किन पोखिए पूर्व प्रमुख निर्वाचन आयुक्तहरू

किन पोखिए पूर्व प्रमुख निर्वाचन आयुक्तहरू

आफू सम्बद्ध सँस्था अनिर्णयको बन्दी बन्दा पूर्व प्रधानन्यायाधीशहरु ताते झैं पूर्व प्रमुख निर्वाचन आयुक्तहरू पनि आफ्ना साझा धारणासहित मैदानमा ओर्लिएका छन् ।राजनीतिक दलको विवाद निरूपणमा ढिलाई गरेको कारण आयोगको निर्णय क्षमता र स्वायत्तताबारे उठेका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको उनीहरूको भनाइ छ । पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ,भोजराज पोखरेल, नीलकण्ठ उप्रेती,डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङद्वारा आज प्रकाशित संयुक्त विज्ञप्तिमा आयोगले गरेको अनावश्यक ढिलाइले आफूहरूलाई समेत गम्भीर बनाएको बताइएको हो ।

नेकपाको विवादलाई समयमा निरूपण नगरी आयोग अनिर्णयको बन्दी बनेको ठहर गर्दै भनिएको छ ‘त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै साखमा पर्नसक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजीरहरूका आधारमा समेत यस विषयमा उपर्युक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कदम विवादास्पद र असंवैधानिक भएपछि संवैधानिक अंगका पूर्व प्रमुखहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरेर सम्बन्धित निकायलाई सचेत गराउनुपर्ने अवस्था बढ्दै गएको छ । गत महिना भूतपूर्व प्रधानन्यायाधीशरुले त्यसैगरी सचेत गराउनुपरेको थियो ।

सामान्यतयाः कुनैपनि संवैधानिक अंगका पूर्वप्रमुखहरूले यसरी संयुक्त विज्ञप्ति जारी गर्दैनन् । तर, आफूले योगदान गरेको संस्था र निकायले प्रचलित कानुन र नियम विपरितका निर्णय हुनसक्ने वा निर्णय नै नगर्ने प्रवृत्ति देखिएको अवस्थामा पूर्वअधिकारीहरूले सचेत गराउनुलाई गम्भीर रूपमा लिइन्छ ।

टिप्पणीहरू