प्रधानमन्त्रीको अकस्मात सोच परिवर्तन

प्रधानमन्त्रीको अकस्मात सोच परिवर्तन

प्रधानमन्त्री ओलीको अति विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन र बैशाखमा निर्वाचन गराउने प्रस्तावलाई सर्वोच्च अदालतले अस्वीकार गरेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाए पनि पछि ‘माइण्ड चेञ्ज’ भएको खुलासा गर्नुभएको छ ।

औपचारिक रुपमा प्रधानमन्त्रीको कदमको पूर्ण समर्थन गर्दै आउनुभएका पोखरेलले फागुन ११ गतेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने चर्को आवाजको समेत प्रतिवाद गर्दै आउनुभएको छ । तर, अनौपचारिक रुपमा नेकपाक अर्को पक्षका नेताहरुसँगको भेटमा उहाँले ‘सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गराएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने सोचमा हुनुहुन्थ्यो’ भन्नुले अहिले बालुवाटार एक सय असी डिग्री उल्टो फर्किएको प्रष्ट भएको छ ।

‘कुरो त ठीकै हो,पहिले पनि त्यस्तै सोचेको हो । यो (अदालतको फैसला) भएपछि
राजीनामा दिनुहुन्छ भन्ने लागेकै थियो । तर…’

काम विशेषले काठमाडौं आउनुभएका पोखरेलसँग हिजो दिउँसो सिंहदरबारमा पूर्वमन्त्री तथा स्थायी समिति सदस्य घनश्याम भुसालको जम्काभेट भएको थियो । जम्काभेटमा सञ्चो बिसञ्चोसँगै दुवैजनाले विकसित राजनीतिक घटनाक्रमको बारेमा चासो राखेपछि ‘लौ त नि बसेर यसो गफ गरौं’ भन्दै संसद सचिवालयका महासचिवको कार्यालयतिर लाग्नुभएको थियो ।

पोखरेलको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘एकता भएको भए राम्रो हुन्थ्यो तर उहाँ (ओली) लाई कमजोर पारेर कसरी अघि जान सकिन्छ र !,’ उहाँको आशय थियो ‘प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई कायम राखेर अघि बढ्नुपर्छ ।’ प्रत्युत्तरमा भुसालले ‘एकताको लागि वार्ता शुरु गर्न पहिले प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ भनेपछि पोखरेलले ‘कुरो त ठीकै हो,पहिले पनि त्यस्तै सोचेको हो । यो (अदालतको फैसला) भएपछि राजीनामा दिनुहुन्छ भन्ने लागेकै थियो । तर…’

पोखरेलले भनाई राखिरहँदा उहाँमा कुनै हतासा नदेखिएको स्रोतले दाबी गरेको छ । सर्वोच्च अदालतको फैसलापछि बालुवाटारले आफ्ना कुरा राख्दा कसैलाई पनि हतासको भावना नदेखाउन बारम्बार आग्रह गर्दै आएकाले पनि पोखरेलमा त्यो देखिएको बताइन्छ ।

टिप्पणीहरू