नेकपा विघटनको निर्णय राजपत्रमा
निर्वाचन आयोगको बैठक भर्खरै सकिएको छ । बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाको आधारमा छ वटा निर्णय गरेको छ ।
त्यसमध्ये सबैभन्दा पहिलो निर्णयमा साबिकको दलमा फर्किएको एमाले र माओवादी केन्द्र कायम रहेको व्यहोराको जानकारी ती दलका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई गराउने भनिएको छ ।
त्यसैगरी,उक्त जानकारीलाई राजपत्रमा प्रकाशित गर्ने र सोबमोजिम नयाँ दल दर्ता भएको व्यहोरासमेत छपाइने छ ।
आयोगको अर्को निर्णयमा तत्कालीन नेकपा एमालेकी सन्ध्या तिवारी र माओवादी केन्द्रका गोपाल किराँतीलाई १५ दिनभित्र नयाँ दलको प्रस्ताव गर्न लेखी पठाउन अनुरोध गर्नेसमेत भनिएको छ ।
त्यसैगरी अर्को निर्णयमा भनिएको छ ‘हाल छुट्टिएका एमाले र माओवादी केन्द्र पुनः एकीकरण हुन चाहेमा १५ दिनभित्र आयोगमा उपस्थित भएर निवेदन दिनको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी गराउने ।’
त्यसैगरी नेकपा टुक्रिएर पूर्ववत अवस्थाका एमाले र माओवादी केन्द्र पार्टी बनेको लिखित जानकारी संसद सचिवालयमा पठाउने ।
टिप्पणीहरू