ओली सरकारका कस्ता–कस्ता मन्त्री !

ओली सरकारका कस्ता–कस्ता मन्त्री !

सरकारका मन्त्रीहरूको पारा देखेर सबैले उदेक मान्न थालेका छन् । हिजोआज जहाँ मन्त्री, त्यहाँ विवाद भनेजस्तै भइसकेको छ । कतिसम्म भने,मन्त्रीहरूका सार्वजनिक अभिव्यक्ति सुन्नेलाई चाँहि सहज हुन थालिसक्यो । ५ कक्षामा पढ्ने विद्यार्थीलाई समेत जानकारी हुने अक्सिजन र कार्बनडाइअक्साइडसम्बन्धी सामान्य ज्ञान मन्त्रीलाई हुँदैन, त्यो पनि वनमन्त्री । अहिले वनमन्त्री प्रधानमन्त्री ओलीका प्रियपात्र प्रेम आले हुनुहुन्छ । काठ तस्करीको आरोप लागेका आलेले ओलीको खास मान्छे भएकै कारण मन्त्री बन्ने अवसर पाएको भन्नेहरू पनि छन् । वनमन्त्रीलाई बोटविरुवाले अक्सिजन लिन्छ कि दिन्छ भन्ने नै थाहा छैन । ‘रुखबाट हामीले कार्बनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ त्यहि रुख रहेन भने के हुन्छ हालत ?’ मन्त्री आलेले सार्वजनिक रूपमा गरेको प्रश्न हो यो ।

अहिले मन्त्रीहरूलाई प्रधानमन्त्रीको प्रशंसा गर्न ड्युटीमा खटाइएको झैँ भएको छ । सरकार र प्रधानमन्त्रीको प्रशंसा गर्ने क्रममा के बोलियो र कहाँ बोलियो भन्ने नै उनीहरूलाई थाहा हुँदैन । वनमन्त्री आलेले होसमा हो कि बेहोसमा हो कुन्नि अहिलेको सरकार जनउत्तरदायी सरकार हो भन्ने लागेको भए त्यो भ्रम हुने बताउनुभएको छ । ‘जनताको सरकार हो । यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने लाग्छ भने त्यो तपाईंहरूको ठूलो भूल हुनेछ,’ उहाँले सरकारको सन्दर्भमा अभिव्यक्त गरेको धारणा हो यो । काँधमा ओलीको धाप परेपछि मन्त्री बन्नुभएका आले अहिले यस्तै अभिव्यक्तिका कारण विवादमा पर्नुभएको छ । केही दिनअघि आफूलाई अर्बौं रूपैयाँ घुसको प्रस्ताव आएको भन्दै उहाँले त्यस्तै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

आफूलाई प्रधानमन्त्रीको ‘राइटह्याण्ड’ भनेर चिनाउँदै आउनुभएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको त झन् कुरा गरी साध्य छैन । उहाँ प्रधानमन्त्रीको पक्षमा ज्यान फ्यालेर लाग्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा ज्यान फ्यालेर लाग्नु त ठीकै होला, तर कहाँ के बोल्ने भन्ने न्यूनतम कुरोको ज्ञानसमेत उहाँमा देखिएन । कुन ठाउँमा मन्त्रीको भूमिकामा प्रस्तुत हुने अनि कहाँचाँहि पार्टीको नेताको भूमिका निभाउने भन्नेसम्म पनि श्रेष्ठलाई ख्याल भएको देखिएको छैन ।

त्यसैले बुधबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा गरेको उत्तेजक भाषण अहिले आलोचनाको केन्द्रमा छ । दीक्षान्त समारोहजस्तो विशुद्ध बौद्धिक कार्यक्रममा पनि तल्लो स्तरको चर्को राजनीतिक भाषण किन गर्नुपर्ने,प्रधानमन्त्रीको प्रशंसा गर्न बाहिर निस्केर दुई चार जना आफ्ना मान्छेसँग कानेखुशी गरेको भए सक्किन्थ्यो । ‘ओलीलाई हटाउने ताकत छ ? केपी ओली इज द केपी ओली । यो दुनियाँमा उहाँलाई हटाउने कोही माइकालाल छैन’ यति बोल्न दीक्षान्त समारोह नै किन रोज्नुपरेको ?

