काङ्ग्रेस, माओवादी, जसपा, ओली र अबको राजनीति

काङ्ग्रेस, माओवादी, जसपा, ओली र अबको राजनीति

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको आइतबारको फैसलाले मुलुकको राजनीतिक कोर्सलाई ‘डाइभर्ट’ गरिदिएको छ । प्रारम्भमा फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्साहित बनाएको देखिए पनि अन्ततः सबैभन्दा धेरै प्रहार उहाँमाथि नै भएको बताइन्छ । दुई तिहाईनिकट बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्रीलाई क्षणभरमा मिलिजुली सरकार प्रमुखको हैसियतमा झारिदिएको छ । पाँच वर्ष सामान्य विपक्षीको हैसियतमा बसिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फैसलाले एकाएक प्रधानमन्त्रीको कुर्सीमा सजिलैसँग आँखा लगाउनसक्ने बनाइदिएको छ ।

अदालतको पछिल्लो फैसलाले संसदमा कुनै निर्णायकको हैसियत नबनेको नेपाली काँग्रेसलाई केन्द्रविन्दुमा ल्याइदिएको छ भने चौथो हैसियतमा रहेको जसपाको भाउलाई पनि ह्वात्तै बढाइदिएको छ । त्यसैले अब काँग्रेसले जे निर्णय गर्छ,राजनीति पनि त्यतै जाने विश्लेषकहरूले बताउन थालेका छन् । तीन वर्षदेखि चर्को बहुमतमा रहेर शासन गर्दै आउनुभएका केपी ओली नेतृत्वको सरकारलाई झट्का दिने गरी संयुक्त वा अल्पमतमा परिणत गराइदिएपछि राजनीतिक समीकरणको नयाँ अध्याय शुरु भएको हो ।

आइतबार बिहानसम्म अविश्वास प्रस्ताव आए फेस गर्ने र विश्वासको मत नलिने बताउँदै आउनुभएका प्रधानमन्त्रीलाई अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिले मिलिजुली सरकारको हैसियतमा पुर्याएको कारण अब उहाँले बहुमत सिद्ध गरेर देखाउनुपर्ने बाध्यता आइपरेको छ । त्यसको निम्ति विश्वासको मत लिनैपर्ने हुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको तीन वर्षअघिको समर्थन फिर्ता लिएको घोषणा गरेपछि त्यो अवस्था स्वतः आइपर्छ । सम्भवतः यो साता नै माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गर्नेछ ।

नेकपा फुटिसकेकाले अब काँग्रेस एमाले र माओवादीमध्ये एउटा खेमामा लाग्नैपर्ने अवस्था पनि बनेको छ ।

संसदभित्रको राजनीतिले अर्को बाटो लिएको अवस्थामा माओवादी,काँग्रेस र राजपाले संयुक्त रुपमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नसक्ने सम्भावना पनि त्यत्तिकै छ । कतिपयले राजनीतिको पहिलो कोर्स नै अब अविश्वासको प्रस्तावबाट शुरु हुने बताएका छन् । राजनीतिले उक्त बाटो नपक्रिए मात्र माओवादीले समर्थन फिर्ता लिएको घोषणा हुने बताइन्छ ।

त्यसो हुँदा विश्वासको मत फिर्ता लिएको घोषणा हुनेबित्तिक्कै प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नुपर्ने हुन्छ । अनि त्यो बेलामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर एमाले बाहेक अरु सबै दलले पेण्डुलम बनाउने रणनीति अंगिकार गर्ने सम्भावना प्रवल छ । त्यसपछि संयुक्त सरकारको पहल पनि नगर्ने, क्रमशः संविधानको धारा ७६ (५) सम्म यहि सरकारलाई पुर्याउने र त्यसले पनि विश्वासको मत नपाएपछि संसद भंग गराएर फेरि चुनाव घोषणा गर्ने अर्को डिजाइन समेत अघि बढ्न सक्ने सम्भावनालाई समेत नकार्न नसकिने अवस्था पनि ज्यूँको त्यूँ छ ।

