काभ्रे,मोरङ्ग र नुवाकोटमा एमालेको ब्यानर
नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाले उत्साहित बनेको प्रधानमन्त्री केपी ओली पक्षले जिल्ला पार्टी कार्यालयमा एमालेको ब्यानर राख्न थालेको छ । ओली पक्षले नुवाकोट,मोरङ्ग र काभ्रेको जिल्ला कार्यालयमा नेकपा (एमाले)को ब्यानर राखेको हो ।
तत्कालीन एमाले र माओवादीबीचको एकताप्रति अनुदार भनेर चिनिएका गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेको नेकपा कार्यालयमा ओली र बाँस्कोटाको ठूलो तस्वीर अंकित ब्यानर झुन्ड्याईएको छ । यता नुवाकोट जिल्ला कार्यालयमा पनि सूर्य चिन्हलाई वीचमा पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको ब्यानर टांगिएको छ ।
अदालतको फैसलालाई लिएर पूर्व एमालेभित्रबाटै असन्तुष्टि सार्वजनिक भैरहेका बेला ओली समूह भने दीपावली मनाइरहेको छ । उदेकलाग्दो कुरा त के छ भने, अघिल्लो दिनसम्म नेकपाको संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गरिरहेको ओली पक्ष अदालतको फैसलाले निकै उत्साहित देखिएको छ ।
त्यसो त, ओली पक्षले हिजो बोलाएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई स्वागत गरेर जानुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले छिट्टै एमालेको केन्द्रीय समिति बैठक बोलाउने जानकारी दिँदै नेताहरुलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभएको थियो ।
सर्वोच्चको फैसलालाई लिएर असन्तुष्ट देखिएको पूर्वएमालेको माधव नेपाल समूहका नेताहरु भने अहिले छलफलमा जुटेका छन् । प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् ।
आइतबार अनपेक्षित फैसला गर्दै सर्वोच्चले पूर्वएमाले र पूर्वमाओवादीलाई एकीकरण पूर्वको अवस्थामा फ़र्काइदिएको थियो । यद्यपि फैसलाले कार्यान्वयन गर्न नसकिने प्रकृति भएको कानुनविद्धहरुको धारणा छ । कार्यान्वयनको जटिलता र निवेदकले माग दाबी गरेको भन्दा फरक ढंगले फैसला आएको भन्दै राजनीतिक र कानुनी वृत्तमा चिन्ता छाएको छ ।
टिप्पणीहरू