विदेश जानेको बन्यो बथान

विदेशतिर कोरोनाको नयाँ कहर छ । कतिपय देश लकडाउनमा गइसके । तर, नेपालका कर्मचारी विदेश जान पाइन्छ भनेर सरुवा भएको ठाउँ नगई उही ठाउँमा थुप्रिएका छन् ।

अर्कातिर बालुवाटारले चाहेअनुसार ‘सेटिङ’ मा राहदानी छपाईको टेण्डर टुंगो लगाएर कोही हाकिमले आफ्नो राजदूत पद सुरक्षित पारिसके । यसमध्ये विदेश शयर गर्ने लालसा साँचेका कर्मचारीले पहिला थाइल्याण्ड जाने भनेर सचिव भरत पौडेललाई प्रस्ताव पठाए । तर, उनले थाइल्याण्ड काटेर दुबई राखे । तर, कन्सुलर विभागका महानिर्देशक जीवनप्रकाश श्रेष्ठचाहिँ यो शयरमा सहभागी हुन चाहेनन् । किनभने, उनी जेठमा रिटायर्ड हुँदैछन् । राजदूतका लागि दौडधुप बाँकी नै छ । अब दुबईका लागि भ्रमण स्वीकृति पाएका विभागका निर्देशक जंगबहादुर गुरुङसहितको टोली कतार, जेद्धा पनि पुग्ने तयारीमा छ । विभागबाट मन्त्रालयमा सरुवा भइसकेकी अधिकृत सुजनी राना विदेश जानकै लागि सरुवा भएको दरबन्दीमा हाजिर नभई त्यहीँ बसिरहेकी छन् । विभिन्न देशमा रहेका कूटनीतिक नियोगलाई कन्सुलर सेवासम्बन्धी ब्रिफिङ गर्ने नाममा उनीहरू विदेश जान लागेका हुन् । विभागबाट जारी हुने कन्सुलरका काम, विदेशबाट नेपालीको शव ल्याउने, नेपालीलाई उद्धार गर्ने, क्षतिपूर्ति रकम दिलाउनेजस्ता काम कन्सुलर विभागले गर्छ । विदेशबाट क्षतिपूर्तिको रकम आयो भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिन्छ । त्यसबाहेक कूटनीतिक नियोगलाई ड्युटी फ्री सामानको कोटा दिने, कूटनीतिक नम्बर प्लेटका गाडीको सिफारिस यातायात व्यवस्था विभागलाई पठाउनेजस्ता काम पनि यही विभागले गर्ने हो ।

त्यसमाथि विभागको बेथिती कस्तो छ भने, अधिकृतको तीन दरबन्दीमा पाँचजना राखेर तलब खुवाइएको छ ।

मिशनको बेहाल

केही समय विदेशका विभिन्न मिशनमा खटिएर पाँच जना नयाँ सहसचिव स्वदेश फर्किंदै छन् । लोकसेवाको परीक्षा उत्तीर्ण गरी सहसचिव भएका पाँचजनालाई अहिले समायोजन गर्नुहुँदैन भन्दै थप सहसचिवको आवेदन खुलाइएको छ । यसबारे कात्तिकमा मुद्दा पर्‍यो । सर्वोच्चले रिट निवेदकको मागअनुसार नै आदेश जारी गरिदियो । अहिले लोकसेवाले ७ सहसचिव र ८ उपसचिव माग गरेर विज्ञापन गरेको छ । मिशनमा कार्यकाल सकेर फर्किने सहसचिवलाई समायोजन नगर्ने, तिनलाई खालि मानेर अरुलाई बनाउने योजना छ ।

उता, राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल राजदूत हुने लाइनमा पुगेका छन् र राहदानी छपाईको ठेक्का टुंगो लगाएका छन् ।

 

टिप्पणीहरू