सिटिजन्ससँग कारोबार गर्नेहरु संकटमा

सिटिजन्ससँग कारोबार गर्नेहरु संकटमा

सिटिजन्स बैंक इन्टरनेशनलले मिलेमतोमा गरेको कर्जा प्रवाह र राष्ट्र बैंकले आफ्नै कर्मचारीको विशेष निरीक्षण प्रतिवेदनलाई धोती लगाउँदै उसका अध्यक्षलगायत वरिष्ठ कर्मचारीलाई दिएको उन्मुक्तिसम्बन्धी थप विवरण प्राप्त भएको छ ।

जनआस्थासँग रहेको सिटिजन्स बैंकको तीन वर्षअघिको विशेष निरीक्षण प्रतिवेदनअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरलाई २०७२ फागुन २९ गते विभिन्न अचल सम्पत्ति प्रयोजनको लागि ३५ करोड २१ लाख ९१ हजार ८ सय १ रुपैयाँको कर्जा स्वीकृत गरिएको थियो ।  उक्त रकम तत्कालीनप्रमुख कार्यकारी अधिकृत तथा हालका अध्यक्ष राजनसिंह भण्डारीसहितले स्वीकृत गरेको भोलिपल्टै दुरुपयोग भएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

वेभसर्भरका सुरेन्द्र क्षेत्रीले नक्कली व्यक्ति बनाई कम्पनीको कर्जा चन्द्रबहादुर अधिकारी, श्यामबहादुर श्रेष्ठ, सुशील सिंह, सुजित मण्डल, भूपेन्द्र सिजापति, अर्जुन तिवारी, ईश्वर भुजेल, प्रमोद अधिकारी, रमेश दवाडी, विदुर रावत, सन्तोष तुलाधर, महेश श्रेष्ठ, उमा भुजेल, सञ्जय धिताल, घनश्याम गौतम, रविन्द्र भट्टराई, रमेश फुयाँल, प्रेमेन्द्र श्रेष्ठ, राम भट्टराई, सुजित झा र विशाल ढकालको नामबाट ४९ लाख रुपैयाँको दरले झिकेका थिए । रमेश दवाडीको नामबाट भने बाँकी २० लाख झिकेर तत्काल आफ्नो खातामा १० करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । ती सबै चेकमा वेभसर्फरको तर्फबाट सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीले दस्तखत गरेका छन् । तर, राष्ट्र बैंकको निर्देशन विपरीत भएको उक्त कारोबारप्रति सिटिजन्स बैंकले कुनै सावधानी र सतर्कता नअपनाउनु रहस्यमय भएको स्रोतले बताएको छ । भ्रष्टहरुकोे कालोधन थुपार्ने र उनलाई अपठ्यारो पर्दा जेगाउने यही बैंक हो ।  सशस्त्र प्रहरीका आइजीपीहरुसहित २ दर्जन हाकिम घोटाला काण्डमा पर्दा तुरुन्तै बैंक ग्यारेन्टी दिने यही बैंक हो ।

बैंकले कम्पनीलाई ३५ करोड रुपैयाँको कर्जा स्वीकृत गर्नुअघिको वित्तीय विवरण र त्यसको विश्लेषणसमेत गलत पुष्टि हुन आएको छ । वेभसर्भरको आर्थिक वर्ष ०७२÷७३ को वासलातमा कम्पनीमा वैदेशिक लगानीबापतको रकम ५ करोड २० लाख ५५ हजार ५ सय ८८ रुपैयाँ देखिन्छ । तर, यसरी प्राप्त रकमको निम्ति कुनै पनि निकायबाट स्वीकृति लिएको नदेखिँदासमेत सिटिजन्सले कर्जा स्वीकृतिको प्रक्रियामा उक्त विवरण जानाजानी उल्लेख नगरेको स्रोतले जानकारी दिएको छ ।

