‘ओलीलाई नेता मान्न सकिन्न’

‘ओलीलाई नेता मान्न सकिन्न’

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव नेपाल पक्षकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीले पार्टी एकता ध्वस्त पारेको बताउनुभएको छ ।

१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ (अनेमसंघ) काठमाडौं जिल्ला कमिटीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीले चालेका एकपछि अर्को गलत कदमको परिणाम पार्टी एकता भंग हुन पुगेको बताउनुभएको हो ।

सो अवसरमा उहाँले १७० वर्षदेखि महिलाहरुको उत्थानमा लागेपनि अझै तुलनात्मकरुपमा उपलब्धि प्राप्त नभएकाले संघर्ष जारी राख्न आग्रह गर्नुभयो । सम्पूर्ण महिलालाई अनेमसंघमा गोलबद्ध गर्न आजभन्दा ४० वर्ष अगाडि अनेमसंघको स्थापना भएको उहाँले स्मरण गर्नुभयो ।

पूर्वसभामुख ओनसरी घर्तिले ओलीको प्रतिगमन स्वीकारेर जान नसकिने प्रष्ट पार्नुभयो । ओलीको दासता स्वीकार गर्ने या प्रतिकार गर्ने भन्ने अहिलेको लडाइँमा महिलाहरु विभाजित हुनु विडम्बना भएको उहाँको भनाइ छ । महिलाका लागि शान र गौरवको रुपमा रहनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पितृसत्तात्मक प्रणाली स्वीकार गरेर महिलामाथि अन्याय गरेको उहाँले दाबी गर्नुभयो।

प्रधानमन्त्री ओलीले निरंकुश ढंगले प्रतिनिधि सभाको घाँटी निमोठेको र राष्ट्रपति त्यसको सहयोगी भएकोमा घर्तीको आपत्ति थियो। झलनाथ खनाल जस्ता त्याग र बलिदान गरेका नेताहरुलाई छोडेर भण्डारीलाई राष्ट्रपति बनाउनुको परिणाम अहिले पार्टी र मुलुकले भोग्नु परेको उहाँको धारणा छ।

अनेमसंघकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य सावित्रा भुषालले पितृसत्तात्मक सोचका विरुद्ध संघर्ष आवश्यक रहेको बताउनुभयो । संविधानले समानता र समावेशितासहितको सहभागितामूलक लोकतन्त्रको सुनिश्चितता गरेपनि राज्यका महत्वपूर्ण स्थानमा अझै लागू हुन नसकेको उहाँको भनाइ छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपामा देखिएको जटिलताबारे बोल्दै भुषालले पार्टीको नाम र चुनाव चिन्ह भन्दा सिद्धान्त, कार्यदिशा र एजेण्डा मुख्य हुने उल्लेख गर्नुभयो । पार्टीको आन्तरिक जीवनमा प्रवेश गरेर अदालतले अनावश्यक हस्तक्षेप गरेको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनुभयो । अब एमाले भएरै ओली प्रवृतिका विरुद्ध लड्ने भन्दै उहाँले अनेमसंघमा आफूहरु बलियो स्थितिमा रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो।

पार्टी एकीकरणले पूर्णता: पाइसकेको अवस्थामा अदालतको फैसला कार्यान्वयन हुनै नसक्ने संघकी केन्द्रीय सह-संयोजक तुलसा राईको भनाइ छ । उहाँले प्रधानमन्त्री ओलीको षड्यन्त्रको भण्डाफोर हुँदै जान थालेपछि अदालतलाई प्रलोभनमा पारेर गलत फैसला गराइएको दावीसमेत गर्नुभयो । कानुनी रुपले बाध्यात्मक अवस्थामा पुगेको भएपनि ओलीलाई कम्युनिष्ट नेता मान्न नसकिने राईको बिचार छ।

‘नारी पुरुष सरोबरि,सधैंभरि बरोबरी’: महिलाको सम्मान सुरक्षा र रोजगार, संमृद्ध राष्ट्रको आधार’ भन्ने मूल नारा र संविधान प्रदत्त अधिकार कार्यन्वयन गर्दै महिला हिंसा अन्त्य गरौं भन्ने सिद्धान्तका साथ अनेमसंघले एकदिने प्रशिक्षण कार्यक्रम चलाएको हो । संघले फाल्गुण २९ गते प्रज्ञा भवन कमलादीमा अर्को प्रशिक्षण तथा भेला कार्यक्रम गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू