आशाको बाटो छेक्नुको बल्ल खुल्यो अन्तर्य

आशाको बाटो छेक्नुको बल्ल खुल्यो अन्तर्य

जसले जेसुकै भनुन् नेपालको समकालीन राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली जति चलाख र परसम्मको सोचेर पाइला चाल्ने नेता अरु रहेनछन् । उहाँले संसद विघटन गर्ने सोच कहिलेदेखि राख्नुभएको थियो भन्ने यो यौटा तथ्य केलाउँदा पनि धेरै कुरा छर्लङ्ग हुन्छ । इलामबाट पार्टीकी समानुपातिक सांसद बितेको पाँच महिना बितिसक्दा समेत बैकल्पिक सूचीमा रहेको अर्को नाम सिफारिश नगर्नुको रहस्य पनि योसँगै खुलेको छ । पहिले संसद विघटन गर्ने सोचले पूर्ति नगरिएको मनोनित सांसदको रिक्त स्थानमा थपिने नाम माधव नेपाल पक्षको भएपछि उहाँले अहिलेसम्म त्यसतर्फ वास्तै नगर्नुभएको प्रष्ट भएको छ ।

यसअघि प्रतिनिधिसभामा रहनुभएकी नेकपाकी समानुपातिक सांसद सानु सिबाको निधन गत असोज २८ गते किड्नी फेलियरका कारण भएको थियो । रिक्त स्थानमा गत आमनिर्वाचनअघि नै निर्वाचन आयोगसमक्ष पेश गरिएको समानुपातिक सूचीमा रहेको नामबाट सिफारिश गर्दा नियुक्त हुने सांसद माधवकुमार नेपाल समर्थक रहेको देखिएपछि असोजदेखि अहिलेसम्म रिक्त राख्नुको कारण सायद त्यही हो ।

उता,त्यसअघि र त्यसपछि नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका दुुईजना समानुपातिक सांसदको निधन भए पनि काँग्रेसले उहिल्यै ती नाम सिफारिश गरेर तिनलाई सांसद पदको सपथ समेत खुवाइ सकेको छ । प्रधानमन्त्रीले भने पहिले संसद विघटन गर्ने सोच र पछि माधव नेपाल निकट रहेको थाहा पाएपछि नामै सिफारिश नगरेको स्रोतको दाबी छ । तर, नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने पुुस ५ गतेअघि त्यसतर्फ पर्याप्त ध्यान पुर्याउन नसकेको पनि घटनाक्रमले देखाएको छ ।

यसबाट प्रधानमन्त्री ओलीले जानाजान प्रतिनिधि सभामा अर्को पक्षको एक भोट ‘किल’ गराउनु भएको स्रोत बताउँछ । आफ्नो विरोधी खेमाको एक भोट घटाउनु भनेको प्रधानमन्त्री समूहलाई २ भोटको अन्तरले लाभ हुनु हो ।

यसबीच काँग्रेसले स्वर्गीय सांसद ज्ञानकुमारी छन्त्याल (बाग्लुङ) र सूर्यबहादुर केसी (कास्की) को स्थानमा दुवैजनालाई नियुक्त गरिसकेको छ । छन्त्यालको असारमा र केसीको सिबापछि निधन भएको थियो । केसीको स्थानमा नियुक्त स्याङ्जाका मोहन पाण्डेले प्रतिनिधिसभा विघटन हुनुभन्दा एक महिनाअघि सपथ लिएका थिए । त्यतिबेला उनलाई एक महिने सांसदसमेत भनिएको थियो ।

तर,नेकपाभित्र असोजमा बितेर रिक्त भएको सांसद पद (क्रम संख्या ८६,आशाकुमारी बिक,बझाङ्ग) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म नियतवश खाली राख्नुभएको प्रष्ट भएको छ ।

टिप्पणीहरू