मध्यराती उडेको जहाजमा भ्वाङ्ग

मध्यराती उडेको जहाजमा भ्वाङ्ग

हिजो भैरहवा गौतम बुध्द विमानस्थलबाट सबैखाले नियमित उडान सकिएपछि राती १० बजेतिर टावर बन्द हुनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एउटा सन्देश गयो ‘विमानस्थल खुल्ला राख्नु,राती काठमाडौं–बिराटनगर–काठमाडौं सेक्टरमा रेस्क्यु उडान हुँदैछ ।’ झटपट विमानस्थल खुल्ला राख्न र उडान तथा अवतरणको लागि आवश्यक सबै क्षेत्रका झण्डै दुई दर्जन कर्मचारीलाई स्टाण्ड बाईमा बस्न भैरहवा विमानस्थल कार्यालयले आन्तरिक आदेश दियो ।

र,आकस्मिक अवतरणको लागि आवश्यक पर्ने सुरक्षादेखि उडानसँग सम्बन्धित सबै कर्मचारी तम्तयार भएर बसे । बिजुली, विमान कम्पनी,दमकल, फ्रिक्वेन्सी,प्रशासनका कर्मचारीहरु सबै खाना खाएर रातभरको लागि तयारी अवस्थामा बसे । तर, काठमाडौंबाट राती हुन लागेको उद्धार उडान भने त्यताको लागि थिएन । त्यहिबीच श्री एअरलाइन्सको चार्टर विमान काठमाडौंस्थित एउटा अस्पतालको मेडिकल टिम बोकेर बिराटनगरका एकजना सिकिस्त बिरामीलाई राजधानीको अस्पतालमा ल्याउन राती सवा १२ बजे त्यसतर्फ उड्यो । र,

राती दुई बजेतिर विमानले बिराटनगरबाट ती बिरामीलाई काठमाडौं विमानस्थल ल्याएको खबरपछि बल्ल भैरहवा विमानस्थल बन्द गरिएको थियो । एकातिरको उडानमा अर्कोतिरको विमानस्थल किन खोलिएको भन्दै सोधिएको जिज्ञासामा भैरहवा विमानस्थलका सुरक्षा इन्चार्ज भन्छन् ‘नियमित उडानको समय सकिएर विमानस्थल बन्द भए पनि त्यसपछि कुनैपनि स्थानमा हुने उडानको लागि नजिकको अर्को एउटा विमानस्थललाई खुल्ला र तयारी अवस्थामा राख्नुपर्ने हवाई उडानको अनिवार्य शर्त हो । त्यसैले गए राती काठमाडौंबाट बिराटनगर बिरामी लिन जाँदा नजिकैको वैकल्पिक विमानस्थल खुल्ला राख्ने क्रममा भैरहवा छनौटमा परेको हो ।’

गए राती भैरहवा विमानस्थलका एटीसी किशोर आचार्यले बिहान २ बजेर ३ मिनेटको समयमा सामाजिक सञ्जालमा ‘यो समयमा पनि हामी फ्रेस छौं, ड्युटीमा छौं’ भनेर फोटोसहित लेखेपछि सर्वत्र चासो देखिएको थियो । कतिपयले भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भएको समेत लख काटेका थिए । तर,उनै आचार्यले भने ‘त्यसो होइन,भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन अझै केही महिना लाग्छ ।’

गए रातीको उडान श्री एअरलाइन्सको मेडिकल रेस्क्यु फ्लाइट थियो । पूर्व अर्थ राज्यमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडको आफन्त बिरामी भएपछि उक्त उडान भएको हो । बेलुकातिर सेनाको जहाजले या श्रीको विमानले चार्टर उडान गर्ने भन्ने छलफल चलेपनि साँझसम्म निर्क्यौल भएको थिएन । काठमाडौंबाट विमानस्थल खोल्न कुनै निर्देशन नआएकोले नियमित उडान सकिएपछि बिराटनगर विमानस्थल बन्द गरिएको थियो । तर राती १० बजेतिर काठमाडौंले खबर गरेपछि झटपट खोलियो ।

राती १ बजे बिराटनगरबाट बिरामी लिएर काठमाडौंको लागि विमान उडे पनि काठमाडौंमा ल्याण्ड नगरुञ्जेल भैरहवा विमानस्थल पनि खुल्ला थियो ।
बिरामी भने भीआईपी दुगडका आफन्त थिए । दुगड आफैँले फोन घुमाएपछि मोरङका सिडियो र सुरक्षा निकायका प्रमुखले समेत रातको उडानबारे विशेष चासो राख्दै बिराटनगर विमानस्थलमा पटक पटक सम्पर्क राखेका थिए ।

यसैबीच गए राती सिकिस्त बिरामीको उद्धारमा प्रयोग गरिएको श्री एअरलाइन्सको विमान आफैं बिरामी रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रातको समय उद्धारमा उडेको उक्त विमानको आपतकालीनद्वार नजिकै खतराको संकेत हुने गरी भूकम्पमा घरको भित्तो चिरिएझैँ चिरिएको देखिएपछि सवैले आश्चर्य मान्दै जीब्रो टोकेका छन् ।

टिप्पणीहरू