नेकपा बिबाद झन अर्को मोडमा, साँसदहरुको बसाइँ सराइ जारी

नेकपा बिबाद झन अर्को मोडमा, साँसदहरुको बसाइँ सराइ जारी

नेकपा (बहुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरी पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गर्ने संसदीय दलको निर्णयबारे संसद सचिवालयलाई जानकारी गराउने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सम्पन्न बैठकले सांसदहरूसहितको टोली संसद सचिवालयमा गएर जानकारी गराउने निर्णय गरेको हो । दलको नेता परिवर्तन भएको जानकारी गराउन प्रचण्ड–नेपाल निकट सांसदहरू अहिले संसद सचिवालय जाँदै गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिनुभएको छ ।

बैठकले प्रधानमन्त्रीविरुद्ध ल्याउने भनिएको अविश्वासको प्रस्तावबारे कुनै निर्णय नगरेको पनि उहाँले बताउनुभयो । भन्नुभयो ‘छलफल भैरहेको छ, अहिले कुनै निर्णय भएको छैन ।’ त्यस्तै,आजको बैठकमा केही सांसदहरू थपिएको समेत उहाँले जानकारी दिनुभयो ‘को–को थपिए भनेर अहिले नै भन्ने अवस्था छैन, तपाईंले परिस्थिति बुझ्नुभएकै छ । अहिले नाम सार्वजनिक गर्दा के हुन्छ थाहा नै छ । तर, अस्तिको बैठकमा सहभागी नहुनुभएका केही माननीयज्यू आज आउनुभएको छ ।’

यसअघि नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दल बैठकमा १ सय १५ जना सांसदले हस्ताक्षर गरेको बताइएको थियो । सांसद झाँक्रीले सो संख्या अहिले १ सय २० पुगेकोतर्फ संकेत गर्नुभएको छ । तपाईंहरूको पक्षमा सांसदहरूको संख्या बढेको हो र ? भन्ने प्रश्नको जवाफमा हाँस्दै भन्नुभयो ‘अहिले निर्वाचन भएको छ र संख्या बढ्नलाई ?’ उहाँको भनाई थियो, ‘तटस्थ रहनुभएका साथीहरू यता आउनुभएको छ । अहिले धेरै कुरा नखोलौं ।’

यसैबीच संसद सचिवालयका महासचिव भरत गाैतमसँग अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू