दश वर्षदेखि ओली-विप्लव वार्ता ?

दश वर्षदेखि ओली-विप्लव वार्ता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको सहमति १० वर्षदेखिको प्रयासको मूर्तरुप भएको दावी गर्नुभएको छ । १० वर्षअघि आफू र विप्लवबीच भेटको सन्दर्भ उल्लेख गर्दै उहाँले त्यतिबेला नै गम्भिरतापूर्वक कुराकानी गरेको बताउनुभयो ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा ओलीले भन्नुभयो, ‘८–१० वर्ष अगाडि भेटेरै हामीले बहुत गम्भीरतापूर्वक वार्ता गरेका थियौँ । त्यसैबेलादेखि हाम्रोवीचमा आपसी विश्वास थियो । आजको स्थिति भनेको त्यहि विश्वासको मूर्त रुप हो ।’

अब मुलुकमा कुनैपनि हिंसात्मक द्वन्दको अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले देश शान्तिको युगमा प्रवेश गरेको घोषणासमेत गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले शान्तिपूर्ण राजनीतिमा आउने विप्लवको कदमलाई साहसिक भन्दै प्रशंसा गर्नुभयो । ‘मुलुकले अब शान्तितर्फ ठूलो फड्को मारेको छ । यसका लागि साहसिक कदम चाल्नुभएकोमा म विप्लवजीलाई विशेष धन्यवाद भन्न चाहन्छु । तपाईंले ऐतिहासिक योगदान गर्नुभएको छ ।’

देशको सम्बृद्धि र विकासका लागि शान्तिको वातावरण आवश्यक हुने भन्दै प्रधानमन्त्री ओलीले अब त्यो वातावरण बनेको समेत दाबी गर्नुभयो । ‘समृद्ध नेपाल,सुखी नेपाली’ का लागि शान्तिपूर्ण वातावरण चाहिन्छ । अब मुलुकमा त्यो वातावरण बनेको छ । त्यसैले यो ऐतिहासिक काम हो । यसका लागि म विप्लवजीलाई बधाई भन्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

विप्लवको एउटै कदमले नेपाली जनताको मन जितेको भन्दै ओलीले यो कदम फोर्सल्याण्डिङ नभई सेफ ल्याण्डिङ भएको पनि बताउनुभयो । ‘यो फोर्सल्याण्डिङ होइन,क्र्यासल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो,’ओलीले भन्नुभयो, ‘यो साहसिक कदम हो ।’

टिप्पणीहरू