भूमिगत कालको रोचक घटना
०३६/३७ तिरको कुरा हो । झापा, मोरङ, सुनसरीमा उत्पादित पाटा ( जसलाई जुट पनि भन्छन्)को उचित मूल्य नपाएर किसानहरू आन्दोलन गर्न बाध्य भए ।
त्यही सिलसिलामा तत्कालीन नेकपा (माले) झापा जिल्ला कमिटी सचिव डिल्लीप्रकाश मैनाली र मेरो भेटघाट अनारमनीस्थित कमरेड पुण्य सिवाकोटीको घरमा भयो । त्यो बेला फोनको कुरै थिएन । विद्यार्थी रेडगार्डले चिठीपत्र पुर्याउने र ल्याउने गर्थे ।
म त्यहाँ पुग्दा झमक्कै रात परेको थियो । उहाँ र आमा मात्रै हुनुहुन्थ्यो । खाना हामी दुई थपेर चार जनालाई पकाउनुभएको थियो ।
बाँसको कन्ची र परालले बनाएको बेरा टाटी भएको सानो पराले झुपडी पुण्यजीको सम्पत्ति । भित्र आधा भाग भुइँ भान्सा र आधामा बाँसकै चित्राले टाँड छापेको थियो । स्यानो बाँसकै लिस्नो थियो । हामी त्यहीँबाट ओर्लेर खान मात्रै थालेका थियौँ बालरक्षक आएर प्रहरी आउँदैछन्, तत्काल यो ठाउँ छाड्नु भन्नुभयो ।
बाँसको टाटी च्यातेर झोला बोकी हामी त्यहाँबाट हिँड्यौँ । आमा र पुण्यजी थाल समातेर खान बस्नुभयो । मानौँ प्रहरीले कोही मान्छे थियो भन्ने पत्तो नपाऊन् । पछि प्रहरी आएर खानतलासी गरेछ । यहाँ एकछिन अघि दुई जना मान्छे अत (त्यो बेला पञ्च, पुलिस कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तत्व भन्थे ।) आएको हामीलाई सूचना आएको छ, खोइ भनेर पुण्यजी र आमालाई र्याखर्याख्ती पारेछन् । आमाछोराले प्रहरीलाई थर्काएर खेदाउनुभएछ ।
आमाले गतिलो जवाफ दिनुभएछ ‘ती मान्छेलाई मैले थैलीमा हालेर पोल्टामा राखेको छु, लैजाऊ निकालेर । मेरो मनमा लुकाएको छु । मान्छे कसरी लुकाउनु !
साउन महिना खेतको आली हिँडेर अलि तल पुगी सल्लाह गर्यौं । म हल्दिबारी जलथल जानुपर्ने थियो । त्यहाँबाट हरि चरणलाई लिएर सुकुनाढिकी स्व. कमरेड द्रोणाचार्यको घर पुगी पर्चा, पोस्टर छाप्न किसनगञ्ज इण्डिया जानु थियो । मैले मिलन केसी (सम्पादक) भएर किसान बुलेटिन भन्ने पत्रिका निकाल्थेँ । हाइस्कुलका मुखपत्र पनि म र द्रोण भएर सम्पादन गरी निकाल्थ्यौँ । कमरेड डिल्ली गोलधाप, क. वेदराज रेग्मी र गुरु मैनालीको सेल्टरतिर लाग्ने कुरा भयो ।
हाम्रा झोला काला चाइनिज सन्थेटिकका हुन्थे । त्यसमा एउटा टर्च लाइट, लुँगी, सानातिना फेरफारे कपडा । अन्तरपार्टी निर्देशन, पार्टीको मुखपत्र नयाँ अंक वर्ग संघर्ष, कार्बन, स्टेन्सिल पेपर, डटपेन, छाता, केही चित्र कथाका पुस्तक र माओ त्सेतुङका राता किताब झोलामा हुन्थे । मसँग १० राउण्ड जाने इटालियन पेस्तोल हुन्थ्यो । त्यो पार्टीले मलाई विभिन्न केन्द्रीय नेताको सुरक्षा गर्न दिएको थियो । पूर्व आउँदा सिपी मैनालीसम्मको सुरक्षा गरेर कहाँ पुर्याउने, ल्याउने जिम्मेवारी मलाई नै हुन्थ्यो ।
