मधेसी नेताहरूलाई प्रचण्ड-माधवको ब्रिफिङ्ग “तपाईंहरुले पनि उल्टै त्यसो भन्ने ?”
प्रतिनिधिसभा पुनर्स्थापना हुने सर्वोच्च अदालतको फैसलापछि राजनीतिक दलहरू नयाँ समिकरणको जोडघटाउमा लागेका छन् । यसक्रममा बिहीबार दिउँसो जनता समाजवादी पार्टीका नेताहरू नेकपा प्रचण्ड–नेपाललाई भेट्न पेरिसडाँडा पुगेका थिए । नेकपा व्यवहारमा दुईटा र कागजमा एउटा भन्दै हँसिमजाक गरेपछि जसपाका नेताहरूलाई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले बेलिबिस्तार लगाउँदै भन्नुभयो ‘हामी बहुमतमा छौं । हामीले केपी ओलीलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट हटाइसकेका छौं । उनलाई हटाएको जानकारी निर्वाचन आयोगलाई पटक पटक दिएका छौं । सबै पुराना नियम, कानुन र नजिरबाट समेत बहुमतले मान्यता पाइसक्नुपर्ने हो । चुनावमा समेत एक भोट बढी पाएकालाई नै विजयी घोषणा गरिन्छ । तर, निर्वाचन आयोगले सोबमोजिम निर्णय नगरी आफैँ अनिर्णयको बन्दी बनिरहेको छ । बहुमतको कुरा,विधि र प्रक्रिया मिचिरहेको छ ।’
त्यति कुरा राखिसक्दा पनि जसपाका नेताहरूले बुझेझैँ नगरेपछि उहाँहरुले थप्नुभएको थियो ‘तपाईंहरूले पनि एउटा जिम्मेवार राजनीतिक दलको नाताले निर्वाचन आयोगलाई पो सोध्ने वा दबाब दिने हो । नेकपाको विवाद छिटो टुंग्याऊ भन्ने हो । विधि र लोकतन्त्रको कुरा गर्दा तपाईंहरूले हामीलाई तपाईंको पार्टी कुन भनेर सोध्ने हो र ? अनि हामीलाई नै यस्तो उस्तो भनिरहँदा मन दुख्छ नि ! आँखै अगाडि यस्तो अन्याय भएको थाहा पाउँदा पाउँदै त्यस्ता कुरा गरिदिन भएन !’
बिहीबार पेरिस डाँडामा भेट्न आएका जसपाका नेताहरू महन्थ ठाकुर,राजेन्द्र महतोलगायतलाई उहाँहरूले आफ्नो दुःखेसो र गुनासो पोख्दै ती कुरा राख्नुभएको हो । प्रधानमन्त्रीले पुस ५ गते हठात् संसद विघटन गर्न खोजेसङ्गै त्यसविरुद्ध अविश्वास प्रस्ताव सामूहिक रूपमा लैजाऔं भन्दा काँग्रेसले नमानेको र आन्दोलन संयुक्त रूपमा गरौं भन्दा समेत तर्किएको उहाँहरूले स्पष्ट पार्नु भएको थियो । अहिले सर्वोच्चको फैसलापछि उत्पन्न फरक परिस्थितिमा समेत सङ्गै जान आनाकानी गरेकोमा काँग्रेसप्रति उहाँहरूले चित्त दुःखाउनु भएको जसपाका एक जना नेताले बताए ।
दाहाल र नेपालको भनाई उद्धृत गर्दै ती नेताले भने ‘हामी उहाँहरूलाई सँगै आन्दोलन गरौं, संयुक्त सरकार र अलोकतान्त्रिक तथा असंवैधानिक कदमविरुद्ध संविधान रक्षाको खातिर मिलेर जाऔं भनिरहेका छौं । मिल्ने कुरामा कहिल्यै कञ्जुस्याईं गरेनौं, आनाकानी गरेनौं तर नमिल्ने को थियो ? नमिलेको को हो ?’ भन्ने बारे जसपा पनि प्रष्ट हुनुपर्यो ।
नेकपाका अध्यक्षद्वयको भनाई थियो ‘हामी रिजिड छैनौं, जसमा सहमति हुन्छ त्यसैमा अघि बढ्ने हो । हामी दृढ निश्चयी छैनौं त्यसैले सहमतिमा जो प्रधानमन्त्री बनेपनि स्वीकार्य छ । तर, मिलेर जाऔं । अविश्वास प्रस्ताव पनि आवश्यकता परेको अवस्थामा पुरानो दर्ता भएकोलाई झिकेर नयाँ लैजानसमेत तयार छौं । त्यसैले संयुक्त रूपमा नै लैजाऔं । किनभने यो कुनै व्यक्तिसँगको रिस होइन,कोही कसैसँग हाम्रो आग्रह वा पूर्वाग्रह पनि होइन ।’
दाहाल र नेपालले जसपाका नेताहरूसँग अहिलेको यो प्रणाली भत्काउने कि जोगाउने भन्ने लडाईंमा हामीलाई तपाईंहरूको साथ चाहियो भन्दै वस्तुवादी भएर प्रस्तुत भइदिन आग्रह गर्नुभएको थियो । उहाँहरूले भन्नुभयो ‘भएको कुरा जे हो त्यहि रूपमा बुझिदिनुपर्यो । काँग्रेसले पनि त्यहि भन्ने,तपाईंहरूले पनि त्यहि भन्ने र निर्वाचन आयोगले पनि त्यहिअनुसार गर्ने हो भने हाम्रो मन दुःख्छ । यसो नगरिदिऊँ । तपाईंहरूलाई वास्तविकता थाहा छ । त्यसैले यस्तो अवस्थामा मिलेर जान पाए,धेरै हदसम्म सहज हुने थियो । तर परिस्थिति त्यही रूपमा विकसित भइरहेको छैन ।’
उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमा अझै पनि पेलेर,हठ देखाएर र मै हुँ भन्ने सर्वसत्तावादको भूत सवार रहेको चर्चा गर्दै त्यसलाई चिर्न पनि अन्य राजनीतिक दलबीच कार्यगत एकता हुनुपर्ने अवस्था रहेको बताउनुभएको थियो ।
संविधान संशोधनको प्रसंग उठेपछि दाहाल र नेपालले ‘हिजो दुई तिहाई मत दिएर मधेशवादी दलले समर्थन गरेकै हुन् । त्यतिबेला संसदमा २ सय ८ मत त्यत्तिकै पाइएको थिएन । ओलीलाई काँग्रेस बाहेक सबैले विश्वासको मत दिएका थिए । आज ती सबै योगदान र सहयोग पानीको फोका सरह बनेका छन् ।’
हिजो रेशम चौधरीको मुद्दा फिर्ता नलिने को थियो ? संविधान संशोधन गर्न नमान्ने को थियो ? भन्दै बैठकमा नेकपाका नेताहरूले ती सबै गर्ने अरु कोही नभएर प्रधानमन्त्री केपी ओली स्वयम् रहेको बताउनुभएको थियो । उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा फाल्ने को थियो ? कुनै कुराको सुनुवाई नगर्ने, हुर्मत् लिने र पेल्ने, अपमानित गर्ने काम कसले गरेको थियो ? भन्ने उदाहरण दिएपछि नेता दाहाल तथा नेपालले जसपाका नेताहरूलाई भन्नुभयो ‘यी सबै कुरामा तपाईंहरूले निधार खुम्चाएर सोच्नुपर्ने बेला आएको छ ।’
टिप्पणीहरू