किन गरिँदैछ सूर्य चिन्हमाथिको विवाद ?
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि विभाजित नेकपामा आधिकारिकतासम्बन्धी विवाद अझै टुंगिएको छैन । दुई चिरा भएको नेकपामा दुवै पक्षले फुटको अभ्यास गरिरहेका छन् तर विभाजनले कानुनी हैसियत पाएको छैन । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ । विवाद शुरु भएको झण्डै दुई महिना पुगिसक्दा पनि आयोगले निर्णय दिन सकिरहेको छैन । प्रधानमन्त्रीको दबाबमा अनिर्णित बनेको आरोप आयोगमाथि लागेको छ ।
त्यसैले राजनीतिक रुपले नेकपा एक ढिक्का छैन तर निर्वाचन आयोगले निर्णय नदिँदा फुटले आधिकारिकता पनि पाएको छैन । बहुमत पक्ष (प्रचण्ड–नेपाल) ले केन्द्रीय कमिटीको ६५ प्रतिशत भन्दाबढी संख्या आफूतर्फ रहेकाले पार्टीको नाम,झण्डा र चुनाव चिन्हको दाबीलाई स्वभाविक भनिरहेको छ भने ओली पक्षले पनि आफ्नो दाबी छोडेको छैन । प्रचण्ड–माधव पक्षले बहुमत सदस्य आफूतिर रहेकाले दाबी स्वाभाविक हुने बताईरहँदा ओली पक्षले भने विभाजनपछि पनि मूल हिस्सा आफैसँग रहेकाले दाबी नछाड्ने बताइरहेको छ ।
प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक कार्यक्रममा नेकपा विभाजन नभएको बरु एकता प्रक्रिया भङ्ग भएको टिप्पणी गर्नुभएको थियो । त्यसो भन्नुको आशय र अर्थ तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको र दुई पार्टी पूर्ववत अवस्थामा पुगेको भन्ने हो । तर, यथार्थमा भने त्यस्तो देखिँदैन ।
अहिलेको अंकगणितले ओली र माधव नेपालसँग बराबरको संख्यामा पूर्वएमालेका नेता–कार्यकर्ता रहेको देखाउँछ । पूर्व माओवादीका केही नेता ओलीतिर पनि लागेका छन् । यद्यपि ओलीले भने आफूलाई मात्र पूर्वएमालेको नेता मान्दै नेपाल प्रचण्डको कार्यकर्ता बन्न गएको अराजनीतिक टिप्पणी गर्नुभएको छ । सूर्य चिन्हको ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेर माधव नेपालतिर लागेका पूर्वएमालेका कार्यकर्ता आफूतिर तान्ने ओली समूहको रणनीतिअनुरुप नै यस्ता अभिव्यक्ति आएको बुझ्न कुनै कठिन छैन ।
आफ्ना आलोचकको हुर्मत लिन जे पनि गर्ने र बोल्ने प्रधानमन्त्री ओलीको सदाबहार शैली नै हो । उहाँले अहिले पटक पटक नेपालको हुर्मत लिनुको कारण पनि त्यहि हो । पूर्वएमाले र सूर्य चिन्हको नाममा इमोशनल कुरा गरेर आफ्नो पल्लाभारी बनाउन सकिन्छ कि भन्ने ओलीको अनुमान हुनसक्ने विश्लेषकहरू बताउँछन् । उहाँका अभिव्यक्तिले पनि त्यहि देखाउँछ ।
तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि पार्टीको मुख्य नेतृत्वमा पुग्नुभएका र लगातार डेढ दशकसम्म नेतृत्व गर्नुभएका नेपाललाई आफूले नेता बनाएको भन्नसमेत भ्याउनुभएको छ ओलीले । सूर्य चिन्ह पाउनैका लागि ओलीले इतिहासलाई तोडमोड गरेको पूर्वएमालेका एकजना पुराना नेता बताउँछन् । उनका अनुसार ओलीले आफूलाई नेपालभन्दा वरिष्ठ भन्दै प्रचार गर्नु र सूर्य चिन्हबारे गलत जानकारी दिनु इतिहासको भद्दा मजाक बाहेक अरु केही होइन ।
यस्तो छ सूर्य चिन्हको इतिहास:-
अहिले नेकपाको चुनाव चिन्हको रुपमा रहेको सूर्यको इतिहास त्यति लामो भने देखिँदैन । भूमिगत राजनीति गरिरहेको तत्कालीन नेकपा मालेले पञ्चायती चुनावलाई उपयोग गर्ने सन्दर्भमा सूर्य चिन्हको प्रयोग भएको थियो । मालेले राष्ट्रिय पञ्चायतमा आफ्ना जनपक्षीय प्रतिनिधि पठाएर पञ्चायतको भण्डाफोर गर्ने कार्यनीतिसँग सूर्य चिन्हको इतिहास जोडिएको पाइन्छ । त्यतिबेला दलको अस्तित्व नरहेकाले पार्टीका उम्मेदवारहरूको फरक–फरक चुनाव चिन्ह हुन्थ्यो । शुरुमा सूर्य चिन्ह मालेले उठाएको जनपक्षीय उम्मेदवार पदमरत्न तुलाधरले पाउनुभएको थियो । काठमाडौँबाट निर्वाचन लड्नु भएका तुलाधरले अत्यधिक मत ल्याएपछि सूर्य चिन्ह काठमाडौँमा लोकप्रिय भएको हो । ओली त्यतिबेला जेलमै हुनुहुन्थ्यो ।
