जब विष्णु पौडेललाई विष ओकल्न लगाइयो

जब विष्णु पौडेललाई विष ओकल्न लगाइयो

जो जिता वही सिकन्दर शैलीमा राजनीति सोचेभन्दा फरक ढंगले अघि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्हदेखि अप्ठेरोमा पर्नुभएको सहज अनुमान लगाउन थालिएको छ । निकै तामझामका साथ राष्ट्रिय सभागृहमा आयोजना गरिएको विप्लव सार्वजनिक कार्यक्रममा विद्रोही समूहका नेता जति खुशी थिए मञ्चमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबै सरकारी अनुहार मलिन देखिन्थ्यो । अन्तिम क्षणको चलखेलमा ल अब मिलौं, भेटौं भन्दै डेडलाइन टार्ने सम्भावना साँघुरो बनेपछि हतास मनस्थितिका साथ शुक्रबार साँझ प्रधानमन्त्री ओली बिरामी भेट्ने नाममा शिक्षा मन्त्री कृष्णगोपाल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,गृहमन्त्री बादल,सल्लाहकार बिष्णु रिमाल र राजन भट्टराईको दलबलसहित वामदेव गौतम निवास,भैंसेपाटी पुग्नुभयो ।

हुनतः शुक्रबार बिहानैदेखि अघिल्लो दिन सिंहदरबारमा भएको नेता घनश्याम भुसाल र शंकर पोखरेल तथा गौतमसँग बालुवाटार समूहका नेताको भेटघाट सार्वजनिक खपतका लागि मात्रै भएको अर्थ्याउन थालिएको थियो । विगतदेखि नै अप्ठेरोमा गाँठो फुकाउन सक्ने र सप्ठेरोमा गाँठो पार्नसक्ने नेताको रुपमा परिचित अर्थमन्त्री तथा ओली समूहका महासचिव विष्णु पौडेल फागुन ११ पछि लगभग मुख बन्द गरेर बस्नुभएको थियो ।

तर, बिहीबार बुटवलमा उग्र धारणा राखेपछि सबैले राजनीतिक माहोल बालुवाटारको विपक्षमा बनेको अड्कल लगाइसकेका थिए । बालुवाटारका साइबर सेनाले समेत राजनीति अन्तिम क्षणमा आफ्नोतर्फ ढल्कने सम्भावनालाई बिहीबारबाटै माया मारेका थिए । किनभने, फैसलापछि सार्वजनिक रूपमा कहिँकतै नबोल्नुभएका पौडेलले बुटवलमा उग्र बोलेपछि त्यहि अभिव्यक्तिले धेरै कुराको संकेत गरेको हो ।

बालुवाटारको किचेन क्याबिनेटका कमरेडहरुले पनि भन्न थालेका छन् ‘गर्नसक्दा उहाँ नै हो । माधवदेखि प्रचण्डसम्मका नेतालाई मिलाउनसक्ने पौडेल नै एक्लो हो । शंकर र प्रदिपहरूको पहललाई माधवले एक कौडीको भाउ दिँदैनन् । त्यसैले पौडेलसँग हाम्रो पक्षका नेताहरूले ठूलै अपेक्षा गरेका थिए ।’ पौडेल मौन रहेको विषयलाई ओली पक्षका केही नेताले गलत व्याख्या गरेको समेत बताइन्छ ।

हामीसँग के छ र पहल गर्ने ? सबै कुरा उनीसँगै छ । हाम्रो हातमा के छ ? उसले पहल गर्दा सबैथोक चोखो हुने, अरुको त्यहि पहल बिटुलो हुने

उनीहरुले भित्रभित्रै पौडेलको माधव र प्रचण्डसँग निकटता चलिरहेको शंकासमेत गरेका थिए । पार्टीभित्रै नकारात्मक धारणा बनेकाले पनि उहाँले बिहीबार बुुटवलमा कुनै स्पेश नराखी कित्ताकाट गरेको बताइन्छ । लामो समयसम्म तत्कालीन एमाले महासचिव रहेका अध्यक्ष माधवकुमार नेपालप्रति उहाँले अस्वाभाविक ढंगको आरोप लगाउनुभएको थियो ।

तर, शुक्रबार उत्पन्न नयाँ ढंगको राजनीतिक समीकरणको छनकपछि नेकपा (बहुमत) का एकथरि नेताले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरे के हुन्छ ? भनेर ‘हाइपोथेटिकल’ जिज्ञासा राख्न थालेको समेत देखिएको थियो । तर, अधिकांशले भने प्रधानमन्त्री ओलीले राजीनामा दिएर परिस्थितिलाई सहज बनाउनुको सट्टा जेरीझैँ जेल्ने बाटो खोजिरहेको अनुमान लगाएका छन् ।

उनीहरुको तर्क छ ‘हामीसँग के छ र पहल गर्ने ? सबै कुरा उनीसँगै छ । हाम्रो हातमा के छ ? प्रतिनिधिसभा विघटन गरे,हामीले बिरोध गर्यौं । भदौ २६ को सहमति उनैले उल्लंघन गरे, हामीले बिरोध गर्यौैं । अहिले उही बालुवाटार काँग्रेससँग प्रधानमन्त्री बचाउने दाउमा हिँडिरहेको छ । उसले पहल गर्दा सबैथोक चोखो हुने, अरुको त्यहि पहल बिटुलो हुने अचम्मको सिद्धान्त देखिएको छ ।’

नेकपा (बहुमत) स्रोत भन्छ ‘के चुनाव हुने भएको भए नेकपाले जित्थ्यो ? ओलीले जे भने पनि काँग्रेस नै आउँथ्यो । बरु कोरोनाको यो महामारीमा अदालतको आदेशपछि अरबौं रुपैयाँ जोगिएको छ । मण्डले पृष्ठभूमिका युवराज खतिवडालाई अर्थमन्त्री बनाएर पुलपुलाएको परिणाम अहिले ओलीले मुलुकको आर्थिक बृद्धिदर ऋणात्मक पाएका छन् ।’

बुधबारसम्म निकै गर्जिंदै आउनुभएका प्रधानमन्त्री ओली बिहीबारबाट हतास मनस्थितिमा देखिनुभयो । शुक्रबार झापाको सुखानीमा आयोजित कार्यक्रमलाई हापेर काठमाडौंमै बस्नुले पनि त्यो पुष्टि गरेको छ । आफ्नो विपक्षमा कसिलो बन्दै गएको राजनीतिक परिस्थितिबारे बिहीबार राती राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

पछिल्ला केही दिनदेखि उहाँले अरु सबै छाडेर प्रचारमुखी कार्यक्रममा ध्यान केन्द्रित गरेको देखिएको छ । ठेक्का नलागेको आयोजना उद्घाटन गर्नु र विप्लवसँगको सम्झौता आफूलाई केन्द्रमा राखेर ध्यान अन्यत्र मोड्ने प्रयास हो । किनभने हतारमा गरिएको तीन बुँदे सम्झौताको उद्देश्य अन्तरिम सरकारको ‘झ्याउलो’ उठाउन सकिन्छ कि भन्ने अन्तिम प्रयास हो ।

टिप्पणीहरू