको निर्णय मान्दिँन भन्ने आशयले ओली सरकारका मन्त्री र समूहका नेता अझैपनि सत्ता नछाड्ने मनस्थितिमा रहेको प्रष्ट भएको छ । उता, प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

हिजो चितवन पुग्नुभएका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज बिहान काठमाडौं आइपुग्नुभएको छ । मध्यान्ह १२ बजे रत्नपार्कमा आयोजना हुने विजयसभामा सहभागी भएपछि नेकपा प्रचण्ड–माधवपक्षका सबै माननीयहरू संसदीय दलको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । नेकपा संसदीय दलको बैठकले बहुमतको आधारमा केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्ने बुझिएको छ ।

 

 

टिप्पणीहरू