बैठक सर्यो बालुवाटार

बैठक सर्यो बालुवाटार

प्रतिनिधिसभा बैठकको मिति नजिकिंदै जाँदा नेकपा (बहुमत)ले संसदीय दलमा बहुमत जुटाएको छ । हिजो बसेको दलको बैठकमा दुवै सदनका १२० सांसद उपस्थित रहेको बताइएको छ। यो संख्या संसदीय दलमा प्रष्ट बहुमत हो। ११५ जनाले हिजै हस्ताक्षर गरेको र उपत्यका बाहिर रहेका योगेश भट्टराई, जीवन शाहीलगायतका पाँच सांसदले आज हस्ताक्षर गर्ने एक सांसदले जानकारी दिए।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । जसमध्ये एक सांसद शिवा आलेको निधन भएको छ भने सभामुख अग्निप्रसाद सापकोटा तटस्थ हुनुहुन्छ । बाँकी १७२ मध्ये प्रचण्ड-नेपाल पक्षमा हस्ताक्षर गर्नेको संख्या ९१ पुगेको छ । ओली खेमाले आफ्नो लिस्टमा राखेका माया ज्ञवाले र गङ्गा चौधरी हिजो प्रचण्ड-नेपालको भेलामा खुल्नुभएको छ । बामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित तटस्थ हुनुहुन्छ ।

यता, ओली पक्षले पनि संसदीय दलमा आफूसंगै बहुमत भएको दाबी गरिरहेकै छ। तर त्यो पक्षमा ७८ को हाराहारीमा प्रतिनिधिसभा र २३ जना राष्ट्रियसभाका सांसदहरु खुलेको बताइन्छ। ओली पक्षले वामदेव गौतम पक्षका सांसदहरुलाई पनि गणना गरेको छ। गौतमसँग कम्तिमा पाँच सांसद रहेको बताइन्छ। निर्णायक घडीमा गौतमको साथ् आफूहरुलाई नै हुने उताको बुझाइ छ ।

सरकार गठनमा राष्ट्रियसभाको भूमिका नभएपनि संसदीय दलमा दुवै सदनका सांसदहरु रहन्छन्। दुवै सदनमा गरी नेकपाका कूल सांसदको संख्या २२३ छ। सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक २२१ जनामध्ये १२० प्रचण्ड-माधव पक्षमा र ९५ जना ओली पक्षमा खुलेर लागेको देखिन्छ। बाँकी केही हालसम्म तटस्थ छन् । तटस्थ रहेकाहरु अन्तिम अवस्थामा जुन पक्षसंग बहुमत छ त्यतै लाग्ने तयारीमा रहेको बताइन्छ । दुबैतिर गनिएका तर कतै हस्ताक्षेर नगरेका त्यस्ता सांसदको संख्या कम्तिमा ५ देखि १० जना रहेको बताइन्छ । त्यो संख्यासमेत बहुमत पक्षमा आउने हुँदा आफूहरु थप बलियो हुने प्रचण्ड-नेपाल समूहको दाबी छ।

प्रचण्ड-नेपाल पक्षमा बहुमत देखिएपछि ओली पक्षको रणनीति फेरिएको छ। शनिबार संसद भवनभित्रको ल्होत्से हलमा बोलाइएको दलको बैठक एकाएक बालुवाटार सारिएको छ। स्रोतका अनुसार प्रचण्ड-नेपाल पक्षमा १२० सांसद खुलेपछि ओली पक्ष स्थान फेरेको हो । मिडियाबाट बच्न बालुवाटारमै बैठक राख्ने निष्कर्षमा पुगेको बताइन्छ।

संसदीय दलमा १२० पुग्दा निर्वाचन आयोगलाई सजिलो

प्रचण्ड-नेपाल पक्षको संसदीय दलमा बहुमत जुट्दा निर्वाचन आयोगलाई निर्णय गर्न झन् सहज हुने सो पक्षका सांसद बिरोध खतिवडाको बुझाइ छ। पार्टीको केन्द्रीय कमिटीमा झन्डै दुई तिहाइ हुँदा पनि निर्वाचन आयोगले निर्णय दिन नसकेको भन्दै उहाँले संसदीय दलमा पनि प्रष्ट बहुमत देखिएकाले अब ढिला नगर्न सुझाव दिनुभयो।

‘अब हामी संसदीय दलमा पनि झन्डै ६० प्रतिशतको स्थितिमा पुगेका छौं। अब पनि आयोग अनिर्णित बन्न मिल्दैन। आजको बैठकले आयोगलाई सहज बनाएको छ’, उहाँले भन्नुभयो। उता(ओली)लाई दिन नमिल्ने,यता (बहुमत) तिर दिन मन नलाग्ने अवस्थामा आयोग पुगेको हो कि भन्ने केही शंका भएपनि अहिले आलोचना नगर्ने खतिवडाले बताउनुभयो।

यता,प्रधानमन्त्री ओली राजीनामा दिने मनस्थितिमा नरहेको बालुवाटार निकट स्रोतको भनाइ छ । संसद बैठकअगावै प्रधानमन्त्रीको राजीनामा आउने चर्चा चलिरहेका बेला त्यो सम्भावना अहिले नरहेको स्रोतले भन्यो । ‘आकाशै पल्टिएपनि उहाँले राजीनामा दिनुहुन्न’, स्रोतले भन्यो, ‘उहाँले हारेजस्तो हुनेगरी निर्णय हुँदैन । उहाँले हार्ने स्थिति बन्यो भने प्रचण्ड-माधवलाई पनि जित्न दिनुहुन्न । ‘

प्रधानमन्त्रीको पहिलो प्राथमिकता कांग्रेसलाई सहमतिमा लिएर आफूविरुद्धको अविश्वास प्रस्ताव असफल बनाउने नै हो। त्यो हुन नसके देउवालाई नेतृत्व बुझाउने र सरकारमा सहकार्य गर्ने प्रस्ताव ओलीले देउवालाई गरेको बताइएको छ । बाहिर प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व कांग्रेसलाई बुझाउन खोज्यो भने पनि भित्री तयारी भने देउवालाई बुझाउने हतारो ओली आफैले गरिरहेको बताइन्छ।

कतिपयले भने ओलीले फेरि संसद विघटन गर्नसक्ने आशंका पनि गरेका छन् । अर्को हप्ता विघटनको सिफारिस शीतलनिवास पुगे अचम्म मान्न नहुने भन्दै एक नेता भन्छन्, ‘उहाँले यसअघि नै संसदले असहयोग गर्यो भनेर बिघटन गर्नुभएकै हो,आफूलाई मन नपरेको संसद लामो समय चल्न नदिने उहाँको प्रयास हुनसक्छ । यद्यपि परिस्थिति अब उहाँको निम्ति सहज छैन ।’

छिट्टै संसद अन्त्य गर्नसक्ने ओलीको रणनीति बुझेको प्रचण्ड-नेपाल पक्षले पनि ‘काउन्टर रणनीति’ बनाएको छ । संसदलाई बिजनेस नदिने,बिहान बोलाएको बैठक साँझ अन्त्य गर्ने ओलीको तयारी बुझेकाले बैठकअगावै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी छ।

टिप्पणीहरू