स्वाभिमानको झण्डामुनिको ८ मार्च

स्वाभिमानको झण्डामुनिको ८ मार्च

मातृसत्तात्मक व्यवस्था र पितृसत्तात्मक व्यवस्थाको चर्चा विद्यालयका पुस्तकमा पढिएको हो । मुख्यगरी इतिहासमा समाज व्यवस्था पढ्दा कहीँ–कतै ती व्यवस्थाबारे सुनिए पनि त्यसले हाम्रो सामाजिक व्यवहारमा फरक पारेन ।
महिला हक, महिला अधिकार, समान अधिकार, लैंगिक अधिकार, लैंगिक समानता, महिला सशक्तीकरण, नारी मुक्ति, योग्यता र प्रतिभाका आधारमा महिलालाई स्थान र अवसर आदि/इत्यादि आदर्श, सिद्धान्त र पदावली परिवर्तनकारी यात्राको बाटोमा होमिने बेलासम्म गम्भीर विषय हो भन्ने नै लागेन ।

८ मार्च र महिला दिवस किन मनाइन्छन् ? महिला दिवसको औचित्य के हो ? महिला अधिकारको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? महिला मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्त त हुन्छौं ? यस्ता सवाल परिवर्तनकारी मोर्चामा सामेल नहुँदासम्म मेरा लागि प्रमुख विषय हो भन्ने नै लागेन । त्यसैले अन्तर्राष्ट्रिय महिला दिवसलाई सामाजिक राजनीतिक कार्यक्रमको रूपमा कहिले मनाएँ भनेर सम्झँदा त्यो ९१ औं अन्तर्राष्ट्रिय महिला दिवसबाट औपचारिक हुने रहेछ ।

दूर दराजको बस्तीबाट महिला पनि सामाजिक, आर्थिक र राजनीतिक उन्मुक्ति पाइन्छ भनेर नै जनयुद्धमा सहभागी भएका थिए त्यही क्रममा थियो मेरो पनि आफूले बुझेर मनाइएको ९१औँ नारी दिवस ।

देश स्पष्ट दुईवटा सत्तामा विभाजित थियो । दुवै सत्ता सस्त्र र अस्त्रको होडमा थिए । कम्मरमा ग्रिनेड र काँधमा बन्दुक बोकेको छापामारको हैसियतमा मनाएको महिला दिवस । त्यतिबेलादेखि मलाई ८ मार्च खास लाग्न थालेको हो ।

पछिल्लो दुई दशक महिला मुक्तिको यात्रामा, महिला अधिकारको यात्रामा, समानताको लडाइँमा सुनिने गरी परिवर्तन भएका छन्, देखिने गरी परिवर्तन भएका छन् । तर, त्यो परिवर्तनको मौलिकता क्रान्तिको यात्रामा छँदा बुनेका सपनाभन्दा धेरै मानेमा कुरूप–कुरूप लाग्छ, विरूप–विरूप लाग्छ । मुक्ति, अधिकार, समानता र स्वतन्त्रता मुठ्ठीभरका समूहको भागबण्डामा सीमित हुँदा हामीले देखेका सपना त्यही भुइँमै लडिरहेको ‘छटपटाइरहेजस्तो लाग्ने रहेछ ।

मैले पनि धेरैपटक मेरा सहयोद्धाहरूलाई हौस्याउँदै भनेको थिएँ, यस्तो सपना देख जुन कहिल्यै सपना नहोस् । यस्तो लडाइँ लडौं जसका लागि हामी फेरि लड्नु नपरोस् । आज फेरि म १११औं महिला दिवस मनाउँदै गर्दा कहिलेकाहीँ कहिल्यै पूरा नभएका मुक्तिका सपनामा टहलिन्छु । लडाइँ लड्दालड्दा फेरि उठ्नै नसक्ने गरी लडेको लडाइँमा घोत्लिन्छु । बिद्रोहको मुठ्ठीमा कैद महिला हक, अधिकार र समानता कसले, कसरी खोसेर पुनः कब्जामा लियो भनेर घोत्लिन्छु ।

२० वर्षअघि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मनमा अनेक भावना सल्बलाएका थिए । के साँच्चै म पनि उत्पीडनमा परेका महिलालाई न्याय दिलाउन उनीहरूको नेतृत्व गर्न सक्छु ? आफैंसँग यो प्रश्न गरेको थिएँ । संसारका उत्पीडित महिलाका लागि जसरी मार्च ८ निर्माण भयो त्यसलाई नेपालमा गति दिने जिम्मेवारी हाम्रो पनि हो भन्ने लाग्यो ।

सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिकलगायत क्षेत्रमा विद्यमान विभेदको, असमानताको, अन्यायको, हिंसाको पर्खाल नेपाली महिलाले ढाल्नेछन् र त्यसको नेतृत्व जनयुद्धकारी महिलाले नै गर्ने हैसियत राख्छन् भन्ने लाग्थ्यो ।

त्यतिबेलाको सपना अहिले केलाउँदा रुमानी नै ठहर सही तर, हामीले लडेको लडाइँको सबैखाले मोर्चाले लिएको लक्ष्य त्यही हुन्थ्योजस्तो लाग्थ्यो । हामी सगरमाथाको देश नेपालबाट यही सन्देश संसारमा दिन चाहन्छौ भनेर हामीले धेरैपटक त्यही भाषण गरेका हौं । मैले अग्रह योद्धाहरूबाट पनि त्यही सुनें । मैले सहयोद्धाहरूसँग पनि त्यही विचार र भावना आदानप्रदान गरें । हामीले मनाउने उत्सव वा विजय उत्पीडित महिलाका लागि पनि उत्सव बनोस् भन्ने पवित्र कामना हुन्थ्यो महिला दिवस मनाउँदै गर्दा ।

हामी सहयोद्धाहरूको बीचमा विश्व, महिला आन्दोलन, महिला मुक्ति, वर्गीय मुक्ति भन्दै लामालामा कुरा गथ्र्यौं । त्यतिबेला मनाइने अन्तर्राष्ट्रिय महिला दिवसमा शान्तिका लागि महिला सशक्तीकरणका नारा हुन्थ्यो । व्यवस्था फेरियो अवस्था फेरिन नसक्नुको कारणले त्यो बेलाको भाषण पनि कुरूप–विरूप लाग्छ ।

विरोधको लागि तयार महिला भन्ने नारा हुन्थ्यो । त्यसपछि अफगानी महिलाका विषयमा, लैंगिक समानताका विषयमा, महिलाका लागि सुरक्षित भविष्य निर्माणको विषयमा रहेर महिला दिवस मनाइयो । कहिले नारा लगाइयो, कहिले नारा लगाउन लगाइयो । सँगै यी नारा लगाउने समवयी सहयोद्धाहरूलाई चिहान छाडेर आउँदाको पीडाले अहिले पनि घर गर्छ मनमा तर जसको मनमा गर्न पर्र्ने उनीहरूलाई नगरेपछि के गर्नु !

नेपाली महिला वर्गलाई राजनीतिमा, विद्रोहमा, युद्धमा एकाकार गराउने त्यो युगीन मोर्चाको जिउँदो साक्षी हुन पाउँदा मैले धेरैपटक आफैंसँग गर्व गरेकी छु । राजनीतिक संगठनमा होस् वा सैन्य संगठनमा जनयुद्धमा महिलाको उपस्थिति देखेर संसारले अहो भनी जिब्रो टोकेकै हो । फेरि पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मलाई विद्रोहको त्यो शिराबाट महिला मुक्ति र आन्दोलनका पूर्वदृश्य सम्झना हुन्छ । यसलै यो विषय दिनमा म पनि हामीले कहाँनेर महिला अधिकार भेट्यौं र कहाँनेर छुट्यौं भनेर सम्झने प्रयास गरिरहेको हुन्छु । समाजलाई बदल्न महिला संगठन र महिला मोर्चा भन्दै हिँडेका दिन र रातहरू सम्झन्छु ।

यही बाटोले नै फासीवादी सामाजिक सत्ता ढालिन्छ र पुरुषवादी सत्ताको चरित्र पनि फेर्न सकिन्छ भन्ने थियो । कसैले रोजा पढाए, कसैले क्ला र जेट्किन पढाए, कसैले चिनियाँ क्रान्ति पढाए, कसैले रुसी क्रान्ति पढाए । ज–जसले पढाए विद्रोहमा तातिरहेको रगत उम्लने गरी पढाए । आजको दिनलाई चटक्क बिर्सेर हिजोका दिनमा यात्रा गर्दा पैदा हुने यो रोमाञ्चकता आफैंमा गौरवशाली लाग्छ ।

