सर्वोच्चको फैसलाप्रति कलाकारको टिप्पणी : व्यवस्था जोगियो, बाँकी यहीँबाट खोज्छौँ !
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति कलाकारहरुले खुशी व्यक्त गरेका छन् । अदालतले संविधानको रक्षा गर्नुका साथै मुलुकलाई दुर्घटनामा जानबाट जोगाएको भन्दै कलाकारहरुले फैसलाको स्वागत गरेको बताए । कलाकारहरुले अब देश राजनीतिक स्थिरता र स्थायित्वको दिशामा अघि बढ्ने विश्वाससमेत लिएका छन् । संविधानले गरेको व्यवस्था र मुलुकको आवश्यकतालाई हेरेर आफूहरुले फैसलालाई स्वागत गरेको उनीहरुको भनाई छ ।
नायिका करिश्मा मानन्धरले सर्वोच्च अदालतको फैसलाले दुई महिना लामो अन्योलको अन्त्य गरिदिएको बताइन् । ‘सर्वोच्चको निर्णय जे आयो त्यो स्वागतयोग्य छ,यो निर्णय अझ छिटो आउनुपथ्र्यो भन्ने लागेको थियो । किनभने जनताले दुई महिना त्यसै पीडामा बिताउनुपर्यो,’ उनले भनिन् । पार्टीको विवादका कारण जननिर्वाचित संस्था विघटन गर्नु गलत भएको भन्दै उनले त्यो सच्चिनुपर्थ्यो भन्ने आफूलाई पहिलेदेखि नै लागेको बताइन् । करिश्माले विघटन बदर गरेर अदालतले संविधानको रक्षा गरेको पनि बताइन् ।
अब राजनीतिक स्थिरताको प्रत्याभूति दिलाउन नेताहरु गम्भीर बन्नुपर्ने करिश्माको भनाई छ । ‘अझै पनि अनिश्चितता नहोला भन्न सकिन्न,तर पनि एउटा अन्योल हटेको छ । अब दलहरुले जनतालाई स्थिरताको प्रत्याभूति दिलाउन सहमति र सहकार्यका साथ जानुपर्छ भन्ने मेरो भनाई हो,’ उनले भनिन् । करिश्माले सर्वोच्चको फैसलाले राजनीतिक अन्योल हटेको र त्यसले अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्रलाई पनि सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरिन् ।
चलचित्र निर्देशक नवल खड्काले पनि सर्वोच्च अदालतको फैसलाले मुलुकलाई अन्योल र अस्थिरताबाट जोगाएको भन्दै खुशी व्यक्त गरे । अदालतको फैसलालाई आफूले स्वागत गरेको उनले बताए । ‘न्यायालयले जे गर्यो त्यो ठीक छ, संसद पुनर्स्थापना हुनु नै अहिलेको सन्दर्भमा उचित कदम हो भन्ने लागेको छ । त्यसैले अब सबैले अदालतको फैसलालाई सम्मान गरेर जानुपर्छ,’ खड्काले भने ।
उनले संविधानको रक्षा गर्ने दायित्व सबैको हुने भन्दै चलचित्रकर्मीमा पनि त्यो दायित्व रहेको बताए । संसद पुनर्स्थापनले चलचित्र क्षेत्रलाई तात्विक प्रभाव त पार्दैन तर पनि संविधान र कानुनको रक्षा र सम्मान गर्नु हाम्रो पनि कर्तव्य हो,’ खड्काले भने । उनले अब देशमा स्थिरता कायम हुने र त्यसको लाभ चलचित्र क्षेत्रले लिनसक्ने बताए । ‘आशावादी हौँ । आम पब्लिक जस्तै हामीलाई पनि हिजोको फैसलाले आशावादी बनाएको छ,’ उनले भने ।
यसैगरी नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले सर्वोच्चले संविधानको रक्षा गरेको बताए । ‘धेरै त्याग,तपस्या र जनताको बलिदानबाट संविधान बनेको थियो । संविधान बनाउन खरबौं लगानी पनि भएको छ,’ उनले भने ‘त्यसैले अहिलेका लागि संविधानलाई ट्रयाकमा ल्याउने कुरा नै ठूलो उपलब्धि हो । अदालतको फैसलाले संविधानको रक्षा गरेको छ ।’
पाठकले संविधान र व्यवस्थामाथि नै प्रश्न उठेपछि कलाकारहरु आन्दोलनमै उत्रिनुपरेको पनि स्मरण गरे । उनले सर्वोच्चको निर्णयले संविधान र कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने कुरा स्थापित भएको बताए ।
‘प्राप्त उपलब्धि जोगाउनु नै अहिलेको कर्तव्य थियो, व्यवस्थामाथि नै प्रश्न उठेका बेला अदालतले जोगाइदियो । व्यवस्था रह्यो भने बाँकी कुरा यहिँभित्र खोज्ने हो, अदालतले मुलुकलाई सहि दिशामा जाने बाटो खोलिदिएको छ,’ पाठकले भने ।
टिप्पणीहरू