अनि उनी फूलमा पानी हाल्न थालिन्

अनि उनी फूलमा पानी हाल्न थालिन्

लामो समयको बैदेशिक रोजगारीबाट श्रीमान घर फर्केपछि नवलपरासी कावासोतीकी बसन्ती परियार र उनको परिवारमा खुशियाली छाएको थियो । संघर्ष त कसको जीवनमा हुँदैन र ! तर पनि श्रीमान र दुई सन्तानका साथ् उनको जीवन खुशीसाथ अगाडि बढिरहेको थियो । श्रीमान घर फर्केको दुई महिना मात्र भएको थियो, बसन्तीको खुशीमा गाउँकै विमल सिर्पालीको कुदृष्टि पर्यो ।

२०७५ साल असोज ८ गते,बसन्ती घर नजिकैको हाटबजार गएकी थिइन् । फर्किने क्रममा उनीमाथि एसिड प्रहार भयो । कल्पनै नगरेको घटनाले उनको खुशी मात्र खोसेन जीवनलाई नै कुरुप बनाइदियो ।

छिमेकी सिर्पालीले बिहे गर्न नमानेको भन्दै बसन्तीमाथि एसिड र चक्कु प्रहार गरेका थिए । जसबाट उनको अनुहार र छातीमा मात्र घाउ लागेन आत्मस्वाभिमानमा पनि गहिरो चोट पुर्यायो । करिब १५ महिनाको उपचारपछि आंशिक निको त भइन् तर उनको स्वाभिमानमा पुगेको चोट निको भएको छैन । सायद कहिल्यै निको हुँदैन पनि होला । एसिडले उनको सुन्दर रुप मात्र बिगारेको छैन मन पनि जलाएको छ । भन्छिन्, ‘शारीरिक रुपमा जति चोट पुगेको छ, त्यो भन्दा कयौं गुणा बढी मानसिक चोट छ । के गर्ने, हामीजस्तो गरिवलाई न्याय पाउनु त कठिन छ भने अरु के गर्न सकिन्छ र !’

महिला हिँसा र अपराधका घटना बढ्नुमा देशको कानून नै जिम्मेवार रहेको बसन्तीको निचोड छ । कमजोर कानूनकै कारण अपराधी उम्कने गरेको र अपराधका घटना बढेको उनको बुझाइ छ । संविधान र कानुनको केस्रा-केस्रा त थाहा छैन, तर आफैमाथि परेको घटनाले देशको कानूनप्रति उनको अविश्वास चुलिएको छ। त्यसैले देशको कानुनमै खोट देखेकी छन् । ‘अपराधीलाई सजाय नदिने कानूनको के अर्थ’, उनको सोझो कुरा छ । उनलाई आफूमाथि आक्रमण गर्नेलाई के कारवाही भएको छ भन्ने पनि थाहा छैन । भन्छिन्, ‘अदालतले फैसला गर्यो भन्छन् तर के सजाय भयो थाहा छैन । कोही धरौटीमा निस्किसक्यो भन्छन् । कोही निस्केको छैन भन्छन् । मलाई त थाहा नै छैन ।’

सिर्पालीमाथि फाँसीको सजायँ माग गर्दै भन्छिन्, ‘हुनुपर्ने त फाँसी नै हो, तर कानुनले दिंदैन भन्छन् । मैले जति पीडा खपेकी छु, त्यसको सजायँ दिने नै हो भने उसलाई पनि एसिड हान्नु पर्ने हो । तर मिल्दैन रे ।

श्रीमानको मायाले बचाएको खुशी 

बसन्तीलाई बाँच्ने सबैभन्दा बलियो आधार बनेको छ श्रीमानको माया । ‘श्रीमानको माया र साथ नभएको भए सायद म हुन्नथें होला’, उनले भनिन् । बसन्तीको उपचारमा अहिलेसम्म १६ लाख खर्च भैसकेको छ । घर बन्धकी राखेर ऋण खोजी श्रीमतीको उपचार गरेको श्रीमान यमनारायण बताउँछन् । ‘१६ लाख ऋण पुगिसक्यो । अझै निको भैसकेको छैन । छुरा हानेको ठाउँबाट पिप बगिरहेको छ । अहिले औषधि गरिरहेको छु। औषधिले निको नभए डाक्टरले अप्रेशन गर्नुपर्ने बताएका छन्’, यमनारायणले भने । अझै कम्तिमा ५/७ लाख लाग्ने उनीहरुको अनुमान छ । यद्यपि पूरै निको हुनेमा उनीहरु अझै विश्वस्त छैनन् ।

