दीर्घलाई देखाएर कोकाकोला दंग

दीर्घलाई देखाएर कोकाकोला दंग

यतिखेर राजश्व अनुसन्धान विभागको महानिर्देशकमा दीर्घ मैनाली छन् । सहसचिवमा बढुवा हुनेबित्तिकै उनलाई राजश्वको महानिर्देशकमा पोष्टिङ गरिएको थियो । प्रधानमन्त्री कार्यालयअन्तर्गतको उक्त विभागमा दुई वर्षभन्दा बढी समयदेखि बसे । अहिले आन्तरिक राजश्व कार्यालयमा महानिर्देशक बनाएर लैजान खोज्दा सचिवहरूको दबाबमा सामान्य प्रशासन मन्त्रालयले सहमति नदिएर खोँचे थापेको मैनाली पक्षधरको आरोप छ ।

मैनालीलाई हुँदैन भनेपछि झक्कप्रसाद आचार्यले आन्तरिक राजश्व पाएका छन् भने सहसचिव रामप्रसाद आचार्य अर्थ छिर्न खोज्दैछन् । आचार्य अलि अगाडिसम्म काठमाडौंको सिडिओ थिए । मैनालीले राम्रैसँग छानबिन प्रक्रिया अघि बढाएको बहुराष्ट्रिय कम्पनी कोकाकोला नेपालमा दर्ता नभई सञ्चालनमा ल्याइएको रहस्य खुलेको थियो । उत्पादन र बिक्री कोकाकोलाको भए पनि नेपालमा दर्ता भने अर्कै कम्पनीको नाममा रहेको बताइन्छ ।

कोकाकोलाले रोयल्टीबापत हरेक वर्ष कूल कारोबारको २५ देखि ३० प्रतिशत रकम विदेश पठाउँदै आएको छ । हालै सिंगापुरमा कोकाकोला (बोटलर्स नेपाल) को १ अर्ब रूपैयाँ बराबरको सेयर नामसारी गरिएको छ । अमेरिकाको डेट्रोइटमा रहेको कोकाकोलाको हेडक्वार्टरस्थित एउटा कम्पनीले उक्त सेयर खरिद गरेको बताइन्छ । अहिले कोकाकोलाको सेयर खरिद बिक्री एनसेलको झैँ राजश्व चुहावट र पुँजीगत लाभकरको विषयसँग जोडिएको राजश्व विभागमा गाइँगुइँ हुन थालेको छ । मैनालीलाई तुहाउने खेल त्यसैको लागि भएको हुनसक्ने आकलन गरिएको छ ।

हुनतः कोकाकोलाको समग्र अनुसन्धान राजश्वले गरेपनि कर निर्धारणको निम्ति आन्तरिक राजश्व विभागमै जानुपर्छ । त्यस्तो अवस्थामा मैनाली त्यहाँ पुगेको अवस्थामा त्यो विषय खोतलेर कर निर्धारण गरिदिने र एनसेलले झैँ तिर्नुपर्ने अवस्था आउनसक्ने भएकाले त्यसैलाई ध्यानमा राखेर उनलाई छेकिएको आशंका गर्नेहरू पनि देखिएका छन् ।

कोकाकोलाको सबैभन्दा धेरै सेयर राजेन्द्र खेतानसँग थियो । उनी कोकाकोला, गोरखा ब्रुअरीलगायत कम्पनीको सेयर बेचेर सपरिवार सिंगापुर भासिइसकेका छन् । पीपी, सीपी र राजेन्द्र तीनै भाइ यताको बेचबिखन गरेर सिंगापुर सरेका हुन् ।

अहिले पनि राज खेतान भन्दै भूमिगत हिसाबले इन्स्योरेन्सको विवादित विषय चर्चामा आउने गरेको छ । राज खेतान तिनै राजेन्द्र हुन् जो यसअघि एभरेष्ट इन्स्योरेन्समा अध्यक्ष थिए । त्यही कम्पनीको काण्डमा धेरैजना जेल गए भने कतिको देहान्तसमेत भइसकेको छ । तर, मुख्य आरोपित खेतानले भने लुकिछिपी आफ्नो सबै काम फत्ते गर्दै आएको देखिन्छ ।

टिप्पणीहरू