झापाली “मार्सी”झमेलामुक्त

झापाली “मार्सी”झमेलामुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा जुम्लाको मार्सी चामलको ‘भुजा ज्यूनार’ गराएको सुखद् नतिजा दुर्गा प्रसाईंले पाएका छन् । झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार बसेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले सम्बन्धन दिने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले लामो समयदेखि रोकिएको उक्त कलेजको सम्बन्धनको विषयलाई फुकुवा गरिसकेको छ ।

बुधबारको सिनेट बैठकमा प्रस्ताव नम्बर ३९८/०७७ विविधअन्तर्गत (ख) बुँदामा बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनबारे छलफल भएको उल्लेख गर्दै माइन्युटमा लेखिएको छ ‘झापास्थित बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेण्टरले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत् काठमाडौं विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको सन्दर्भमा सहकुलपति एवम् शिक्षा मन्त्रीबाट विश्वविद्यालयले निर्णय गरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो ।’

२०७३ फागुन १५ गतेदेखि रोकिएको उक्त कलेजको सम्बन्धन प्रक्रियालाई पुनः अघि बढाउन गत वर्ष चिकित्सा शिक्षा आयोगमा निवेदन परेको थियो । शिक्षा मन्त्री र प्रधानमन्त्रीको सम्बन्धन दिने मनशायको ठाडो निर्देशन सुनेपछि सोही विषयलाई उठाउँदै सिनेट बैठकमा उपस्थित स्कुल अफ मेडिकलका डीन प्रा.डा. राजेन्द्र कोँजुले सम्बन्धनसम्बन्धी विषय राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र पर्ने बताएका थिए ।

तर,कोजुको भनाईलाई लत्याउँदै सहकुलपति एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रीपरिषद्बाट यसअघि रोकिएको सम्बन्धनसम्बन्धी विषय हालै फुकुवा भइसकेको समेत सभासमक्ष जानकारी गराउनुभएको माइन्युटमै लेखिएको छ । यसबाट पनि प्रसाईंले कलेजको सम्बन्धनप्राप्तीको निम्ति पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर प्रधानमन्त्री ओलीतिर लागेको समाचार पुष्टि भएको छ ।

काठमाडौं विश्वविद्यालय सिनेटको पछिल्लो बैठकको माइन्युटमा लेखिएको छ ‘झापास्थित बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेण्टरले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत् काठमाडौं विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको सन्दर्भमा सहकुलपति एवम् शिक्षा मन्त्रीबाट निर्देशन भएअनुरूप त्यस बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेण्टरको सम्बन्धनको विषयबारे बैठकमा छलफल हुँदा उक्त संस्थाको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय भयो ।’

प्रचण्डलाई छाडेर ओलीलाई सपोर्ट गर्दा माइन्युटमा शिक्षामन्त्रीको भनाइ नै उल्लेख गरेर आफ्नो कलेजको सम्बन्धन प्राप्त गर्न आवश्यक निर्णय गराउन प्रसाईं सफल भएका छन् । विश्वविद्यालय स्रोत भन्छ- ‘प्रधानमन्त्री र शिक्षा मन्त्रीले नै काँध हालेपछि काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा र दुर्गा प्रसाईंको रोडम्याप सदर नहुने कुरै भएन ।’

यसअघि उक्त विश्वविद्यालयका तत्कालीन उपकुलपति सुरेशराज शर्मा र रामकण्ठ माकजुले समेत प्रसाईंको कलेजलाई सम्बन्धन दिनबाट रोक्दै आएका थिए । अहिले पनि विश्वविद्यालयका डिन कोजुले यसरी सोझै सम्बन्धन दिन नहुने र चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार मिच्न नहुने बताउँदा बताउँदै मन्त्री श्रेष्ठ र प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा मार्सी चामलको भुजा ज्यूनार गराउने प्रसाईंलाई गुन लगाएर छाडिएको छ ।

टिप्पणीहरू