सरकारको हैसियत बदलियो, विश्वासको मत लिनुपर्ने

सरकारको हैसियत बदलियो, विश्वासको मत लिनुपर्ने 

नेपाल कम्युनिष्ट पार्टीको नामसम्बन्धी मुध्दामा सर्वोच्च अदालतले गरेको फैसलाले सरकारको हैसियतमाथिसमेत प्रश्न उठाएको छ । अदालतको फैसलाले  प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदाको संवैधानिक आधार बदलिएको छ । नेपाली कांग्रेसका नेता गगन थापाले फैसलाले नेकपालाई एकीकरण पूर्वको अवस्थामा फ़र्काएकाले त्यसको स्वभाविक प्रभाव सरकारको हैसियतमा परेको टिप्पणी गर्नुभएको छ ।

थापाले अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टीभित्र मात्र प्रभाव नपारेको भन्दै संवैधानिक र कानुनी प्रश्नसमेत जन्माएको बताउनुभयो । जनआस्थासंगको कुराकानीमा भन्नुभयो, ‘अदालतको फैसलाले कम्युनिष्ट पार्टीमा परेको प्रभाव कांग्रेसका लागि चासोको कुरा होइन । संवैधानिक र कानुनी प्रभावका बारेमा हाम्रो चासो हो ।’

थापाले अदालतको फैसलापछि सरकार गठनको आधार बदलिएकाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने पनि बताउनुभयो । केपी ओली अब संविधानको धारा ७६ (१) को प्रधानमन्त्री नरहेको भन्दै उहाँले उपधारा २ अन्तर्गतको सरकारले संसदमा विश्वासको मत लिनुपर्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीले आफूलाई धारा ७६,उपधारा १ अन्तर्गतको प्रधानमन्त्री दाबी गर्दै विश्वासको मत लिन नपर्ने भन्दै आउनुभएको थियो,अदालतको फैसलाले उहाँ धारा ७६ को उपधारा २ मा पुग्नुभएको छ । त्यसैले अब विश्वासको मत लिनुको विकल्प छैन’,थापाले भन्नुभयो ।

आजको फैसलाले संसद्को अंकगणित बदलिने निश्चित भैसकेको छ । त्यसैले अब कांग्रेसले एउटा निर्णय गर्छ

थापाले विश्वासको मत नलिए सरकार कामचलाउमा परिणत हुने पनि बताउनुभयो । ‘प्रधानमन्त्रीले विश्वासको मत नलिई अब सुखै छैन। नत्र उहाँ कामचलाउमा परिणत हुनुहुन्छ’,उहाँले भन्नुभयो ।

अहिलेसम्म नेकपा कानुनी रुपमा एउटै हुँदा कांग्रेसलाई निर्णय गर्न अप्ठेरो थियो,अब उहाँहरु एमाले र माओवादीको हैसियतमा पुग्नुभएको छ । त्यसैले कांग्रेसले छिट्टै निर्णय गर्छ ।

अब संसद्को अंकगणित पनि बदलिने थापाको बुझाइ छ । ‘आजको फैसलाले संसद्को अंकगणित बदलिने निश्चित भैसकेको छ । त्यसैले अब कांग्रेसले एउटा निर्णय गर्छ’, थापाले भन्नुभयो ।

उहाँले कांग्रेसलाई निर्णय गर्न सजिलो भएको पनि बताउनुभयो । थापाको भनाइ छ, ‘अहिलेसम्म नेकपा कानुनी रुपमा एउटै हुँदा कांग्रेसलाई निर्णय गर्न अप्ठेरो थियो,अब उहाँहरु एमाले र माओवादीको हैसियतमा पुग्नुभएको छ । त्यसैले कांग्रेसले छिट्टै निर्णय गर्छ ।

कांग्रेसले कसलाई समर्थन गरेर जान्छ त भन्ने प्रश्नमा थापाले उपयुक्त निर्णय गर्ने बताउनुभयो । उहाँले तत्काल दलको बैठक बसेर निर्णय गर्ने भन्दै मुलुकलाई निकास दिने गरी उपयुक्त निर्णय हुनेमा ढुक्क रहन देशवासीलाई सन्देश दिनुभयो । ‘कसलाई समर्थन गर्ने, कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे अब छिट्टै निर्णय गर्छौँ । एमालेसंग सहकार्य गर्ने कि माओवादीसंग भन्ने निर्णय गर्न सजिलो भएको छ’,उहाँको भनाइ थियो ।

सर्वोच्चले आइतबार केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै फैसला सुनाएको थियो । सर्वोच्चको फैसलाले चौतर्फी प्रभाव पार्ने बिश्लेषण भैरहेका बेला थापाले सरकार गठनको आधार भत्किएको टिप्पणी गर्नुभएको हो ।

टिप्पणीहरू