कसरी आज मान्नुभयो देउवा ?

कसरी आज मान्नुभयो देउवा ?

आज बसेको नेपाली काँग्रेस पदाधिकारी बैठकले संविधान रक्षाको निम्ति जोसँग नेपाली काँग्रेसको विचार मिल्छ र मिल्यो अहिलेको परिस्थितिमा उनीहरू नै मित्र भएको निश्कर्ष निकालेको छ । त्यसका वावजुद पनि नेकपाभित्रको अन्तरविरोधको निश्कर्ष स्पष्ट नभएसम्म कहिँ कतै टाँसिन हुँदैन भन्ने अनौपचारिक निर्णयमा सभापति शेरबहादुर देउवाले सहमति जनाउनुुभएको छ ।

अरु बेला निकै झोक्किने देउवा आजको बैठकमा निकै शालिनतापूर्वक प्रस्तुत हुनुभएको एकजना पदाधिकारीले बताएका छन् । बैठकको प्रारम्भमै उहाँले सर्वोच्च अदालतको फैसलापछि नेकपाका दुबै समूहले आफूसँग सहकार्यको प्रस्ताव गरेको बताउँदै ‘अब हाम्ले के गर्ने ? अनि कसरी अघि बढ्ने ?’ भनेर सोध्नुभएको थियो ।

अनौपचारिक छलफलमा सहभागीहरूले नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षको हैसियतमा पाँच वर्ष विपक्षमा बस्ने जनादेशको बारेमा पुनःस्मरण गराएका थिए । ‘त्यसैले सरकारमा जाने हतार र लोभ लालच देखाउने कुरो गम्भीर त्रुटी हुने’ उनीहरूको निचोड थियो । कसैले भने त्यो अवस्थालाई ध्यानमा राख्दै वर्तमान संसदीय प्रक्रियामा परिस्थिति कसरी विकसित हुँदै जान्छ र नेकपाभित्रको अन्तरविरोधको निश्कर्ष कहाँ पुगेर टुंगिन्छ त्यसपछि मात्र ठोस निर्णय गर्नुु बुद्धिमानी हुने धारणा राखेका थिए ।

बैठकको अन्तिममा सबैले काँग्रेस राजनीतिक दल विभाजन वा अस्थिरताको कारक बन्न नहुने र प्रतिक्षा नै कार्यनीति बनाउनुपर्नेमा सहमति गरेपछि सभापतिले ‘हो, त्यहि साझा निर्णय हो’ भनेर सहमति जनाउनुभएको थियो ।

टिप्पणीहरू