रेडियोहरुको अधिवेशन रोकियो

रेडियोहरुको अधिवेशन रोकियो

सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को आज काठमाडौंमा हुने भनिएको ७औं अधिवेशन तथा १५ औं साधारणसभा रोकिएको छ । संघका अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाले हिजो साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार अधिवेशनको पूर्वसन्ध्यामा संघका पदाधिकारीलाई केही व्यक्तिले धम्क्याएको कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नु परेको हो ।

संघका पदाधिकारीलाई कार्यालयमा आएर केही व्यक्तिले धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘अधिवेशनमा सहभागी हुने आधिकारिक प्रतिनिधिको विषयमा शुरु भएको विवाद उत्कर्षमा पुगेको र असुरक्षाको वातावरण उत्पन्न भएको विषम परिस्थितिले गर्दा भोलिका लागि तय भएको अधिवेशन तथा साधारणसभा र निर्वाचनका सबै कार्यक्रम हाल अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’

यसअघि प्रधानमन्त्री ओली पक्षधर पूर्व प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले गरेको शनिबारको तालमेललाई प्रचण्ड–नेपाल समूह र काँग्रेसबीच आइतबार भएको सहमतिले बदर गरी अधिवेशनमा सबैको उपस्थिति रहने वातावरण बनाइएको थियो ।

त्यसअघि प्रचण्ड–नेपाल समूहलाई एक्लाएर एक्लौटी गर्ने योजनासहित सहमतिको कपी सार्वजनिक गरिएको थियो । उक्त योजनामा एक पक्षलाई अधिवेशनमा ढिम्किन पनि नदिने गरी आफूहरूलाई एउटा समावेशी उपाध्यक्ष र कोषाध्यक्ष दिए पुग्ने गरी सम्झौता गरिएको थियो । महासचिव र अध्यक्षसमेत नेपाली काँग्रेस निकट समूहलाई दिएर सम्झौता गरिएको थियो ।

टिप्पणीहरू