वेभसर्भरले २०७४ असोज मसान्तमा सिटिजन्स बैंकमा पेश गरेको विवरणमा ऐन विपरीत आफ्ना सञ्चालकलाई ८ करोड ६८ लाख ७१ हजार २ सय ४२ रुपैयाँ ऋण दिएको उल्लेख छ । कम्पनी ऐन २०६३ को दफा १०१ उल्लंघन भएको उक्त व्यवस्थालाई आँखा चिम्लिएर सिटिजन्सले उल्टै पाँच गुणा बढी रकम बराबरको कर्जा प्रवाह गर्नु जोखिमको दृष्टिले निकै खराब रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

यसरी सेटिङमा कर्जा प्रवाह गरिँदा पनि बैंकका हर्ताकर्ताले उन्मुक्ति पाउनु सबैभन्दा अचम्म भएको सिटिजन्सका कर्मचारीले बताएका छन् । भण्डारी, हालका सीईओ गणेशराज पोखरेल, प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री तथा प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्लेको मिलेमतोमा भएको त्यतिबेलाको सिफारिस र निर्णयले मुन्तिरका कर्मचारीलाई काम गर्न निकै अप्ठ्यारो परेको स्रोतले बताएको छ । जोखिम घटाउन स्थापित बैंकको आन्तरिक लेखापरीक्षण विभाग पनि भण्डारी र पोखरेलको निर्देशन पालनामा लिप्त भएपछि वेभसर्भरजस्ता धेरै वटा कम्पनीसँग साँठगाँठमा कर्जा प्रवाह भएको तथ्य फटाफट बाहिर आउन थालेका हुन् ।

बैंकको आन्तरिक लेखापरीक्षण विभागका प्रमुख राष्ट्र बैंकबाट दुई दशकअघि अनिवार्य अवकाशप्राप्त कर्मचारी हुन् । शारीरिक रूपमा अशक्त उनी सम्भवतः बैंकिङ क्षेत्रमा कार्यरत सबैभन्दा बृद्ध कर्मचारी हुन् । लाए अह्राएको काम गर्ने र व्यवस्थापनले तयार गरेको कागजातमा हस्ताक्षर धस्काउनेबाहेक उनीबाट माखो नमर्ने भएपछि बैंकको आन्तरिक नियन्त्रण र जोखिम प्रणाली ध्वस्त भएको कर्मचारीको बुझाइ छ । तर, त्यही बैंकको जनकपुर शाखामा कार्यरत दुईजना करार कर्मचारीले माथिको आदेश पालना गर्दा जागिरबाट हात धुनुपरेको छ । ढुकुटीको बीमाको सीमाभन्दा बढी रकम राष्ट्र बैंकमा जम्मा गर्न लैजाने क्रममा चलनचल्तीको निम्ति योग्य नोटलाई नियतवशः च्यातेको आरोपमा तिनले हात धुनुपरेको हो । उक्त घटनामा सिटिजन्स बैंकको झण्डै २२ लाख रुपैयाँ राष्ट्र बैंकले जफत गरेर कारबाही गरेको थियो । पछि नसिहत दिइएको राष्ट्र बैंक, जनकपुर कार्यालयका एकजना अधिकृतले बताएका छन् ।

हाकिमको निर्देशनबमोजिम काम गर्दा जागिर चैट भएका तल्लो तहका ती कर्मचारीलाई उधृत गर्दै स्रोत भन्छ, ‘माथिल्लो तहका हाकिम र व्यवस्थापनले सिकाएको काम गर्दा राष्ट्र बैंकको सामुन्ने बलिको बोको करार कर्मचारी बनेका हुन् ।’ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) र राष्ट्र बैंकको एकीकृत निर्देशनको धज्जी उडाउने सिटिजन्सका अध्यक्ष, सीईओ र अन्य वरिष्ठ कर्मचारीलाई जोगाउने त्यही राष्ट्र बैंकले सिटिजन्स जनकपुरका तल्ला तहका कर्मचारीको कमजोरी र दोष कसको निर्देशनमा भएको थियो भन्नेतर्फ कुनै ध्यान नदिएकोमा दुःखेसो पोखेका छन् ।

– द्रव्य शाह

टिप्पणीहरू