सिंहदरबार छिटो सक्दाको स्वाद

सिंहदरबार छिटो सक्दाको स्वाद

ठेकेदारहरूले प्रशासक, नेता, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई कसरी उल्लु बनाइरहेका छन् ? घटनाक्रम हेरौं । १० महिनापछि प्रधानमन्त्री केपी ओली ३ फागुनको साइत पारेर सिंहदरबार छिर्नुभयो । त्यहाँ भूकम्पका कारण क्षतिगस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको उद्घाटन मात्र गर्नुभएन, आफ्नो तीन वर्षे कार्यकालमा भएका कामको व्याख्या पनि गर्नुभयो । सरकारको राम्रो काम मिडियाले देखेन भनेर तीतो पोख्न भ्याउनुभयो । सबैभन्दा जटिल पश्चिमी मोहडाको काम सक्न कम्तीमा अझै पाँच महिना लाग्छ । ७० प्रतिशत हाराहारी मात्र काम सकिएको हो– ३० प्रतिशत बाँकी हुँदाहुँदै हतार हतार उद्घाटन किन गरियो होला ? कर्मचारी भन्छन्, कमिसनको चक्कर ।

सार्वजनिक खरिद ऐन दफा १२६ को उपधारा (४) मा सम्झौताभन्दा अगावै काम सम्पन्न गरेमा तोकिएको रकमको १० प्रतिशत पुरस्कारस्वरूप दिइने उल्लेख छ ।

निर्माण कम्पनी शर्मा न्यू टेक्निकलले (आगलागीबाट बचाइएको भागतर्फ) प्रथम चरणको काम गरेको हो भने शर्मा माइक्रोटेक (न्यू टेक्निकल जेभी) ले दोस्रो चरणको काम ग¥यो । यी दुई चरणको काम सम्पन्न गर्न हालसम्म मूल्य अभिवृद्धि करबाहेक ८७ करोड खर्च भएको छ । यी कम्पनीले सम्झौता गर्दा ११ फागुनभित्र सक्ने भनिएको थियो तर ८ दिनअघि प्रधानमन्त्रीको हातबाट उद्घाटन गराउँदा झण्डै ९ करोड कमाउने मौका पाएको छ । निर्माण कम्पनीले यसैगरी महान्यायाधिवक्ता कार्यालय, कानुन पुस्तकालयको काम ठेक्का सम्झौताभन्दा केही साताअगावै सम्पन्न गरी १० प्रतिशत पुरस्कार हात पार्न सफल भएको थियो ।

प्रम कार्यालयको पश्चिमी मोहडाको कामको ठेक्काचाहिँ शर्मा–गौरी पार्वती न्यू टेक्निकल जेभीले पाएको छ । जसको मूल्य अभिवृद्धि करबाहेक ४६ करोड ८८ लाख लाग्ने भनिएको छ । अर्काे वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि ठेकेदारले असारभित्रै काम सक्छु भन्दै छन् । त्यो जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षणको सिद्धान्तअनुसार पुनर्निर्माण गर्न कम्तीमा अझै १ वर्ष लाग्ने सरकारी अधिकारीहरूको आकलन छ । विशेष गरी सिसा, चुना, काठ र फलाम प्रयोग गरिएको त्यो भागको पुनर्निर्माण गरिँदा ऐतिहासिक कलाकृतिसमेत नबिग्रनुपर्ने सम्झौता छ ।

के के छ कार्यालयभित्र ?

प्रवलीकरण सम्पन्न भएको प्रम कार्यालयभित्र स्वदेशी विदेशी पाहुनासँग भेट्न छुट्टै कक्ष निर्माण भएको छ । माथिल्लो तलामा उपप्रधानमन्त्रीको निम्ति कार्यकक्ष छ । मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका पाँच महाशाखाका सचिवहरूको लागि छुट्टाछुट्टै कक्ष, सचिवको मासिक बैठकका लागि कक्ष, क्याबिनेट हल, एक्सन रुम, वार एक्सन रुम (उद्घाटन तथा संबोधन कक्ष), स्टुडियो, आराम कक्ष, प्रधानमन्त्री कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान भएको छ ।

सिंहदरबारभित्रै स्वास्थ्य मन्त्रालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै भवनमा सरेपछि त्यहाँ सिंहदरबार बाहिरको एउटा मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्ने तयारी चल्दै छ । हाल कायम २२ मन्त्रालयमध्ये २१ वटा सिंहदरबारभित्रै छन् । प्रधानमन्त्रीले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई तत्काल मन्त्रालय सिंहदरबार हाताभित्र सार्ने तयारी गर्न निर्देशन दिइसकेको बताइन्छ । यसअघि प्रम कार्यालयले प्रयोग गर्दै आएको भवनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सर्नेछ । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ सरेपछि त्यहाँ परराष्ट्र मन्त्रालय लगिनेछ र त्यहाँ अर्थ मन्त्रालय विस्तार हुनेछ । रिक्त कुनै भवनमा स्वास्थ्य मन्त्रालय सर्नेछ ।

धुलिखेलमा धमाधम

परराष्ट्रका दर्जनौँ कर्मचारी सरकारी खर्चमा रिफ्रेस हुन रिसोर्ट पुगेर फर्किएका छन् । गत शनिबार हालसालै खुलेको आगन्तुक होटलमा अनेकन परिकारसहित मुलुकको कूटनीतिलाई अब कसरी अगाडि प्रभावकारी बनाउने भन्ने विषयमा बहस छेडिएको छ । मन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव भरतराज पौडलसहित उपस्थित सो कार्यक्रममा सहभागी एक कर्मचारीका अनुसार ब्रेन गेन सेन्टर (बिजिसी) मा कसरी सक्रिय बनाउनेदेखि विदेशमा रहेका ‘नेपाली ‘बेस्ट ब्रेन’ सँग कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल भएको हो । जुन कार्यक्रम गर्न मात्र ५ लाख बढी खर्च भएको छ । यस्तो कार्यक्रमलाई निरन्तरता दिइने मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

टिप्पणीहरू