कैयौं मान्छे ओइरिनुको के हो कारण ?
केपी ओलीको कदम अलोकप्रिय छ । तर, जनसभा हेर्दा लाग्दैन कि, उहाँ त्यति धेरै अलोकप्रिय हुनुहुन्छ । प्रश्न उठ्न थालेको छ, यत्रा मान्छे आए कहाँबाट ? प्रचण्ड पनि ०६४ सालतिरझैं चमकधमकमा हुनुहुन्न । तर, उहाँको बोली सुन्न मान्छे किन भेला भइरहेका छन् ?
स्थानीय तहका कतिपय भुक्तानीहरू हेरौँ, पछिल्लो दुई महिनादेखि यति धेरै बिल फस्र्यौट भएका छन् कि, अचम्मैलाग्दो । प्रशासनिक प्रक्रिया नमिलेर रोकिएका ती भुक्तानीहरू किन एकाएक बढ्यो ? यसको जवाफ खोज्दा प्रष्ट हुन्छ, विभिन्न राजनीतिक दलका लागि मान्छे जुटाउन । ‘क्यामेराको कुरै नगरौँ, ड्रोनले पनि खिच्न सक्दैन, यत्रा मान्छे त चन्द्रमाबाट खिच्नुपर्छ’ भनेर बोल्नका लागि प्रधानमन्त्री पनि हौसिने गरी जनसागर जुटाउने स्रोत बनेका छन्, स्थानीय तहहरू ।
नेपालमा विकसित राजनीतिक परिस्थितिमा दुईवटा पक्षका दुबै हातमा लड्डु छ । त्यो हो, भारत र अर्को शेरबहादुर देउवा ।
भारतीयकै सोच वा परिस्थितिअनुसार यता शेरबहादुरको पनि दुबै हातमा लड्डु भएको हो । भारत नेकपा फुटाउन चाहन्थ्यो । त्यसका लागि केही गर्नै परेन, उनीहरू आफैँ फुटे । अब संसद व्युँतिएछ भने पनि नेकपा एउटै नहुने करिव निश्चित भइसक्यो । तर, त्यो परिस्थिति निर्माण भएपछि भोलि–पर्सिमै सर्वोच्च अदालतले एउटा फैसला दिँदैछ । अनि, व्युँतिएको संसदबाट आफूले प्रधानमन्त्री पद छोड्दा बरु शेरबहादुरलाई बनाउँछु, प्रचण्डलाई छाड्दिनँ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले निकटस्थसँग भनिरहनु भएकै छ । प्रचण्डले पनि चितवन गएर शेरबहादुरलाई प्रधानमन्त्रीको अफर गरिसक्नुभएको छ । उहाँले आफू हुन्छु वा माधव नेपाललाई प्रधानमन्त्री बनाउने भन्नुभएको छैन । किनभने, माधवलाई अघि सार्दा देउवाको टोलीले समर्थन गर्दैन । कांग्रेससामु एजेण्डा क्लियर छ । संसद पुनःस्थापित भयो भने भारत पनि शेरबहादुर प्रधानमन्त्री बन्नुहुन्छ भन्नेमा ढुक्क छ । त्यसैले पछिल्ला दिनहरूमा शेरबहादुरको उत्तेजक भूमिका देखिँदैन । ठुल्ठूला प्रदर्शन गर्न ‘पैसा नै छैन’ भनेर सामान्य जवाफ दिइरहनुभएको छ । यसभित्र निक्कै गम्भीर कुरा लुकेको राजनीतिक विश्लेषकहरूको ठहर छ । भन्छन्, ‘ठूलो–ठूलो गर्ने, तामझामका साथ जनप्रदर्शन गर्नेहरूले कि विदेशको र राज्यकोषको पैसा ल्याएका छन्, कि हिजो लुटेको पैसाबाट यो काम गरिरहेका छन् भन्ने आशय शेरबहादुरको हो ।’
टिप्पणीहरू