एकातिर शारीरिक पीडा,अर्कोतिर ऋणको बोझ, बसन्तीले हिम्मत भने हारेकी छैनन् । त्यो हिम्मतको जग भने श्रीमानको माया र बलियो साथ नै हो । श्रीमानको न्यानो माया र दर्बिलो साथ भएकैले समाजको अगाडि निर्धक्क उभिन सक्ने भएको बसन्तीको भनाइ छ । ‘श्रीमानको मायामा कुनै कमि छैन, बरु पहिला भन्दा झन् बढेको छ’, उनी भन्छिन् । रुप बिग्रेपछि श्रीमानले छाडेका कति घटना सुनेकी उनलाई आफ्नो श्रीमानले पहिले भन्दा पनि बढी माया गरेकोमा सबै पीडा कम हुन्छ ।

बसन्ती ‘बिचरा’को पात्र बनेर घरमा मात्र सीमित छैनन् । उनी भर्खरै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नियुक्ति दिएबमोजिम भैरहवा डिपोमा जागिर गर्छिन् । ‘धेरै पढेको छैन,आँखा पनि देख्दिन । फूलमा पानी हाल्ने काम दिनुभएको छ,त्यहि गर्छु’, यसो भन्दै गर्दा उनमा आशा र भरोशाको सञ्चार भएको देखिन्थ्यो । यत्रो ऋणको बोझ र निरन्तर उपचार गर्नुपर्ने अवस्थामा जागिर उनीहरुको सहयोगी बनेको ।

नारी दिवश थाहा छैन 

आज अन्तर्राष्ट्रिय नारी दिवस । महिला हकहित र अधिकारका क्षेत्रमा काम गर्नेहरुका लागि ठूलो पर्व । तर बसन्तीलाई नारी दिवसबारे थाहा छैन । ‘खै मलाई त थाहा छैन’, उनले भनिन् । कुनै महिला अधिकारकर्मीले सोधेका छैनन् त ? उनले सीधा जवाफ दिइन्, ‘छैन ।’ ‘शायद सक्षम नभएकाले कसैले वास्ता नगरेका हुन् कि  ?’ उनले जिज्ञाशामिश्रित प्रतिप्रश्न गरिन् । यसो भन्दै गर्दा उनमा रहेको अवोधपन प्रकट हुन्थ्यो । उनले व्यंग गरेर भनेकी होइनन् । साँचै उनलाई नारी दिवसबारे जानकारी थिएन ।

दूरदराजका महिलासम्म नारी दिवसका नाममा हुने कार्यक्रम पुग्दैन भन्ने यो एउटा उदाहरण हो । शहरका तारे होटलभित्र हुने महिलाका सुरक्षा,सम्मान,पहुँच, पहिचानका बहस बसन्तीजस्ता दूरदराजका महिलासम्म पुगेकै छैन । पात्रोमा हरेक वर्ष फेरिने नारी दिवसले बसन्तीहरुको पीडा फेर्न सकेको छैन । बरु महिलामाथि हुने यौनजन्य हिँसा, घरेलु हिँसा जघन्य अपराधका घटना झनभन्दा झन् बढेका छन् ।

बसन्तीको जस्तो पारिवारको साथ सबैलाई कहाँ हुन्छ र ? कयौँ महिला आज पनि घरभित्रै हिँसा भोग्न बाध्य छन् । महिला हकहित र अधिकारका पक्षमा लगाइने ठूला ठूला नारा र नारी दिवस औपचारिकतामा सीमित बन्न पुगेको हो कि ? प्रश्न खडा भएको छ । एक दिन मनाइने नारी दिवसले हजारौं वसन्तीहरुलाई न्याय दिन त नसक्ला तर पीडाको साथी बन्न सक्थ्यो होला नि ! ‘खै मलाई त पहिलो पटक तपाईंले सोध्नुभयो । अरु कसैले आजसम्म सोधेका छैनन्’, कुराकानीको बिट मार्दै उनले भनिन् ।

धनु भुषालबाट

टिप्पणीहरू