मलाई निजी खुशी प्यारो कि सार्वजनिक न्याय ? जनयुद्धका मोर्चामा कहिले सिपाही त कहिले कमाण्डर भएर हिँड्दा सार्वजनिक न्याय, महिला न्याय र महिला मुक्तिबारे आफैँमा पनि कहिल्यै शंका गरिएन । मेरो लागि निजी खुशी कहिल्यै प्यारो भएन ।

शक्तिखोर छिरेपछि महिला दिवसकै सन्दर्भमा चितवन बसाइको एउटा उत्सव सम्झन्छु । हामीले शिविरमै धुमधामसँग ८ मार्च मनायौं । अहिले थाहा हुँदै छ त्यो दुःखले प्राप्त गरेको उपलब्धि त आमजनता र दुःख गर्ने कार्यकर्ताका लागि होइन रहेछ सीमित नेता कमाण्डर अवसरवादीलाई मात्रै रहेछ ।

महिला विद्रोहीको रूपमा, महिला छापामारको रूपमा, महिला कमाण्डरको रूपमा, जनयुद्धको महिला क्रान्तिकारी लडाकुको रूपमा के पाएँ वा के गुमाएँ त्यसमा किञ्चित दुःख छैन । तर, त्यो कष्टकारी यात्राबाट देश र जनताले के के पाए भन्ने विषय दिमागमा सधैं प्राथमिकतामा रहने रहेछ ।

यी दिवस मनाउँदै गर्दा म हिजोका हाम्रा नेतृत्वलाई आजको तराजुमा राखेर हेर्ने प्रयास गर्छु । हिजोका सिद्धान्त, आदर्श र आजको जीवनशैली व्यवहारमा नमिलेको सन्तुलन हेर्छु । के गर्छु भनेर हिजो लडे, लडाए र आज के गरे ? हिजो राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने नेताहरूले आज सत्तामा बसेर मनाइरहेको तमाम खुशी नयाँ वर्गउत्थानको नयाँ उदाहरणभन्दा केही पनि होइन भन्ने मेरो ठहर हो । निःसन्देह हो नै रहेछ, उनीहरूलाई राज्य र सत्ता नै सबथोक रहेछ ।

अहिले नेपालको राजनीतिक परिदृश्यमा पनि त्यही सावित भएको छ । कुर्सी र पदको लागि अर्थहीन ताण्डव देखाइरहेका छन् नेताहरूले । देश र जनताका लागि सोच्ने नेता केही पनि भएन मात्र छिमेकीका इशारामा मदारीले भालु नचाएजस्तो परिदृश्य देखेर फेरि पनि रगत उम्लिएर आउँछ । आर्यघाटसम्म कुर्सी लिएर जाने संस्कार चलेको राज्यमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने त कुरै छैन ।

जबसम्म उमेर पुगेका नेताहरूले पार्टीमा रहिरहन्छन् तबसम्म न देशले विकासको मुहार फेर्न सक्छ न त निकास पाउन नै ! नेताहरूको वरिपरि भएको युवा नेता हुँ भन्नेहरूले पनि राजनीतिक हस्तक्षेप गर्न सकेका छैनन् । अधिकांश नेता बनेकाहरू क्षमताले भन्दा पनि मिति गुज्रिसकेकाहरूको आशीर्वादले नयाँ पुस्ताको नेतृत्व सम्हालेकाहरूलाई हस्तक्षेप गर्ने कुरा शोभनीय पनि भएन नि होइन ?

नत्र किन देशमा राजनीतिक रूपमा यस्तो भाँडभैलो हुँदासम्म पनि हस्तक्षेप गर्ने हैसियत राख्दैनन् त ? नयाँ पुस्ता जबसम्म पुरानो पुस्ताको राजनीतिक दास बनिरहन्छ तबसम्म न देशले राजनीतिक निकास पाउँछ न त विकास नै ! जसले राजनीतिक दासत्व स्विकार्छ ऊ जनताको नेता होइन मात्रै पार्टी नामको लम्पट झोले र दास मात्रै हो । म तिनै नेतृत्वको जय गाउन कहाँ सक्छु ? यसैले यो पाली पनि म स्वाभिमानको झण्डामुनी स्वतन्त्रतापूर्व १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछु ।

 

टिप्पणीहरू