श्रेष्ठले ओलीलाई फुटबलको पेलेसँग तुलना गर्दै ओलीको विकल्प कोही हुनै नसक्ने पनि बताउनुभयो । भाषणको अधिकांश समय ओलीको प्रशंसामा खर्चिनुभएका उहाँले सर्वोच्च अदालत र प्रतिनिधिसभाको भने आलोचना गर्नुभएको थियो । विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले विद्यार्थी भाई बैनीहरू हामी अदालतको फैसलालाई मान्दिन्छौँ, तर संसदबाट समस्या समाधान हुँदैन, भन्नुभयो । माइक भेट्नेबित्तिक्कै आफू कुन कार्यक्रममा छु भन्ने नै बिर्सेर उत्तेजक हुनुपर्नेचाँहि किन होला ?

खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले ‘श्री ५ को सरकार’ भनेको प्रसंग पनि पुरानो होइन । सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ को तर्फबाट भन्ने उहाँको अभिव्यक्ति निकै आलोचित भयो । थापालाई मुलुकमा कुन व्यवस्था छ र आफू के हुँ भन्ने सामान्य हेक्कासमेत नभएको भन्दै धेरैले आलोचना गरे । कतिपयले चाँहि ‘प्रधानमन्त्रीको कार्यशैली राजा–महाराजाको जस्तै भएकाले थापाले ठीकै भनेका हुन्’ भन्दै व्यङ्ग्य पनि गरे ।

अर्का मन्त्री टोपबहादुर रायमाझीको त झन् के कुरा गर्नु ! ०६४ सालपछिका लगभग सबै सरकारमा रायमाझी देखिनुभयो । कतिपयले उहाँलाई अर्को विजयकुमार गच्छेदारको उपमा पनि दिएका छन् । पटक–पटक उपप्रधानमन्त्री मन्त्री बनेर पनि ‘माखो नमार्ने’ मन्त्री रायमाझी दोस्रो पटक मन्त्रीमा झरेर ऊर्जातिर छिर्नुभएको हो । लोडसेडिङ अन्त्य हुनुमा आफ्नो भूमिका जोडेपछि उहाँ प्रारम्भमै हास्यपात्र बन्नुभयो । कहिले प्रचण्डको उछित्तो काढेर त कहिले ओलीको अति प्रशंसा गरेरै भएपनि चर्चा भने कमाइरहनु भएको छ ।

उर्जा मन्त्रालय छिर्नेबित्तिक्कै मनलाग्दी सरुवा–बढुवा गरेको उहाँमाथि आरोप लागेको छ । जलविद्युत आयोजनाका लगानीकर्ता र प्राधिकरणका ठेकेदारहरूसँग कमिशनको मोलमोलाई गरेको भन्दै उहाँको अहिले आलोचना ह्वात्तै बढेको छ । रायमाझीकै कारण अहिले ऊर्जा क्षेत्रमा बिचौलियाको आतङ्क फैलिएको जानकारहरू बताउँछन् ।

रायमाझीजस्तै पटक–पटक मन्त्री हुनुभएका प्रभु साहमाथि मन्त्री बन्नैका लागि रातारात क्याम्प चेञ्ज गरेर ओली समूहमा लागेको आरोप छ । अघिल्लो दिन नेकपा (प्रचण्ड–माधव) पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर ओलीको कडा आलोचना गर्नुभएका साहले भोलिपल्टै त्यतैतिर लागेर मन्त्री पद सुरक्षित गर्नुभएको हो ।