हिलो बाटो अढाई घण्टाको हिँडाइपछि हामी गोलधाप र हल्दिबारी छुट्टिने ठाउँ पुग्यौं । त्यो बेला झण्डै साढे एघार पौने बाह्र बजेको हुँदो हो । पाटा आन्दोलनको नेतृत्व गर्ने ठूलै हिस्सा हल्दिबारी जलथलको थियो ।
सानो खोल्साको छेउ पुग्नै लाग्दा मंगोल जातिको सिमेन्टको चिहान आउँछ । कतै बुट बजेजस्तो आवाज कानमा पर्यो । चिहानको अडेस लागेर सुतेँ । झोलाबाट पेस्तोल झिकी लोड गरेँ रात पूरै अँधेरी थियो । मैले कालो सर्ट र खैरो कटराइजको प्यान्ट लगाएको थिएँ ।
पाँच मिटर परबाट पाँच जना प्रहरी अघि बढ्दै थिए । दुइटा राइफल देखेँ । पहिला गोली चलाएँ भने मै जित्छु भनेर विस्तारै चिहानबाट उठेँ । म चिहानबाट उठेको देखेर प्रहरी धान रोपेको हिलो खेतमा बेजोड दगुरेर भागे । एकछिन पानीको छप्ल्याङ छप्ल्याङ आवाज आयो र हरायो । मैले पनि यही मौकामा पूर्व छलाङ मारेँ ।
म पहिला हरिचरणकोमा जान हिँडेको थिएँ । तर, उहाँलाई पनि वारेन्ट थियो र बाटोमा गस्ती पनि । निर्णय बदलेर राम सिवाकोटी किसान कमरेडको सेल्टरमा गएँ । म त्यहाँ पुग्दा लगभग अढाई÷तीन बजेको हुँदो हो ।
कपडा सबै हिलो लागेर भिजेका थिए । लुगा फेर्न भन्नुभयो । खाना सोध्नुभयो । मैले घटना सबै राम कमरेडलाई भनेँ, ‘म सुत्छु । तपाईं बिहानै काजुलीभट्टीको चिया पसलमा गएर कुरो बुझ्नुहोला ।’ अनि सबै सुत्नुभयो । कोही खोले पकाउन भैँसीको ग्वालीतिर लाग्नुभयो । गोधुली उज्यालो हुन लाग्दै थियो ।
राम कमरेड साढे पाँच बजे नै काजुलीभट्टीको चिया पसलमा पुग्नुभएछ । प्रहरीका चार जवान र एक हवल्दार छिटोछिटो चिया पसलमा आएर आफ्नो हिलाम्मे जिउ कल पेलेर पखाल्न थालेछन् ।
चियापसले दाइले हाँस्दै सोध्नुभयो, ‘हैन, किन सबै हिलै हुनुहुन्छ नि ! कहाँ लड्नुभयो ?
हवल्दार बडो जोसिएर भन्दै थियो, ‘रातको एक बजेतिर । पर, खोल्साको छेउ चिहान छ नि ! त्यहाँ हामी पुगेका के थियाँै चिहानबाट त सग्लै मान्छेको भूत बिस्तारै निस्केर ठिंग उभियो । अनि विस्तारै बढ्न थाल्यो । डरले धान रोपेको हिलो खेतमा कुदेर ज्यान बचायौँ । खाने बेला रामले भन्न थाल्नुभयो, ‘आजबाट सञ्जय कमरेड भूत हुनुभयो ।’
देवराज कार्की ‘मिलन’
( कमरेड सञ्जय)
टिप्पणीहरू