माओवादीले कांग्रेस र जसपासँग कुरा थाल्ने !
नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेर मात्र सरकारबारे निर्णय गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले सदन र सरकार सञ्चालन लगायतका विषयमा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएका बेला सो पार्टीका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले त्यसबारे निर्णय नभएको जानकारी दिनुभयो । ‘सरकारबारे कुनै निर्णय भएको छैन । प्रतिगमनका विरुद्ध आन्दोलन गरेका दलहरुसंग घनिभूत छलफल गरी आवश्यक निर्णय गर्ने आजको बैठकको निर्णय छ’, पोखरेलले भन्नुभयो ।
माओवादीले चैत्र १ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । चैत्र २ गते प्रदेशस्तरको कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय भएको पोखरेलले बताउनुभयो । ‘संगठनात्मक काम अगाडि बढाउन र बदलिँदो राजनीतिक परिस्थितिबारे कार्यकर्तालाई प्रशिक्षित गर्न चैत्र २ गते प्रदेशस्तरको प्रशिक्षण चलाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
टिप्पणीहरू