मन्त्री बनेयता उहाँका अभिव्यक्ति पनि विवादास्पद छन् । मधेसलाई प्रचण्डमुक्त बनाउने अभिव्यक्तिको आमरूपमै आलोचना भयो । पछिल्लो समय मन्त्री साह एक महिलासँगको लफडामा फस्नुभएको छ । तीन वर्षअघि काठमाडौँकी एक महिलासँग लिएको ३० लाख रूपैयाँ नतिरेको आरोप सप्रमाण बाहिर आएको छ । ती महिलाले मन्त्रालयमै पुगेर तँ तँ र म म गर्दै साहलाई गाली गरेको घटना पनि सार्वजनिक भइसकेको छ ।
कम बोल्ने नेताका रूपमा चिनिने ओली सरकारका गृहमन्त्री रामबहादुर थापा पनि आफ्नै अभिव्यक्तिका कारण बेलाबेला विवादको केन्द्रमा रहने नेतामा पर्नुहुन्छ । जनयुद्धका कमाण्डर उहाँ ओली पक्षमा लागेपछि चर्चासँगै आलोचना पनि भयो । विप्लव नेकपालाई आपराधिक समूह भन्ने उहाँको टिप्पणीको धेरैले आलोचना गरेका थिए । विप्लव समूहलाई हतियारबाटै निस्तेज गर्ने उहाँको भाषण त्यत्तिकै विवादित छ । यद्यपि थापा अहिले विप्लव नेकपासँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीको संयोजक हुनुहुन्छ । त्यस्तै, ओली समूहको आमसभामा प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने उहाँको उग्र अभिव्यक्तिको आलोचित भएको थियो । त्यसबाहेक, बलात्कार र हत्याका घटनाको सन्दर्भमा उहाँका अभिव्यक्ति पनि पटक–पटक विवादित रहे ।

हाल बिना विभागीय बन्नुभएका उपप्रधानमन्त्री पोखरेलले राजकीय कार्यक्रममा चिनियाँ राष्ट्रपतिलाई महामहिम राजदूत भनेपछि विवादित बन्नुभएको थियो । यति समूहलाई जग्गा भाडामा दिने निर्णयमा पोखरेलको भूमिका रहेको आरोप लाग्दै आएको छ । त्यस्तै, कोभिडविरुद्धको स्वास्थ्य सामाग्री खरिदमा अनावश्यक चासो लिएको,कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको संयोजक हुँदा अधिकार क्षेत्रभन्दा बाहिर गएर अन्य मन्त्रालयमाथि हस्तक्षेप गरेको आरोप पनि उहाँमाथि छ । सेनाका सन्दर्भमा पोखरेलको भूमिकाप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री ओलीले रक्षामन्त्रीबाट हटाएको चर्चा चलेको थियो ।

ओलीका प्रियपात्रको रूपमा सिंहदरबार छिरेका मन्त्री भानुभक्त ढकाल पनि आफ्नै अभिव्यक्ति र कार्यशैलीका कारण लगातार विवादमा रहनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका बेला कोरोना किट (स्वास्थ्य सामग्री) खरिद प्रक्रियामा उहाँको भूमिका विवादित रहेको थियो । कमिशनको चक्करमा ओम्नीलाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिएको भन्दै चौतर्फी बिरोध भयो । पत्रकारले सोधेको एउटा प्रश्नको जवाफमा ‘घरमा पाहुना आएका छन्,मलाई हतार छ’ भनेपछि उहाँ विवादित मात्र हुनुभएन,हास्यको पात्रसमेत बन्नुभयो ।

प्रधानमन्त्री ओलीका सबैभन्दा प्रिय पात्रका रूपमा सिंहदरबार इन्ट्री गरेका गोकुल बाँस्कोटा कार्यकालभर विवादित रहनुभयो । टर्रो बोली र रुखो स्वभावका कारण आममानिसले पनि मन पराएनन् । प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी मिडिया काउन्सिल, सूचना प्रविधि र आम सञ्चार विधेयक ल्याएपछि उहाँ सर्वाधिक आलोचनाको पात्र बन्नुभयो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रूपैयाँ कमिशन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादको ‘क्लाइमेक्स’ मा पुगेर ठ्याक्कै एक वर्षअघि राजिनामा दिनुपरेको थियो ।

टिप्पणीहरू