सँसद सचिवालयमा गलफत्ती
नेकपा (बहुमत) को संसदीय दल बैठकले गरेको निर्णय संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । महासचिव भरत गौतमले निर्णय दर्ता गर्न नमानेपछि अहिले सो पार्टीका शीर्ष नेताहरू उनीसँग छलफल गरिरहेका छन् ।
महासचिव गौतमले निर्णय दर्ता गर्न आनाकानी गरेको र अहिले छलफल भइरहेको सांसद अमृता थापाले जानकारी दिनुभएको छ । ‘उहाँले दर्ता गर्न आनाकानी गर्नुभएकोले नेताहरू छलफलमा हुनुहुन्छ । अहिले हामी पनि यहीँ छौँ । छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो ।
अस्ति बसेको नेकपा (बहुमत) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरेको थियो । त्यस्तै नेकपा ओली पक्षले प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो ।
भट्टराईलाई प्रमुख सचेतकको मान्यता दिएको संसद सचिवालयले प्रचण्डलाई दल नेताको मान्यता दिन भने आनाकानी गरिरहेको छ । बहुमतले गरेको निर्णयलाई सचिवालयले मान्यता दिनुपर्ने सो पक्षको दाबी रहँदै आएको छ ।
टिप्पणीहरू