प्रधानमन्त्रीको कुण्ठा सूर्यबाट प्रकट

प्रधानमन्त्रीको कुण्ठा सूर्यबाट प्रकट

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रधानमन्त्री बन्नै नसक्ने टिप्पणी गरेका छन् । संसद पुनःस्थापनापछि नयाँ सरकार गठनका लागि दलहरुबीच भइरहेको छलफल र भेटघाट बाक्लिँदै गएको समयमा उनले प्रचण्ड र नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका हुन् ।

थापा पदीय हैसियत बिर्सेर आलोचकहरुमाथि भद्दा टिप्पणी गर्ने व्यक्तिको रुपमा परिचित छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्चको फैसलाले रोक लगाएपछि थापा लगातार त्यसविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रचण्ड र नेपाल नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना असम्भव र शून्य बराबर रहेको बताएका हुन् । कुण्ठा मिश्रित भाव पोख्दै उनले लेखेका छन् ‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

थापाले यसअघि पनि लगातार त्यस्तै उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए । ९ घण्टाअघि प्रतिनिधिसभा पुनःस्थापनालाई प्रतिगमन भनेका थापाले तीन दिनअघि चैं प्रचण्ड–नेपाल समूहमा भागबण्डाको रोइलो शुरु भएको लेखेका थिए । ‘२७ प्रतिशत हैसियतको माधव गुटलाई ३३ प्रतिशत ७३ प्रतिशत हैसियतको प्रचण्ड गुटलाई ३५ प्रतिशत भागबण्डा ! उही भागबण्डाको रोइलो जारी– माधवकुमार नेपालको व्यक्तिगत दुःख– पहिले र अहिले उधारो होइन, हाताहाती नगद माग्न नै सदैव व्यस्त !,’ थापाको टिप्पणी छ ।

ओली समूहका केन्द्रीय सदस्यसमेत रहेका थापा प्रधानमन्त्री ओलीको आलोचना बरु प्रधानमन्त्रीले सहनुहुन्छ उनले सक्दैनन् । कतिपयले त उनलाई अर्को गुरु भट्टराई समेत भन्ने गरेका छन् । चाखलाग्दो कुरा चाँहि थापाका अधिकांश सामाजिक सञ्जालको स्टाटसमा ९० प्रतिशतभन्दा बढी कटु आलोचना गर्दै कमेन्ट गरिएको देखिन्छ ।

टिप्पणीहरू