स्वदेश फर्किने भो लक्ष्मीनारायणको मूर्ति
३७ वर्षअघि नेपालबाट हराएको लक्ष्मीनारायण (वासुदेव–कमलाज) को मूर्ति संयुक्त राज्य अमेरिकाबाट नेपाल फर्किने भएको छ । मुलुकबाट चोरेर विदेश पुर्याइएका सयौं वर्ष पूराना नेपाली मूर्ति तथा प्रस्तरकलालाई फर्काउने क्रममा उक्त मूर्ति स्वदेश ल्याउने प्रक्रिया शुरु भएको हो ।
वाशिंगटनस्थित नेपाली दूतावासमा हालै आयोजित एक समारोहबीच संघीय अनुनसन्धान व्युरो (एफबीआई) का उपसहायक निर्देशकले उक्त मूर्ति नेपाली राजदूतलाई हस्तान्तरण गरेका छन् । अब दूतावासले छिट्टै नेपाल पठाउने तयारी गर्ने दूतावास स्रोतले बताएको छ ।
१२ औंदेखि १५औं शताब्दीमा बनेको अनुमान गरिएको ढलौटको उक्त मूर्ति सन् १९८४ मा चोरिनु अघिसम्म पाटनमा सर्वसाधारणले पूजा गरिरहेका थिए । मुलुकबाट एकाएक हराएको लक्ष्मीनारायणको मूर्ति छ वर्षपछि अमेरिकाको डल्लास शहरमा आयोजना गरिएको मूर्तिहरुको लिलाम बढाबढमा राखिएको थियो । त्यसपछि त्यहिँको कला संग्रहालयमा राखिएको लक्ष्मीनारायणको मूर्ति स्वदेश फर्काउन नेपाल सरकार, अमेरिकी सरकारलगायत धेरैजना स्वदेशी तथा विदेशी कला पारखीहरुको सहयोग रहेको बताइएको छ ।
टिप्पणीहरू