२०४६ सालको आन्दोलनपछि देशमा बहुदल आयो । आधिकारिक रुपमा दल दर्ता हुन थाले । लगत्तै ०४८ सालको निर्वाचनमा एमाले नामबाट दल दर्ता भयो । माले र मार्क्सवादीबीच एकता भएर एमाले बनेको थियो । त्यतिबेला एमालेले चुनाव चिन्ह छनोट गर्ने मौका पायो । एमालेको तर्फबाट संविधान मस्यौदा समितिको सदस्यसमेत रहनुभएका माधव नेपालले निर्वाचन आयोगमा गएर सूर्य चिन्ह छनोट गरेको नेकपा नेता गंगालाल तुलाधरले बताउनुभयो । त्यतिबेलादेखि नै सूर्य चिन्ह आधिकारिक रुपमा माले र एमालेको हुँदै अस्तित्वमा आएको देखिन्छ ।
लामो इतिहास,उच्चारण गर्न सजिलो र जनजिब्रोमा बसिसकेको हुँदा एमाले–माओवादीबीच एकतापछि पनि सूर्य चिन्हलाई नै पार्टीको चुनाव चिन्ह कायम गर्न नेताहरू सहमत भएको तुलाधरको भनाई छ । इतिहास,लोकप्रियता र सरल नामका कारण सूर्य चिन्ह पार्टीमा सबैले स्वीकारेको भन्दै उहाँले कुनै सैद्धान्तिक, वैचारिक विवाद नभएको प्रष्ट पार्नुभयो । ‘अलि लामो इतिहास भएको, छोटो शब्द,सरल नाम र जनजिब्रोमा स्थापित भएकाले सूर्य चिन्हलाई नै आधिकारिक मान्ने सहमति भएको हो । यसमा कुनै ठूलो सैद्धान्तिक, वैचारिक विवाद छ भन्ने लाग्दैन,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सूर्यबाहेक अरु चिन्हबाट चुनाव नलडेको बताइरहँदा तत्कालीन एमालेका अधिकांश नेताहरूले सूर्यबाट मात्रै चुनाव लडेको इतिहास देखिन्छ । ०५४ सालमा मालेतिर लागेका केही नेताबाहेक अन्य सबैले सूर्यबाटै चुनाव लडेको इतिहास हेर्दा प्रष्ट हुन्छ । आफूलाई मात्र केन्द्रमा राखेर कुरा गर्नु ओलीको प्रवृति नै हो, उहाँले भनेजस्तो अरुले चाहिँ सूर्यबाहेकको चिन्हबाट चुनाव लडेको छ र ?,’ तुलाधरले भन्नुभयो ।
तुलाधरले सूर्य चिन्ह मदन भण्डारीको दूरदृष्टि र माधव नेपालको सक्रियताको उपज मान्न सकिने बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीको भने सूर्य चिन्हबाट चुनाव लड्नेबाहेक अरु कुनै भूमिका नै थिएन । अहिले सूर्य चिन्हप्रतिको ओलीको आशक्तिलाई तुलाधरले कमजोर बनेपछिको छटपटीका रुपमा बुझ्नुपर्ने बताउनुभयो । ‘ओलीजीको सूर्यप्रतिको अहिलेको आशक्ति चाँहि इमोसनल कुरा गरेर आफ्नो पक्षमा पल्लाभारी गर्ने प्रयास मात्र हो । सूर्य चिन्ह स्थापित गर्न यसअघि उहाँको कुनै समर्पण,त्याग र योगदान थिएन,’ उहाँले भन्नुभयो ।
ओलीकै कारण सूर्य चिन्ह ‘फ्रिज’ हुनसक्ने
तुलाधरले प्रधानमन्त्री ओलीकै कारण सूर्य चिन्ह फ्रिज हुनसक्ने खतरा औंल्याउनुभयो । ‘ओलीजीमा सृजनात्मकताभन्दा पनि ध्वंसात्मक क्षमता बढी छ । त्यसैले आफूले नपाउने अवस्था आएपछि अर्को पक्षलाई पनि नदिने गरी उहाँले फ्रिज गराउन सक्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, हामी त्यस्तो षड्यन्त्रलाई सफल हुन दिँदैनौं ।’
उहाँले ओलीको निर्देशनमा निर्वाचन आयोगले पनि त्यस्तै संकेत दिएको बताउनुभयो । अनौपचारिक छलफलमा चिन्ह र नाम फ्रिज गराएर आफूहरूलाई पार्टीविहीन बनाउने आयोगले संकेत गरेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘हामीलाई दलविहीन बनाउने र आफूले चाँहि सन्ध्या तिवारीका नाममा दर्ता भएको पार्टी र उदाउँदो सूर्य चिन्ह लिने ओलीको षड्यन्त्र थियो । हामीले त्यसलाई चकनाचुर पारिदियौँ ।’
आयोगले केही दिन ढिलाई गरेपनि अन्ततः आफूहरूलाई नै दलको आधिकारिकता दिने पनि उहाँको विश्वास छ । संसद बैठकसम्म विवाद हल नगर्ने आयोगको तयारी रहेको पनि उहाँले बताउनुभयो । ‘संसदमा हामीलाई तिमीहरूको दल खोई ? भन्ने बनाउने बालुवाटारको रणनीति हो, आयोगले त्यसैका लागि केही दिन अझै ढिलाई गर्ने देखिन्छ, तर सँधै त्यसरी चल्दैन,’ उहाँले भन्नुभयो ।
चुनाव चिन्ह फ्रिज गराउने र चिन्हका बारेमा तोडमोड गर्ने षड्यन्त्रहरू विस्तारै कमजोर हुँदै गएको भन्दै तुलाधरले अन्ततः कानुनअनुसार बहुमत पक्षले नै दलको आधिकारिकता पाउने र त्यो नै स्वाभाविक हुने बताउनुभएको छ ।
टिप्पणीहरू