मन्त्री नै गैदिएनन् बालुवाटार बैठकमा

मन्त्री नै गैदिएनन् बालुवाटार बैठकमा

शुक्रबार सम्पन्न नेकपा (बहुमत) संसदीय दल बैठकको अन्तिममा सांसद बिरोध खतिवडाले क्रम संख्या १ सय १५ नम्बरमा दस्तखत गर्नुभएको छ । आज थप तीन जनाले पेरिसडाँडामा गएर दस्तखत गर्नुभएको छ । आज पेरिसडाँडा गएर हिजोको बैठकको माइन्युटमा सही गर्ने माननीयहरूमा गोपाल बम र विष्णु शर्मा पौडेल (सहिद नेत्रलाल पौडेल “अभागी” की धर्मपत्नी,दाङ्ग) लगायत तीन जना रहनुभएको स्रोतले बताएको छ ।

उता प्रधानमन्त्री केपी शर्मा ओली समूहले शनिबार दिउँसो बालुवाटारमा बोलाएको संसदीय दलको बैठकपछि पत्रकारलाई जानकारी गराउँदै राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले प्रधानमन्त्रीको हवाला दिएर ‘आज १ सय १५ पुगिसक्यो, भोलिसम्म १ सय २० पुग्छ, सदनमा जमेर लाग्नु भन्नुभएको छ, हामीलाई कुनै अप्ठेरो स्थिति छैन’ भनेर रेकर्डेड भ्वाईसको शैलीमा बताएका थिए । आफैँ सहभागी बैठकबारे प्रेसलाई ब्रिफिङ्ग गर्दा उनले प्रधानमन्त्रीको हवाला दिनुलाई अर्थपूर्ण ठानिएको थियो ।

बालुवाटारमा बोलाइएको ओली पक्षीय संसदीय दलको बैठकमा सांसदहरु वामदेव गौतम,तुलसा थापा,स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, बृजेश गुप्ता, लालबाबु पण्डित, धनबहादुर बूढा, शान्ती पाख्रिन (दोलखा) को अनुपस्थिति रह्यो । गङ्गा चौधरी र माया ज्ञवाली माधव-प्रचण्ड खेमामा खुलिसक्नुभएको छ । तल्लो र माथिल्लो सभा गरी दुईतिर जम्मा एक सय दुई भन्दा माथि प्रधानमन्त्रीसङ्ग देखिएन । उच्च स्रोतको दाबीअनुसार ‘प्रतिनिधिसभातर्फ अठहत्तरभन्दा बढी पुगेन ।’

भट्टराईको १ सय १५ जनाको तथ्यांकप्रति शंका गर्दै पत्रकारहरूले सोधे ‘तपाईंसँग नेम लिष्ट छ ?’ तर, उनले ‘यहाँ छैन’ भनेर टारेका थिए । फेरि सञ्चारकर्मीले थपे ‘तपाईंहरूले हामीलाई बालुवाटारको कम्पाउण्ड बाहिर राख्नुभएको छ, भित्र छिर्न पनि दिनुभएको छैन । कति सांसद छन् हामीले देख्न पाएको छैन भने कसरी पत्याउने ?’ तर, अन्तिम जिज्ञासाको जवाफ नदिई भट्टराई त्यहाँबाट बिदा भएका थिए ।

टिप्पणीहरू