काँग्रेस बैठक ल्होत्सेमा

काँग्रेस बैठक ल्होत्सेमा

विकसित राजनीतिक घटनाक्रम र पर्सि बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका निश्चित गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रम र प्रतिनिधिसभामा काँग्रेसको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको सांसद राजेन्द्रकुमार केसीले जानकारी दिए । उनका अनुसार बैठकमा दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई अहिलेको समग्र राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने र उनीहरुसँग राय लिइने छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्ष गरेको नेपाली काँग्रेस प्रतिनिधिसभा पुनःस्थापनापछि भने अलमलमा देखिन्छ । नेकपाको विभाजनले कानुनी मान्यता नपाउँदा निर्णय गर्न अप्ठेरो परेको काँग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

काँग्रेसमा नेकपाको कुन पक्षलाई साथ दिने भन्नेमा पनि एकमत देखिँदैन । सभापति देउवा पक्षका नेताहरु सरकारको नेतृत्व गर्ने अवसर आए छोड्न नहुने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु प्रतिपक्षमै बस्नुपर्ने अडानमा छन् । नेकपा (प्रचण्ड–नेपाल) ले काँग्रेसलाई सरकारको नेतृत्वको प्रस्ताव गरिसकेको छ । ओली पक्ष पनि काँग्रेसलाई मनाएर यहि सरकारलाई निरन्तरता दिने प्रयासमा लागिपरेको छ ।

टिप्पणीहरू