माधव नेपालका तीन महाभूल
असल नेतृत्वको गुण हो– सहि मान्छेको पहिचान गरेर त्यहीअनुसारको जिम्मा र महत्व दिनु, बेलामा हिरा फोर्नु भनेजस्तो ! अहिले माधव नेपाललाई एमाले पृष्ठभूमिका नेताहरु यो परिस्थितिको एउटा कारण तपाईं पनि हो भन्दै छन् ।
०६२÷०६३ को जनआन्दोलनमा गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भन्ने केपी ओलीलाई त्यही आन्दोलनको जगमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आफ्नो पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी, अर्थात् गणतन्त्रात्मक सरकारको उपप्रधानमन्त्री बनाएर पठाउनु माधवको गल्ती थियो ।
बुटवल महाधिवेशन हुँदा झलनाथ खनाललाई बाइपास गर्न तीन सय भोटवाला केपी ओलीलाई माधवले आफ्नो चार सय मत खन्याउनुभयो । र, पाँच वर्षपछि त्यही मान्छेसँग प्रतिस्पर्धा गर्दा ४५ भोटले हार्नुपर्यो । बुटवलमा माधव नेपालले चार सय भोट केपीका निम्ति खन्याउँदा पनि झलनाथ ५७ भोटले जित्नुभएको हो । त्यसबेला माधवले अन्तिमसम्म आफू उठ्ने कोसिस गर्नुभयो । अध्यक्ष प्रणालीमा जाने भएपछि झलनाथ खनाललाई कर्नरमा पार्न केपीलाई साथ दिनुभयो । झलनाथलाई राष्ट्रपति बनाउने भनेर डल्लुमा बैठक हुँदा उहाँले नै विद्या भण्डारीको नाम प्रस्ताव गर्नुभयो । एउटै गुटका अध्यक्ष र उपाध्यक्षलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउँदा देशको हालत के हुन्छ, अहिले देखिइसक्यो ।
यसरी बेलामा विचार नगर्दा समस्या उत्पादन हुन्छन् । यी उदाहरण पेश गरिँदा माधवले ‘हो, गल्ती त मबाट भएकै हो’ भन्ने गर्नुहुन्छ । तर, बिग्रिएपछि थाप्लोमा हात राखेर के हुन्छ ?
– हरि गजुरेल
टिप्पणीहरू