विप्लवसँगको सहमतिलाई पर्ख र हेरमा राखेका छौं : मोहन वैद्य

विप्लवसँगको सहमतिलाई पर्ख र हेरमा राखेका छौं : मोहन वैद्य

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिबारे नेकपा (क्रान्तिकारी माओवादी) ले तत्काल प्रतिक्रिया नदिने जनाएको छ ।  तीन बुँदे सहमतिलाई क्रान्तिकारी माओवादीले ‘पर्ख र हेर’ का रुपमा लिएको छ । सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले सहमतिबारे प्रष्ट कुरा नआउँदासम्म प्रतिक्रिया दिन हतार हुने बताउनुभएको हो ।

उहाँले वार्ता र संवादमार्फत आफ्ना कुरा राख्न खोज्नु राजनीतिमा सकारात्मक भएपनि के विषयमा सहमति भयो भन्ने पक्षले बढी महत्व राख्ने बताउनुभयो ।

विप्लवहरुले भन्ने गरेको एकीकृत जनक्रान्ति वार्ताका माध्यमबाट सम्भव होला त भन्ने जनआस्थाको प्रश्नमा महासचिव वैद्यले अहिले नै भन्न नसकिने जवाफ दिनुभयो । ‘वार्ता गर्ने नगर्ने उहाँहरुको कुरा हो, हामीले भन्दा देश र जनताको पक्षमा सहमति हुँदा राम्रै हुन्छ,यदि देश,जनता र रुपान्तरणका पक्षमा छैन भने त्यो गलत हुन्छ । अहिले समग्र पक्षका बारेमा जानकारी नभइसकेको हुँदा यसै हो भन्न सकिँदैन । सबै कुरा आएपछि थप प्रतिक्रिया दिउँला,’ उहाँले भन्नुभयो ।

बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो । विप्लवका तर्फबाट वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सरकारी टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हस्ताक्षर गरेको सहमतिपत्रमा विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान वार्ताबाट खोज्ने,सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले लगाएको प्रतिबन्ध हटाउनुका साथै सबै बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने उल्लेख छ ।

त्यस्तै,सहमतिको बिस्तृत विवरण फागुन २१ गते विशेष समारोहका बीच सार्वजनिक गर्ने पनि सहमति पत्रमा उल्लेख छ । समारोहलाई प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने बताइएको छ ।
मूलधारका राजनीतिक दलहरुले भने सहमतिको स्वागत गरेका छन् ।

टिप्पणीहरू