तर,त्यतातर्फ गहिरिएर विश्लेषण गर्दा काँग्रेसले केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री मानेर समर्थन गरिरहने अवस्था पनि देखिँदैन । उसले केपीको प्रधानमन्त्रीत्वलाई जसरी पनि फाल्नुपर्ने निचोड निकालिसकेको छ । केही दिनअघि देउवाले अर्कै प्रसंगमा प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्रधानमन्त्री हो भनेर उल्लेख गरेको सन्दर्भलाई काँग्रेसीहरूले आइतबारदेखि जोडेर हेर्न थालेका छन् ।

अस्तिसम्म काँग्रेसीहरूको योजनामा नेकपा फुटेपछि मात्र अघि बढ्ने भन्ने थियो । अहिले नेकपा फुटिसकेकाले अब काँग्रेस एमाले र माओवादीमध्ये एउटा खेमामा लाग्नैपर्ने अवस्था पनि बनेको छ । यस्तोमा उसले विशेषगरी माओवादी केन्द्रलाई नै साथ दिनेमा शंका छैन ।

एमालेको १ सय २० र जसपाको ३२ जना सांसदले सरकार बनाउन सहज अवस्था देखिन्छ ।

हुन तः काँग्रेसले गत असारमै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन मसक्कसँग आँटेको थियो । तर,गत साता अघि बढेको अविश्वास प्रस्तावप्रति भने ऊ त्यति खुल्न सकेन । किनभने असारमा प्रचण्ड प्रधानमन्त्रीको अलमलमा परेका कारण काँग्रेसले बढाउन खोजेको अविश्वास प्रस्ताव त्यत्तिकै तुहिएको थियो । केपीले मैले तपाईंलाई नै छाडिदिने हो भनेपछि प्रचण्ड अलमलिएको काँग्रेसीहरूको बुझाई छ । त्यो बेला आँट नगरेपछि काँग्रेसले प्रचण्डप्रति विश्वास गर्न नसकेको र गत सातासमेत त्यहि फर्मुलाले काम गरेको बताइन्छ ।

यतिखेर नेकपा औपचारिक रुपमा फुटेको छ । त्यसैले काँग्रेसलाई अब सरकारमा जान चाहने हो भने मार्ग प्रशस्त भएको छ । तर, प्रधानमन्त्री ओलीको नेतृत्वमा चुनावमा जाने हो कि आफ्नै नेतृत्वमा सरकार चलाउने भन्ने दुईवटा विकल्प काँग्रेस सामुन्ने देखिएको छ ।

अर्कोतर्फ एमाले र जसपा मिलेर पनि सरकार बन्न सक्ने बताउन थालिएको छ । एमालेको १ सय २० र जसपाको ३२ जना सांसदले सरकार बनाउन सहज अवस्था देखिन्छ । तर,ओलीको नेतृत्व नमान्ने भन्दै आएको जसपाले एमालेभित्रको वैकल्पिक नेतृत्वलाई स्वीकारेर नयाँ ढंगको सरकार बन्न सक्ने अवस्था भने खुल्ला देखिन्छ । जसपाका एकजना नेता भन्छन् ‘विपक्षीहरू सबै एमालेप्रति होइन केपीप्रति नकारात्मक हुन् ।’

तर,प्रधानमन्त्री केपी शर्मा ओली छँदाखाँदाको चर्को बहुमत र शक्तिशाली प्रधानमन्त्री पद छाड्नुपर्दा घाइते बाघ झैँ बन्ने पक्का छ । त्यसैले अझै पनि उहाँले एमालेभित्रैका अरुलाई सरकारको नेतृत्व छाड्ने सम्भावना झिनो देखिन्छ । भलै अर्को दलका कसैले रजगज गरेको हेर्नुमा उहाँले सन्तोष मान्ने ओली निकटस्थहरूको तर्क छ ।

टिप्पणीहरू