ओलीका कार्यकर्ता प्रचण्डविरुद्ध सडकमा
नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नेकपा ओली समूहका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । स्वतन्त्र युवाको नाममा ओली समूहनिकट अनेरास्ववियूले शनिबार काठमाण्डौको सोह्रखुट्टे चोकमा प्रचण्डविरुद्ध प्रदर्शन गरेको हो ।
पब्लिक युथ क्याम्पसका बिद्यार्थी नेता अमित महतको नेतृत्वमा करिव तीन दर्जनको संख्यामा विद्यार्थीहरु सडकमा निस्किएका थिए । अध्यक्ष प्रचण्डले शुक्रबार एक अन्तरवार्तामा दिएको अभिब्यक्तिका विरुद्ध उनीहरुले चर्को नारावाजीसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘ओली बोल्दा भारत रिसाउने,प्रचण्ड बोल्दा भारत रिझाउने’, ‘जनताको पक्षमा बालुवाटार, भारतको पक्षमा खुमलटार’, ‘हाम्रो लिपुलेक फिर्ता दे,तिम्रो प्रचण्ड लैजा’, ‘लिम्पियाधुरा वारिको,प्रचण्ड पारीको’, ‘भारतलाई कम्फर्ट हुने सरकार नेपालीलाई होइन, दलाललाई चाहिएको हो’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरुले ‘प्रचण्ड चोर मूर्दावाद’, ‘राष्ट्रिय स्वाभिमान जिन्दावाद’, ‘भारतको मोटो सरकार चाहिदैन जस्ता नारा लगाएका थिए।
सरकार गठनको सन्दर्भमा ऋषि धमलाले सोधेको प्रश्नको जवाफमा प्रचण्डले आफूहरु, कांग्रेस र जसपाबीच गठवन्धन बन्ने र सो गठवन्धन भारत र चीनका लागि पनि कम्फरटेबल हुने बताउनुभएको थियो।
टिप्पणीहरू