ओली र देउवाको यो आलिंगन
प्रधानमन्त्री ओलीसँग शेरबहादुर देउवाको मिलेमतोलाई काठमाडौंका राजनीतिक घटनाक्रमले मात्रै होइन, प्रदेश १ मा विकसित संकटले पनि पुष्टि गर्छ ।
त्यहाँ मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै सांसदहरूले दुई महिनाअगाडि अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । जसलाई अनेक उपाय लगाएर सार्ने काम भइरहेको छ । यसै क्रममा आइतबार दिउँसो बोलाइएको प्रदेशसभाको बैठक सारिदिनका निम्ति कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेश प्रमुख सोमनाथ प्यासीले फोन गर्नुभयो, सभामुख प्रदीप भण्डारीलाई । उनी प्रचण्ड–माधवपक्षीय हुन् । प्रदेश प्रमुख सोमनाथ त नेकपाको ओली पक्षधर नै भए, कुनै अनौठो कुरा भएन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विराटनगर नै पुगेर शेखर कोइराला, कृष्ण सिटौला र विश्वप्रकाश शर्माले खुलारुपमै अविश्वासको पक्षमा मतदान गर्ने बताइसकेपछि फेरि शेरबहादुरले काठमाडौंदेखि प्रदेशका सभामुखलाई फोन गर्नुले पनि बालुवाटारसँग उहाँको मिलेमतो छर्लङ्ग भएको बताइन्छ । तर, उहाँको फोनलाई सभामुख भण्डारीले वास्ता गरेनन् । सभा बोलाए र अविश्वास प्रस्ताव राखे । सरकारपक्षीय सांसदहरूले बहिष्कार गरेको उक्त सभामा अविश्वासको प्रस्ताव टेबुल गरिएको छ । अर्को बैठक २० गतेका लागि बोलाइएको छ ।
यता, बागमती प्रदेशमा भने मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सभामुख सानुकुमार श्रेष्ठ बेपत्ता छन् । उनीचाहिँ ओलीपक्षीय हुन् ।
उता, लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीले बठ्याइँ गर्दै ‘संसद विघटनको पक्षमा म होइन नि’ भन्दै विपक्षीहरूसँग कुरा टार्ने गरेका छन् । मन्त्रीहरूले ‘हामीलाई निकाल्नुस्’ भन्दा ‘हैन, केन्द्रमा जे भएको भए पनि यता त्यस्ता नगरौँ’ भन्ने गरेका छन् ।
टिप्पणीहरू